
अर्घाखाँची : शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ। वडा नम्बरर १२ को कोठिया मैदान र ११ ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद् व्यवस्थापन समितिले झण्डै तीन सय घर पहिराको जोखिममा रहेकोे निर्णय गरेको छ।
सदरमुकाम सन्धिखर्कमा बसेको समितिको बैठकले पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ। घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।
उक्त स्थानमा जमीन धुजाधुजा भएर फाटेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताए। पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन। सबै गाउँको जमीन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नुपर्ने समितिको बैठकले निष्कर्ष निकालेको छ।
कोठिया मैदानमा २६ घर पूर्ण रुपमा भत्किएका छन्। छयालीस घर पहिराको उच्च जोखिममा र झण्डै एक सय घर जोखिममा छन्। ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्ण रुपमा भत्किएका छन्। एघार घर पहिरोको उच्च जोखिममा रहेको र झण्डै दुई सय घरको सो क्षेत्र नै पहिरोको जोखिममा रहेको वडा नम्बर ११ का वडाध्यक्ष कपिल आलेले बताए।