PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगरका तीन अस्पतालमा पीसीआर परीक्षण सुरुः न्यूरोको शुल्क अझै अनिश्चित, नोबेलमा दुई हजार र विराटको १९९९ देखि ४ हजार रुपैयाँसम्म



अनन्तराज न्यौपाने

विराटनगरका तीन अस्पतालमा पीसीआर परीक्षण सुरुः न्यूरोको शुल्क अझै अनिश्चित, नोबेलमा दुई हजार र विराटको १९९९ देखि ४ हजार रुपैयाँसम्म

विराटनगरः  विराटनगरमा सोमबारदेखि पीसीआर परीक्षण सुरु भएको घोषणा गरेका तीन स्वास्थ्य संस्थामध्ये एकले परीक्षण शुल्क निर्धारण गर्न सकेको छैन।

सोमबारदेखि पीसीआर परीक्षण भएको जानकारी गराउने न्यूरो अस्पताल, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजमध्ये न्यूरो अस्पतालले परीक्षण शुल्क निर्धारण गर्न नसकेको हो।न्यूरोका सञ्चालन निर्देशक राजेश भट्टराईले निजी अस्पतालको एसोसिएसनको बैठकले निर्णय गरेपछि मात्र आफ्नो अस्पतालले पनि पीसीआर परीक्षणको शुल्क निर्धारण गर्ने जानकारी दिए।

‘परीक्षण शुल्क कति लिने भन्ने कुरा अहिले अन्यौलमा छ’, निर्देशक भट्टराईले भने, ‘सरकारले तोकेको दरभाउमा परीक्षण गर्न असम्भव छ। किनभने सरकारले घरजग्गा, कर्मचारीको खर्च आदि नजोडी २ हजार रुपैयाँ तोकेको छ। यो शुल्कले निजी क्षेत्रका स्वास्थ्य संस्थाले ठूलो घाटा ब्यहोर्नुपर्ने हुन्छ।’

उनले निजी क्षेत्रका अस्पतालको एसोसिएसन परीक्षण शुल्क निर्धारण गर्न सक्रिय भएको उल्लेख गर्दै मङ्गलबारसम्म ठोस निर्णय गर्ने विश्वास व्यक्त गरे। उनले एसोसिएसनको निर्णयपछि मात्रै आफ्नो अस्पतालले शुल्क सार्वजनिक गर्ने बताए। भट्टराईले न्यूरोका स्वास्थ्यकर्मी घरमा गएर पनि स्वाब सङ्कलन गर्ने जनाए।

नोबेलको शुल्क दुई हजार रुपैयाँ

नोबेल मेडिकल कलेजले पीसीआर परीक्षणको १ हजार ५ सय ५० र स्वाब कलेक्सनको ४ सय ५० गरी कुल २ हजार रुपैयाँ शुल्क कायम गरेको छ। नोबेलका सम्पर्क अधिकृत नारायण दाहालले भने, ‘हामीले सस्तोमा पीसीआर परीक्षण गराउने दाबी पहिले नै गरेका थियौँ। यो शुल्क अरूको भन्दा सहुलियतपूर्ण भएको हाम्रो ठम्याइ  ।’

विराटमा १९९९ देखि ४ हजार रुपैयाँसम्म

त्यस्तै विराट मेडिकल कलेजले पीसीआर परीक्षणको शुल्क १ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ। यसमा अन्य सेवाको शुल्क जोडिने छ।कलेजको पीसीआर कम्युनिटीका प्रमुख प्रमेशराज देवकोटाका अनुसार घरमै गएर स्वाब सङ्कलन गरेको शुल्क छुट्टै हुनेछ। त्यस्तै तुरुन्त रिपोर्ट चाहिने भए छुट्टै शुल्क लाग्नेछ। विरामीको अवस्था, आवश्यकता र मागअनुसार शुल्क थपिँदै जान्छ।

उनले भने, ‘सबै शुल्क जोड्दा पनि एम बिरामीले पीसीआर परीक्षणको ४ हजारभन्दा बढी तिर्नुपर्दैन । चार हजार रुपैयाँ अधिकतम हो।  

विराटनगरका न्यूरो अस्पताल, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजले आइतबार सङ्घीय सरकारबाट पीसीआर पयोगशाला सञ्चालनमा ल्याउन स्वीकृति पाएका हुन्।

निजी क्षेत्रले पनि पीसीआर परीक्षण गर्ने स्वीकृति पाएसँगै विराटनगरमा परीक्षणको दायरा बढ्ने भएको छ। हालसम्म कोशी अस्पताल र प्रदेश सरकारको प्रदेश प्रयोगशालामा मात्र पीसीआर परीक्षण भइरहेको छ। विराटनगरमा स्वाब सङ्कलन भएको एक हप्तापछि मात्र रिपोर्ट आउने अवस्था अब नहुने विश्वास गरिएको छ ।तीन वटै स्वास्थ्य संस्थाले पीसीआर परीक्षण गर्ने मेसिनलगायत सबै उपकरण अत्याधुनिक मोडेलको ल्याएको दाबी गरेका छन्।

निजी क्षेत्रको ‘बी सियोर’ अन्यौलमा

यसैबिच मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाको सञ्चालनमा निर्मित ‘बी सियोर’ नामको नामको पीसीआर प्रयोगशालालाई सरकारले मान्यता नदिएपछि अन्यौल थपिएको छ। बी सियोरका निर्देशक नवीन रिजालका अनुसार सरकारले गत भदौ १४ गते गरेको निर्णयका कारण प्रयोगशाला सञ्चालनमा ल्याउन नसकिएको हो।

उनले भने, ‘सबै प्रकारका प्थायोलोलोजी परीक्षण गर्ने प्रयोगशाला वा स्वास्थ्य संस्थाले मात्र पीसीआर परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गर्न पाउने निर्णय सरकारले गरेको छ। यसका कारण बी सियोर सञ्चालन गर्न नसकिएको हो।’उद्यमी रिजालका अनुसार प्रयोगशाला पूर्ण तयारी अवस्थामा छ। कुनै पनि बेला काम सुरु गर्न सकिन्छ। तर सरकारको स्वीकृति छैन।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell