PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

वीरगंजकी कोरोना संक्रमित गर्भवतीलाई अस्पताल भर्ना गरियो, अवस्था सामान्य



राधेश्याम पटेल

वीरगंजकी कोरोना संक्रमित गर्भवतीलाई अस्पताल भर्ना गरियो, अवस्था सामान्य

वीरगंज : वीरगंज-२४ रामगढवाकी २६ वर्षीया कोरोना संक्रमित गर्भवती महिलालाई सोमवार बिहान अस्पताल भर्ना गरिएको छ। प्रशासनको निर्देशनमा नारायणी अस्पतालमा उनलाई भर्ना गरी उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले जानकारी गराए।

नेशनल मेडिकल कलेज वीरगंजको बाबा होटलमा सञ्चालित अस्थायी कोभिड अस्पतालले भर्ना लिन नमानेपछि उनलाई घरमै अक्सिजन लगाएर होम आइसोलेसनमा राखिएको थियो। साढे आठ महिनाको गर्भसहित संक्रमित गर्भवती अस्पताल भर्ना नभएर घरमै छटपटाइरहेको खबर सञ्चार माध्यममा आएपछि पर्साका प्रहरी प्रशासन तथा कोभिड वारियर्सले ती महिलालाई अस्पताल भर्ना गराउन अग्रसरता देखाएका थिए। सोही अनुरुप नारायणी अस्पतालमा भर्ना गरी उनको उपचार भइरहेको हो।

गर्भवतीको अवस्था अहिले सामान्य छ। नारायणी अस्पताल जनरल अस्पतालको रुपमा सञ्चालनमा रहेको हुँदा बाबा होटल कोभिड अस्पताल भएकोले स्वास्थ्य मन्त्रालयसँग नेशनल मेडिकल कलेजले गरेको सम्झौता अनुसार सबै प्रकारका संक्रमितलाई राख्नु पर्ने उसको दायित्व भएको भन्दै त्यही भर्ना गर्न दबाब दिएको थियो।

यसै सन्दर्भमा सोमवार संकट व्यवस्थापन केन्द्र पर्साले मिर्गौला पीडित र शल्यक्रिया गराउने संक्रमितको उपचार हाल वीरगंज हेल्थकेयर अस्पतालले गर्ने र हेपाटाइटिस बिका संक्रमितको उपचार नारायणीले गर्ने निर्णय गरेको छ। साथै, बाबा होटलको कोभिड अस्पतालले चाडै यी तीन प्रकारका संक्रमितलाई पनि उपचार सेवा दिने भौतिक पूर्वाधार तथा जनशक्ति राख्न चाडै तयारी गर्ने निर्णय समेत भएको पर्साका सिडिओ तामाङले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell