बुबाको मुख हेर्ने दिन। कोरोना कहरले कीर्तिपुरस्थित घरमा पहिला झै तामझाम थिएन। भोलिपल्टदेखि उपत्यकामा निषेधाज्ञा नि थियो। त्यसैले हल्काफुल्का भेटघाट तय भएको थियो। सुनिता डंगोल भने केही दिनदेखि घरमा थिइन्। दुईचार दिनअघि कारले ठक्कर दिँदा सामान्य घाइते भएकी थिइन् उनी। त्यसयता घरबाट बाहिर निस्केकी थिइनन्।
औशीको दिन सुनिता र उनको परिवार एकजना आफन्तसँग सम्पर्कमा आएका थिए। त्यसको केही दिनपछि ती आफन्तमा कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि घरमा तहल्का नै मच्चियो। किनभने ती आफन्तसँग परिवारका धेरै सदस्यहरुसँग ‘क्लोज कन्ट्याक्ट’ मा आएका थिए।
संक्रमण पुष्टि भएका आफन्तको स्वाब बुबाको मुख हेर्न दिनमा नै संकलन गरिएको रहेछ। तर, यसबारे उनले परिवारमा जानकारी गराएनन्।
आफन्तमा संक्रमण पुष्टि हुने बित्तिकै उनलाई पायक पर्ने आइसोलेसन सेन्टरमा पठाउन तयारी गरियो। निषेधाज्ञाको समयमा धेरै हल्ला नहोस् भनेर एम्बुलेन्सलाई पनि घरभन्दा केही टाढा बोलाइयो। आफन्तलाई आइसोलेसन सेन्टर पठाएपछि सुरु भयो अर्को तनाव।
‘हामी क्लोज कन्ट्याक्टमा आएका थियौं। त्यसैदिन उनले पनि स्वाब संकलन गराएका रहेछन्। त्यसको अर्थ हामी सबैजना संक्रमणको जोखिममा रहेको बुझ्यौं र घरमै सेल्फ क्वारेन्टाइनमा बस्यौं,’ सुनिताले सुनाइन्।
संक्रमण पुष्टि भइसकेपछि बिहान तरकारी किन्न जाने हिम्मत पनि भएन। सुनिताको परिवारले आफ्नै घर ‘सिल’ गरे।
कोही बाहिर जान नपाउने, बाहिरका मानिस आउन नपाउने। यसलाई कडाइका साथ लागू गरियो। तर, यतिले मात्रै मन हलुका बनाउने कुरा थिएन। पीडा र डर स्वभाविक थियो।
निषेधाज्ञाकै बीच देशभर संक्रमण दर बढ्दै थियो। काठमाडौं भने हटस्पट। संक्रमितसँगै मृतकको संख्या पनि बढ्दै गयो।
कन्ट्याक्ट ट्रेसिङमा परेका सुनिता र उनको परिवारको पीसीआर परीक्षण गर्न थ्रोट स्वाब लिन कीर्तिपुर नगरपालिको टोली उनको घरमा पुग्यो। त्यसको रिपोर्ट नआएसम्म बेचैनी।
११ जनाको स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरेको तीन दिनपछि ६ जनाको रिपोर्ट आयो। सबैको रिपोर्ट ‘नेगेटिभ’। सबै ढुक्क।
तर ५ जनाको रिपोर्ट भने आएन। रिपोर्ट नआउनेहरु सबैको नाम ‘एस’बाट आउने।
त्यसपछि सुनिताको मनमनै कुराहरु खेल्न थाले। ‘एस’ बाट नामको मात्रै रिपोर्ट किन आएन? आफैसँग तर्कवितर्क गरिन् उनले।
‘अल्फाबेटिकल अर्डरमा होला। एसको पालो आउन बाँकी छ भनेर सोच्यौं। ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि आधा मन हल्का भएको थियो। उनीहरु सुरक्षति छन् बाँकीको पनि अब ‘सेफ’ नै होला भन्ने लागेको थियो,’ सुनिताले भनिन्।
तर, रिपोर्ट नआउँदासम्म मनमा डर नहुने कुरै भएन। केही समय यसै बित्यो। अफिस र थेसिसको काम गरेर समय सदुपयोग गर्ने मुड बनाइसकेकी थिइन् उनले। त्यसैदिन ल्यापटप चलाइरहेको बेला एक्कासी उनको फोन बज्यो।
स्वास्थ्य विभागको मान्छेले फोन गरेका रहेछन्। फोनबाट बोल्ने मानिसले सबैको जानकारी लिए र भने, ‘तपाईँहरु ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।’
त्यसपछि के थियो र? छानाबाट खसेको जस्तो भए सबै।
सबैभन्दा ठूलो पीडा त साढे दुई वर्षको बच्चालाई समेत कोरोना देखियो। मन नआत्तिने कुरै भएन।
सुनिता आफूहरु ५ जनाको रिपोर्ट पोजेटिभ आएको खबर दाइलाई सुनाइन्। आफ्नो सानो छोरामा समेत संक्रमण देखिएको भनेपछि अवस्था केही असमान्य बन्यो। आमा र दिदीको आँखाबाट आँशु झर्यो। बच्चालाई समेत संक्रमण देखिएको भनेपछि सुनिताकी भाउजुले आफूलाई थाम्न सकिनन्।
‘आफू नेगेटिभ बच्चा पोजेटिभ। संक्रमणका कारण आमा बच्चासँग छुट्टिन पर्यो। त्यसको थप पीडा भाउजुमा थियो। धन्न बच्चा आफ्नो बुबा र बज्यैसँग बस्न मान्छ। तर, सम्हाल्न गाह्रो हुन्थ्यो,’ सुनिताले भनिन्।
माहौल केहीबेर अलमलमा नै बित्यो। के गर्ने थाहा थिएन। त्यसपछि दाइ र सुनिताले सबैलाई सम्हाल्ने प्रयास गरिन्।
‘रुने होइन आफूले आफूलाई बलियो बनाउने हो’ भन्दै सबैलाई ढाडस् दिइन्।
आइसोलेसन सेन्टर जाने कि होम आइसोलेसनमा बस्ने? परिवारमा कुरा भयो। सल्लाह बमोजिम ‘होम आइसोलेसन’मा बस्ने भयो यो परिवार।
स्वास्थ्य विभागका कर्मचारीले होम आइसोलेसनमा बस्दा एउटै कोठामा बस्दा नि हुने तर तर भौतिक दुरी भने कायम राख्न ध्यान दिनुपर्ने बताएका थिए। त्यसैललाई आधार बनाएर घरको माथिल्लो तल्लामा कोरोना पोजेटिभ देखिएकाहरुका लागि दुईवटा कोठा छुट्याइयो। नेगेटिभ आएकाहरु भने मुनिका तल्लामा बस्ने। उनीहरुलाई माथि ‘नो इन्ट्री’। संक्रमण नभएकाहरु पनि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा नै बसे।
एक्लाएक्लै बस्दा विरक्त लागेर मानिसहरुलाई बढी स्ट्रेस हुन्छ। दुईजना भयो भने केही कुराकानी त गर्न पाइन्छ। केही गरी कसैलाई राति गाह्रो भइहाले पनि थाहा हुन्छ भनेर होम आइसोलेसन मै बस्ने निधो गरेको सुनिताले सुनाइन्।
पोजेटिभ आएर होम आइसोलेसनमा बस्ने भनेपछि केही साथीभाइ र नजिकका मानिसहरुलाई जानकारी दिए उनीहरुले। सबैलाई किन त्रासमा पार्नु भनेर निश्चित व्यक्तिलाई मात्र जानकारी गराइयो। टोल छिमेकमा समेत धेरैलाई थाहा दिइएन।
होम आइसोलेसनमा बस्ने त भनियो। तर, कसरी बस्ने?
केही साथीहरुको माध्यमबाट चिकित्सकहरुसँग समेत सल्लाह गरियो। मापदण्डहरु हेरियो। नेटमा होम आइसोलेसनको बारेमा खोजियो।
चिकित्सकले पनि आफ्नै घरमा बस्दा राम्रो र सहज हुन्छ भने। तर, एउटा कुरामा ध्यान दिन जोड दिइयो। त्यो हो अक्सिजनको मात्रा। चिकित्सकहरुले बेलाबेलामा अक्सिजनको मात्रा परीक्षण गरिरहन भनेका थिए। मात्रा ९० भन्दा कम हुनुहुँदैन र भयो भने निमोनियाको लक्षण हुनसक्छ भनेर सतर्क गराए। त्यसपछि अक्सिमिटरदेखि आवश्यक सबै सामानहरु मगाइयो घरमै।
+++
परिवारका सदस्यहरुको रिपोर्ट पोजेटिभ आउँदासम्म सुनिताको दिदीलाई हल्का रुघाखोकी लागेको थियो। अरुमा भने खासै त्यस्तो लक्षण देखिएको थिएन।
‘यदि भएको भए पनि हामीले याद गरेनौं किन भने त्यो बेलाको मेन्टल स्ट्रेस नै बढी थियो। फिजिकल पेनले भन्दा मेन्टल स्ट्रेसले त्यो बेला धेरै प्रभाव पार्यो,’ सुनिताले भनिन्।
समय बित्दै जाँदा सुनितालाई पनि केही लक्षण महसुस भयो। नाक बन्द हुने। स्वाद र बास्ना थाहा नपाउने जस्ता लक्षण देखियो। कमजोरीले शरीर भने एकदमै दुख्थ्यो। उनका दाइलाई चाहिँ ढाड दुख्न थाल्यो।
‘पर्फयुमहरु सुघेँ। तर केही महसुस भएन। एकैछिन त डर लाग्यो,’ सुनिताले सुनाइन्, ‘तर डराएरमात्रै बस्ने कुरा भएन। त्यसपछि हामी हाम्रो इम्युनिटी बढाउने र आफूलाई धेरै कुराहरुमा संलग्न गराउन थाल्यौं।’
बच्चाले हाच्छिउँ गर्दा सबैभन्दा बढी तनाव हुन्थ्यो घरमा।
‘हाच्छिउँ सामान्य कुरा हो। तर त्यो समयमा कसैले हाच्छिउँ गर्यो भने पनि डर हुने। खोक्दा नि चिन्ता लाग्ने। अझ बच्चालले गर्यो भने त सातो जाने। हामीले पो गाह्रो भयो भन्न सक्छौं। बच्चालाई त थाहा हुँदैन,’ उनले सुनाइन्।
संक्रमणसँग जुध्दै गर्दा विस्तारै ससाना कुराहरुको मतलब हुन थाल्यो। त्यसपछि आफूलाई भन्दा एकले अर्कालाई बढी ‘केयर’ गर्न थाले।
कोरोनासँग लड्न कुनै भ्याक्सिन बनेको छैन। आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनु बाहेकको विकल्प छैन। त्यसैले घरमा भएका सबैले अत्याधिक पानी पिउने, गुर्जो पानी, बेसार पानी, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन आयुर्वेदिक औषधिको प्रयोग गर्न थालेको उनले बताइन्।
संक्रमणबीच एड्भोकेसी
सुनिता डंगोल सन् २०११ की मिस नेवा: हुन्। रञ्जना लिपिको ‘एड्भोकेसी’ गरिरहेकी उनले लकडाउनको समयमा समेत भर्चुअल रुपमा रञ्जना सिकाइन्। अगस्ट देखि उनले नेपाल भाषा सिकाउने उद्देश्य सहित ‘१ मिनेट ट्युटोरियल’ बनाउन सुरु गरेकी थिइन्। पहिलो सिजनमा ५० वटा एपिसोड बनाउने लक्ष्य थियो। तर कोरोना संक्रमणका कारण त्यो पूरा होला कि नहोला भन्ने अर्को तनावमा थिइन् उनी।
तर चुप लागेर बसेर कोरोना त जितिँदैन। त्यसैले ट्युटोरियल बनाउने कामलाई संक्रमणबीच निरन्तरता दिने निधो गरिन्।
‘संक्रमित हुँदाहुँदै पनि धेरै भिडियो बनाएँ। तर बाहिर मलाई संक्रमण भएको छ भन्ने कसैलाई थाहा हुन्न थियो,’ उनले भनिन्, ‘म सबैको सामु हाँसेर पहिला झै प्रस्तुत हुन्थेँ। दाइ दिदीले पनि भिडियो खिच्न सहयोग गर्नुभयो। यसरी संक्रमणबीच ५० एपिसोड पूरा भयो।’
केहीदिन अघिमात्रै सुनिता र उनको परिवारको दोस्रो कोरोना परीक्षणको रिपोर्ट आयो। सबैजनाको रिपोर्ट कोभिड - १९ नेगेटिभ। अहिले सुनिता ट्युटोरियलको दोस्रो सिजनको लागि ब्रेकमा छिन्।
‘परीक्षा हुनुअघि हामी केही आउँदैन भनेर पढ्छौं। डराउँछौं। तर परीक्षा हलमा गएर मलाई केही आउँदैन भनेर बस्ने होइन नि। जे आउँछ लेख्ने हो,' सुनिताले कोभिड १९ सँग जुधिरहँदाको मनोबल व्यक्त गरिन्, 'त्यसरी नै कोरोना आफूलाई नभएसम्म डराउने हो। सचेत हुने हो। लाग्ला है भने सर्तक रहने हो। तर कोरोना लागिसकेको रहेछ भने डराउने होइन। जति सक्दो सकारात्मक हुने हो। कोरोना पचाइहाल्छु भनेर विश्वस्त हुने हो। अनि जे गर्न मन छ त्यो गर्नुपर्छ। एक्टिभ हुनुपर्छ।’
यस्तो समयमा सकेसम्म मनोबल बढाउन पहिला आफू खुशी हुनुपर्ने बताउँछिन् उनी। त्यसका लागि समाचारहरु फिल्टर गर्न सुझाइन्।
‘नेगेटिभ न्यूज चाहिँ सकेसम्म नहेर्ने। नेगेटिभ न्युज सत्य है हो भने केही समयका लागि त्यसलाई फिल्टर गर्नुपर्छ,' उनले मिडिया सेलेक्सनको टिप्स दिइन्, 'जबसम्म तपाईँ स्वस्थ हुनुहुन्न त्यो समाचारले तपाईँलाई नकारात्मक असरमात्रै पुर्याउँछ। आफू बिरामी भइराछ। अरु बिरामी मरिरहेको समाचार हेरेर काम छैन। अपडेट हुनलाई बिहान एकपटक न्यूज पढ्ने हेर्ने। तर दिनभर त्यसमै अल्झन हुन्न।’
सुनितालाई कोरोना संक्रमण पुष्टि भएको दिन भक्तपुरमा होम आइसोलेसनमा बसेका एक व्यक्तिको मृत्यु भएको थियो। पूरै दिन मान्छे मरेको भन्ने समाचार आइरहेको थियो। त्यसले परिस्थिति झनै डरलाग्दो बनाएको उनी बताउँछिन्।
‘आफू होम आइसोलेसनमा छ। मरेको मान्छे पोको पारेर निकाली रहेको छ। त्यसपछि न्यूजलाई फिल्टर गर्नुपर्छ भन्ने भयो,’ उनले भनिन्।
आफूलाई संक्रमण नहुँदा समाचारमा हरेक दिन यति सय मानिसमा कोरोना देखियो भनेर सुन्ने गरेकी थिइन्। नम्बर बढ्दै गए। सयबाट दिनहुँ जसो हजार जनामा संक्रमण देखिन थाल्यो। जब आफै संक्रमित भइन् तब दैनिक रुपमा थपिने संख्यामा आफैलाई समेत पाइन्। दिनहुँ थपिने संख्याको पछाडि मान्छे छ भन्ने बुझिन्।
त्यसैले संक्रमणबीच के गर्ने के नगर्ने। लिस्ट बन्यो। बिहानै सबैजना व्यायाम गर्ने। घरको काम कसले के गर्ने भनेर ‘वर्क डिभिजन’ भयो। खाना बनाउने, घर डिस्इन्फेक्ट गर्ने, लूगा धुने, बाबुको हेरचाह गर्ने र सबै खुशी हुने।
यसरी नै बित्यो दिनहरु।
सुनिता उनकी आमा, दिदी र दाइ पो अलि बुझ्ने छन्। तर बच्चालाई बुझाउने कसरी? उसलाई आइसोलेसनमा खुशी बनाउने कसरी? धेरै समय यस्तै सोच्दै बित्थ्यो।
‘बच्चालाई एउटै ठाउँमा बस्दा दिक्क लाग्थ्यो। उसलाई कसैले पनिस्मेन्ट दिएको जस्तो भयो। घरबाहिर जाने भनेर कति भन्यो। बच्चा इनोसेन्ट भए पनि उसको लागि त्यो टर्चर नै थियो। उसले त्यस्तो भन्दा कस्तो नमिठो लाग्ने। त्यसैले खानाखाजा खाएपछि गीत बजाउने। बच्चालाई नचाउने र आफूहरु पनि नाच्ने गर्यौं,’ सुनिताले भनिन्।
सकारात्मक सोच
मिस नेवा: हुँदादेखि हालसम्म सुनिताले धेरै क्षेत्रमा आफूलाई संलग्न गराइन्। सँगै कमाइन् धेरै साथीभाइ। जसलाई कोरोना संक्रमणबीच चिन्ने अवसर पाइन् उनले।
‘यो समयमा मानिसहरु चिन्ने मौका पाएँ। मैले आफ्नो काम गर्ने दौरानमा धेरै मान्छेसँग भेट भयो। पैसा कति कमायो भन्दा पनि मान्छे कति कमायो भन्ने कुराले महत्व राख्दो रहेछ अहिले,’ उनले भनिन्, ‘भाइरसले त मलाई छुन्छ। त्यो प्राकृतिक कुरा हो। तर भाइरसले छोइसकेपछिको आर्थिक, सामाजिक समस्याहरु हुन्छन्। यस्तो बेलामा केही परे हामी छौं भन्ने मानिसहरु मैले धेरै कमाएको रहेछु भन्ने बुझेँ।'
संक्रमण पुष्टि भएपछि धेरैजनाले सहयोग गरे। केही साथीहरु घरसम्मै आवश्यक सामान पुर्याउन आए। उनीहरु ढोकामा सामान राखेर जान्थे र घरका मानिसहरुले माथि ल्याउथे। एकातिर कोरोनाको स्ट्रेस थियो। अर्कोतिर त्यसलाई स्ट्रेज म्यानेज गर्नुपर्ने चुनौती पनि। साथीभाइको साथले चुनौती पार गर्न सफल भइन् सुनिता।
समाज हेर्ने अर्को आँखा
सुनिताले कोरोन संक्रमित हुँदा जति मानिसलाई चिन्ने अवसर पाइन्, त्यति नै समाजलाई बुझ्ने अवसर मिल्यो। संक्रमित र संक्रमणलाई बुझ्न समाज अझै तयार नभएको उनको बुझाइ छ।
पहिला त छिमेकमा सबैलाई संक्रमणबारे जानकारी थिएन। स्वाब संकलन गर्न आएको देखेपछि भने कुरा एककान दुईकान भयो। अनि केही तिता अनुभवहरुसँग जुध्न पर्यो उनको परिवारले।
‘संक्रमण भएको थाहा पाएपछि त घरको झ्यालबाट हामीलाई देखे पनि बोल्न पर्ला भनेर नबोली छिटोछिटो भित्र जाने केही मानिसहरु नि देखेँ। मलाई चाहिँ हासो उठ्थ्यो,’ उनले सुनाइन्।
तर, समग्रमा राम्रा छिमेकी नै पाएको अनुभव छ उनको। ‘संक्रमणका बारेमा धेरै हल्ला नगर्नु। केही छ भने हामी छौं,’ भन्ने ‘गुड नेबर’ पाएको उनले बुझिन्। तर कोहीकोही त घरको बाटो नै हिँड्न हुन्न भन्नेहरु पनि थिए।
‘घरमा गाईको दूध पुर्याउन एकजना आउँथे। उनलाई कसैले कोरोना लागेको छ नजानु भनेर भनेछन्। त्यो बाटो नहिँड्नुसम्म भन्नेहरु रहेछन्। पछि हामीले नै उनलाई हामी आइसोलेसनमा छौं भनेर बुझाउन पर्यो,’ उनले भनिन्।
सुनिता यस्तो परिस्थितिका लागि पहिल्यै तयार थिइन्। एकातिर घरमा नै बसेर निको हुनुपर्ने ‘टर्चर’ अर्को तिर समाजले के भन्छ भन्ने भय। समाजसँगै अझै कति ‘फाइट’ गर्ने?
त्यसैले सुनिता अझै मान्छेको दिमागमा बत्ती बल्न धेरै नै बाँकी रहेको बताउँछिन्।
‘मलाई नकारात्मक सोच राख्नेहरु विचारा हुन् भन्ने महसुस भएन। यसबेला मैले मानिस भनेको इजुकेटेड इडिएट चाहिँ हुनुहुन्न भन्ने बुझेँ। अनपढ र भूलवश केही गल्ती गर्नेहरुलाई सम्झाउन सकिन्छ। इजुकेटेड इडियट अझै डेन्जरस रहेछ,’ उनको नयाँ बुझाई।
कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु आफै सचेत हुनुपर्ने उनको बुझाई छ। मानिसहरु रिपोर्ट आएको छैन भन्दै हिँडिरहेका हुन्छन्। परीक्षण गरेको भनेको तिमीमा संक्रमण देख्ने वा नदेखिने सम्भावना ५०-५० प्रतिशत छ भनेको हो। तर, मान्ने कसले ?
सुनिता युवाहरुले कोरोनालाई लिएर अझै लापरवाही गरेको देखेको बताउँछिन्।
‘मलाई केही भएको छैन भनेर खुल्ला रुपमा हिँड्नेहरु धेरै देखियो। भिडभाडमा हिँड्ने, ओभर कन्फिडेन्ट भयो,’ उनले भनिन्, ‘हामीले पो सुरुदेखि सतर्कता अपनायौं। त्यसले गर्दा कोरोनाले हामीलाई जित्न सक्यौं। तर सबैजना शारीरिक रुपमा फिट हुँदैनन्। कसैको लापरवाहीले अर्को व्यक्तिमा कोरोनाले बढी प्रभाव पार्छ।’
कोरोना लागेका धेरै जना शारीरिक रुपमा लडिरहेका छन्। कति जना भेन्टिलेटरमा छन्। स्वासप्रश्वास गाह्रो छ। त्यो शारीरिक कुरा भयो। तर भावनात्मक रुपमा मानिसहरु निकै कमजोर हुन्छन् यो बेलामा। कोसँग गएर बोलू? कसलाई गएर भनौं? भन्ने हुन्छ। तर, कोही अगाडि नहुँदा थप पीडा हुन्छ।
घरबाहिर निस्कौं कोरोना छ, ननिस्कौं चुलो बाल्नै गाह्रै छ। पेटको मुसा मार्न पोजेटिभ भए पनि अरुलाई थाहा नदिँइ काम गरिरहेका छन् कति मानिस। निम्न आय भएका कोरोनाको सबैभन्दा बढी मारमा छन्।
‘हामी पो परिवारसँगै बस्यौं। साथीहरुले साथ दिए। एक्लै बसेकाहरुलाई के भयो होला?,' उनले प्रश्न गरिन्, 'धेरैको आय स्रोत जिरो छ अहिले। खान लगाउन गाह्रो भएकाहरु धेरै होलान्।'
त्यही भएर सुनिता अहिलेको समय ‘गुड ह्युमन’ बन्ने बेला भएको तर्क गर्छिन्। छिमेक वा चिनजानको कसैलाई संक्रमण भयो भयो भने उसलाई सहयोग गर्न पछि पर्न नहुने बताउँछिन्।
‘आफ्नो छिमेक वा चिनजानमा संक्रमित भएकाहरुलाई ‘केही परे हामी छौं’ भने मात्र पनि उनीहरुको धेरैको मनोबल बढ्छ। आँट आउने रहेछ। सबैजना सुरक्षित नभएसम्म यहाँ कोही सुरक्षित छैन भनेर हामीले बुझ्न पर्छ,’ उनले भनिन्।
कोरोनासँग जुधेर आएकी सुनिता कोरोना केही होइन भन्नेहरु र यसलाई ख्याल ठट्टाका रुपमा लिनहरुबाट टाढा नै बस्नुपर्ने सुझाउँछिन्।
‘तपाईँ पो बलियो हुनुहुन्छ। तर, तपाईँबाट कसैलाई संक्रमण सर्न वा उसले ज्यान नै गुमाउनसक्छ। त्यसलै लापरवाही नगरौं,' उनले भनिन्।
अब औषधी भयौं
देशभर कोरोना संक्रमितको संख्या बढ्दै छ। लक्षण सहित र गम्भीर अवस्थामा समेत संक्रमित रहेका छन्। उनीहरुको ज्यान जोगाउन हाल संक्रमण मुक्तभएकाहरुको ‘प्लाजमा’ प्रयोग समेत गरिन थालिएको छ।
सुनिता कोरोना लागेर निको भएकाहरुले अरुको ज्यान बचाउने अवसर पाएको भन्दै अब ‘लाइफ सेभियर’ बन्ने मौका आएको बताउँछिन्।
‘निको नभएसम्म त गाह्रो भयो। तर निको भइसकेपछि त म त अब औषधी हुँ भनेर खुशी हुनुपर्छ। संक्रमण मुक्त भएकाको शरीरमा रहेको एन्टीबडीले त औषधिको काम गर्छ,' उनले भनिन्, 'रगत खेर जाने नै हो। खेर जाने कुराले कसैको जीवन बचाउन सकिन्छ भने त्यो भन्दा राम्रो कुरा के हुन सक्छ?'
सुनिताले नै चिनेका केही संक्रमितहरुलाई अहिले अस्पतालमा लाखौं तिरेर राखिएको छ। तर, सबैसँग अस्पताल नै पुग्नुपर्ने वा पुगे पनि त्यहाँको खर्च बहन गर्न सक्ने क्षमता छैन।
सुनिता अधिकांश कुराको ‘ह्वाट नेक्टस’ भन्ने अप्सन हुने तर मानिसको स्वास्थ्य र जीवनमा भने त्यो विकल्प नहुने तर्क गर्छिन्।
‘आफ्नो मान्छेलाई भएको छैन भनेर बस्नु सबैभन्दा ठूलो गल्ती हो। लागेको छैन भने डराउनुस्। आफ्नो लागि डराउनुस्, आफ्नो परिवारको लागि डराउनुस्,' उनले भनिन्, 'डराउने भनेको पूरै त्रासमा बस्ने भनेको होइन। सर्तक हुने हो। प्रिकसन इज बेटर ड्यान क्युर।’