काठमाडौं : ९३ औं अस्कर अवार्डमा सहभागी हुन चाहने नेपाली फिल्मका लागि आवेदन खुल्ला भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सोमवार सहभागिताका लागि आवेदन खुला भएको जानकारी दिए।
नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको अस्कर कमिटीलाई बुझाउन आह्वान गरेको छ।
हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड समारोह कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको थियो। अब अस्कर अवार्ड अप्रिल २५ मा लसएञ्जल्सको डल्बी थिएटरमा हुनेछ।
महामारीका कारण अस्करले सहभागिताका लागि केही निर्देशिका परिवर्तन भएका छन्। परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने लचिलो प्रावधान छ। अघिल्ला वर्षहरुमा कुनैपनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेको हुनुपर्ने नियम थियो। यस वर्ष हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन्।
सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ। त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन्।
नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ। जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन्।
