चीन र भारतसँग सीमा जोडिएको नेपाल सधैँ चीन र भारतकै कारण अन्तर्राष्ट्रिय मिडियाको नजरमा पर्छ। नेपाल यतिबेला चीन र भारतबीचको मध्यमार्गी धारमा उभिएको छ। विशेष गरी दुई ठूला शक्तिबीचको सीमा विवादमा नेपाल मध्यमार्गी रुपमा उभिँदै आएको छ। भारतका सञ्चार माध्यममा नेपाल चीनबीचको सम्बन्धका बारेमा नकरात्मक टिप्पणी हुँदै आएको छ। यो सम्बन्धलाई भारतीय मिडियाले भारतीय राष्ट्रिय सुरक्षामा आँच पुगेको विश्लेषण गर्दै आएका छन्। यही सन्दर्भमा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले नेपाल चीन सम्बन्ध र पछिल्लो समय नेपाल र भारतबीच देखिएको सीमा विवादका विषयमा कुराकानी गरेको छ। समय सान्दर्भिक राजदूत पाण्डसँगको कुराकानीको भावानुवाद प्रस्तुत गरिएको छ।
- चीनका लागि नेपाली नयाँ राजदूतको रुपमा तपाईँका प्राथमिकताहरु के के हुन्?
नेपाल र चीन असल छिमेकी र असल मित्र हुन्। कुटनीतिक रुपमा हामीले सन् १९५५ मा समन्ध स्थापना गर्यौं।
चीनका लागि नेपालको नयाँ राजदूतको रुपमा मेरो प्राथमिकता भनेको दुई देशबीच भएका सहमतिहरु नै हुन्। गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण भयो। जुन अत्यन्त सफल पनि थियो। भ्रमणका क्रममा लगभग २० वट सम्झौतामा हस्ताक्षर भए। त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चीन भ्रमण गर्नुभयो। त्यतिबेला पनि केही एमओयुमा हस्ताक्षर भए। त्यसैले मेरो प्राथमिकता भनेको ती सम्झौता तथा समझदारीको कार्यान्वयन नै हो।
गत वर्ष हामीले बीआरआई अन्तर्गत केही परियोजनाहरुको विकास समेत गर्यौं। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा जैविकताको सुधारका क्षेत्रमा परियोजनाहरु छन् जनु हामीले संयुक्त रुपमा अगाडि बढाउनुपर्ने छ। मेरो बेइजिङ बसाइका क्रममा यिनै मेरा प्राथमिकताका क्षेत्र हुन्।
- केही विदेशी मिडियाहरुले विशेष गरी भारतीय मिडियाहरुले चीनको नेपालसँगको बढ्दो सम्बन्धले उनीहरुको सुरक्षा चासो बढाएको बताउँदै आएका छन्। यसमा तपाईँको भनाई के छ?
यो कुरा तथ्यमा आधारित छैन र पक्षपात पूर्ण मानिसकता हो। यो पराजित मानसिकताको अभिव्यक्ति हो। नेपाल सँधै स्वतन्त्र र सार्वभौम मुलुक रह्यो जहाँ भारत उपनिवेश रह्यो। हामी कुनै वाद विचारसमूह अथवा कुनै शक्तिसामु पनि झुकेनौं।
भारतीय सञ्चार माध्यमहरु पक्षपात राख्छन् वा उनीहरु कसैबाट गलत रुपमा निर्देशित छन्। त्यसैले उनीहरुले यस्ता गलत समाचार तथा प्रोपागान्डा प्रकाशित गर्छन्। तर, यो सत्य होइन्। नेपाल र चीन बीचको साझेदारी प्राकृतिक तथा मित्रवत हो।
यो कुनै क्षेत्रीयताको प्रश्न होइन। यो एक अर्काबीचको समझदारी र एकअर्कालाई सहयोग गर्ने भावनाको कुरा हो। चीन र भारत दुवै हाम्रा छिमेकी हुन्। छिमेकी एकअर्का प्रति डराउनु पर्दैन। हामीले हातेमालो गर्नुपर्छ। समझदारीलाई विकास गर्दै आपसी फाइदाका लागि साझेदारीलाई अगाडि बढाउनुपर्छ।
- केही विदेशी सञ्चार माध्यहरुले भनिरहेका छन् नेपाल चीन र भारतको मध्यमार्गमा हिँडिरहेको छ र यो चीन र भारतबीचको सीमामा देखिएको तनावको बीच अगाडि बढेको छ। यसलाई कसरी हेर्नु भएको छ तपाईँले?
कहिलेकाहीँ यस्तो हुन्छ। चीन र भारत दुई छिमेकी देश हुन्; नेपाल र चीन छिमेकी हुन, नेपाल र भारत पनि छिमेकी हुन्। नेपाल र भारतबीको सीमाका विषयमा लामो समयदेखि समस्या रहँदै आएको छ।
पहिला चीनसँग पनि केही समस्या थिए। तर, जब (दिवंगत चिनियाँ नेता) माओ जेदोङ शक्तिमा हुनुहुन्थ्यो र चाओ इनलाई प्रधानमन्त्री हुनुहुन्थ्यो हामीसँगै बस्यौं। त्यही बेला हामीले सहमतिमा हस्ताक्षर गरेर सीमा समस्या समाधान गर्यौं। अहिले हामीबीच सीमा सम्बन्धि कुनै समस्या छैन।
भारतले हाम्रो केही भूमि अतिक्रमण गरेको छ। सन् १९६२ मा जब भारत र चीनबीच युद्ध भएको थियो र भारत पराजित भयो त्यतिबेला केही भारतीय सैनिक हाम्रो भूमिमा अस्थायी रुपमा बसे। तर, पछि उनीहरुले त्यो भूमिलाई आफ्नो दाबी गरेका छन्। हो त्यही नै समस्या हो। हामीले यो सीमा सम्बन्धि समस्या समाधानका लागि संवादमा बस्ने सक्दो प्रयास गरिरहेका छौं।
अहिलेको आधुनिक विश्वमा हरेक समस्याको समाधान गोलीको प्रयोगबाट हुँदैनन्। हामी सम्वादमा बसेर समाधान गर्न सक्छौं। हामीले हाम्रो ज्ञान, सीप, विवेक प्रयोग गर्नुपर्छ र हामीले हामीले विश्व मानचित्र हेर्दै यसलाई समाधान गर्न सक्छौं।
सीमा समस्या जटिल समसया हो- चाहे यो चीन र भारतबीचको होस् अथवा नेपाल र भारतबीचको। यसलाई प्रोपागान्डाको विषय बनाइनु हुँदैन। यो तथा संवादमा बसेर ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा समाधान गर्नुपर्ने विषय हो। त्यसो भयो भने मात्र हामी वैज्ञानिक निष्कर्षमा पुग्न सक्छौं। र, सलंग्न सबै पक्षले निष्कर्षलाई सम्मान गर्नुपर्छ। हामीले भारतलाई धेरै पटक संवादका लागि आग्रह गरिरह्यौं तर उनीहरुले यसका लागि चाहना देखाइरहेका छैनन्। तर, अहिले उनीहरु यसमा चासो देखाउँदै संवादका लागि तयार भएका छन्।
- नेपाल चीन रेलवे परियोजनाको पछिल्लो विकासक्रम के के भएका छन्? केही यो सम्पन्न गर्ने कुनै समय तालिका छ?
दुवै पक्षले मेहिनेतका साथ काम गरिरहेका छन्। पूर्व सम्भाव्यता अध्ययन सुरु भइसकेको छ विशेष गरी काठमाडौंमा। पान्डेमिकको कारण कामको गतिमा केही कमी आएको छ। तर पान्डेमिक नियन्त्रणमा आउनासाथ कामले गति लिन्छ। दुवै पक्षहरु अहिले पेपर वर्क गरिरहेका छन्। उनीहरु योजना विकासका लागि निरन्तर सम्पर्कमा छन्। मेरो विचारमा रेलवे सम्पन्न हुन पाँच वर्ष लाग्ने छ र जनताले यसको प्रयोग गर्न पाउने छन्।
- गत महिना चीनले नेपाल पाकिस्तान र अफगानस्तानसँग कोभिड-१९ विरुद्ध लड्न तथा क्षेत्रीय शान्ति र सुरक्षाका सहयोगका लागि बैठकको आयोजना गर्यो। यो बैठकलाई तपाईँले कसरी मूल्यांकन गर्नु भएको छ?
विश्वमा २०० भन्दा बढी देश तथा क्षेत्रहरु रहेका छन्। उनीहरुबीच कोरिएका सीमारेखा हिमालले कोरिएका होनन् अप्राकृतिक रेखाहरु हुन्। जब महाव्यादी आउँछ यी सीमा रेखाले त्यसलाई रोक्न सक्दैन। जब यस्तो महाव्यादी आउँछ, उत्तरदायी नेतृत्व साथमा बसेर महाव्यादी नियन्त्रणको प्रयास गर्नुपर्छ। जस्तोकी चिनियाँ नेताले यहाँ गरेका छन्।
मैले सधैँ भन्ने गर्छु चीनले भाइरसलाई स्वतन्त्रताको पक्षमा र जीवनको अधिकारको पक्षमा नियन्त्रण गर्यो। केही देशहरु आफूलाई स्वतन्त्रताको अधिकारको विजेता मान्छन्। तर मानवको जीवनको मूल्य स्वतन्त्रताको लागि खेर फाल्न सकिँदैन। स्वतन्त्रताको नाममा हजारौँ मानिसहरु पान्डेमिकको कारण मारिएका छन्।
चीनमा नेतृत्वले जनताको बहुमूल्य जीवन प्रति ध्यान दियो। त्यस्तै गरी नेपालमा पनि हामीले चीनसँग हातेमालो गर्न हामीले हात अगाडि बढायौं। र, चीनले पनि हामीलाई सहयोग गरेको छ।
यदि हामी यो पान्डेमिक विरुद्ध एक भएर लड्यौं भने यसलाई नियन्त्रण गर्न सक्छौं। हामीले एक अर्कालाई आक्षेप लगायौं र एक जुट भएर लडेनौं भने पान्डेमिक निरन्तर फैलिँदै जानेछ र मानव जातिलाई नै परास्त गर्ने छ।
राजनीतिक रुपमा बोल्नुपर्दा केही देशहरु एकात्मकता तर्फ फर्किरहेका छन्। तर, यो २१ औं शताब्ती हो। यो युगमा एकात्मकताले काम गर्दैन। यो समयका जनताको माग सामुहिकता हो।
- नेपाल चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको छ। तपाईँले नेपाल र तिब्बतबीचको साझेदारीलाई कसरी मूल्यांकन गर्नु हुन्छ?
तिब्बत चीनको हिस्सा हो। तिब्बत र नेपाल सम्बन्धित छन्। हामीसँग लामो सीमा छ। हामी एक चीन नीति प्रति प्रतिवद्ध छौं। जाहे त्यो मकाउ हो वा हङकङ वा ताइवान वा तिब्बत चीनका सबै हिस्सा चीन नै हुन्। हामी एक चीन नीतिमा अडिक छौं।
केही मानिसहरु जसले तिब्बत छाडेर भारतमा बस्दै आएका छन्। कतिपय बेला नेपाल र भारतबीचको हाम्रो खुला सीमाको दुरुपयोग गर्दै केही अनिश्चित तत्वहरु नेपाल प्रवेश गर्न सक्छन्। र, उनीहरुले हाम्रो सम्बन्धको विरोधमा जाने प्रयास गर्छन्। हामीले उनीहरुलाई यस्तो अनुमति दिँदैनौं र नियन्त्रण गर्छौं। हाम्रो भूमि कुनै पनि हाम्रामित्र राष्ट्रको विरुद्ध प्रयोग हुन हामीले दिँदैनौं।
सीमा क्षेत्रमा बसिरहेका केही नेपाली जनताहरु तिब्बत आउन सक्छन्। तिब्बतीहरु नेपाल जान सक्छन्। अर्को महत्त्वपूर्ण कुरा भनेको तिब्बत र नेपालका सीमा क्षेत्रका बासिन्दाहरुले समान भाषा र संस्कृति पनि साटासाट गर्छन्। त्यसैले तिब्बत र नेपालबीच कुनै समस्या छैन्।
व्यवसायीक रुपमा नेपालका केही उत्पादनहरु तिब्बतमा निर्यात हुन्छन्। र चीनबाट हामीले तिब्बत हुँदै समान आयात गर्छौं। अझै सडकहरु निर्माणकै क्रममा छन्। जब हामीले सडक निर्माण सक्छौं र दुई देशलाई रेलवे लाइनले जोड्छौं तब व्यवसायिक गतिविधिहरु थप बढेर जाने छन्।
- केही मानिसले भन्दै आएका छन् कि पान्डेमिकले विश्व क्रमलाई परिवर्तन गर्ने छ। केही भारतीय मिडिया आउटलेले चीन नेपाल सम्बन्ध बिग्रिँदै गएको रिपोर्ट गरेका छन्। पान्डेमिक पछिको कालमा नेपाल चीन सम्बन्धको विकास कस्तो होला? तपाईँले के आकलन गरिरहनु भएको छ?
यसमा दुई मत छैन कि धेरै रिपोर्टहरुले नेपाल र चीन बीचको सम्बन्ध अब राम्रो छैन भनिरहेका छन्, विशेष गरी भारतबाट। यो गलत प्रोपागान्डा हो। हामीसँग चीनसँग सम्बन्ध असल नहुनका लागि कुनै पनि कारण छैनन्।
पान्डेमिक पछिको कालमा विश्व बहुआयामिकता तिर अगाडि बढ्ने छ र सामुहिकता अगाडि बढ्ने छ। त्यसैले जो अहिले बाधक र पक्षपतामा अगाडि बढिरहेका छन् उनीहरु पछाडि छाडिने छन्। विश्वमा निश्चित परिवर्तन हुनेछ। तर, नेतृत्व तहमा रहेका देशहरुले पछाडि परिरहेका त्यस्ता देशहरुलाई पनि सहयोग गरिरहनुपर्दछ।
यद्यपि, आउने परिवर्तनले हाम्रो द्वीपक्षीय सम्बन्धलाई कुनै प्रभाव पार्ने छैनन्। हामीसँग भिन्न राजनीतिक संस्कार भएता पनि हामीमा धेरै समानताहरु पनि छन्। बीआरआई चीनले अगाडि सारेको राम्रो प्रयास हो। तर, वैचारिक भिन्नताका कारण यसको आलोचना भइरहेको छ। यस्ता आलोचना सफल हुन सक्दैन किनकि आलोचना आलोचनाका लागि मात्र भइरहेको छ। यसले मानिसको जीवनमा पूर्ण परिवर्तन गर्न सक्दैन। जनता सँधै आफ्नो जीवन समृद्ध र सुखी बिताउन चाहन्छन्।
