विराटनगर: मोरङका एक कोभिड १९ सङ्क्रमित पुरुषको मृत्यु भएको छ।
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोभिड सङ्क्रमित पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।
डाक्टर सापकोटाका अनुसार मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मङ्गलवार बिहानको र ३:०० बजे मृत्यु भएको हो।
गत शनिवार प्रतिष्ठानको अस्पताल भर्ना भएका पुरुष नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगरमा आइसियुमा उपचाररत थिए। उनलाई त्यहाँबाट रेफर गरिएका थिए।
उच्च रक्तचाप मधुमेह र मिर्गौलाको समस्या भएका ती व्यक्ति नियमित डायलसिस गर्दै आएका थिए।
उपचारका लागि नोबेल मेडिकल भर्ना भएका ती व्यक्तिमा गत असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। नोबेल मेडिकल कलेजकै आइसोलेसनमा उपचाररत ती पुरुषमा ज्वरो खोकी श्वासप्रश्वासमा समस्या भएकाले थप उपचारका लागि वीपी प्रतिष्ठानको कोभिड अस्पताल रेफर गरिएको थियो।
गत शनिवार बिहान ७:०७ बजे वीपीको कोभिड अस्पताल भर्ना भएका ती पुरुषलाई भेन्टिलेटरमा राखी उपचार गरिँदै आएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए। कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्तिको नियम अनुसार शव व्यवस्थापन हुने प्रतिष्ठानले जनाएको छ।
यससँगै वीपी प्रतिष्ठानमा कोभिड १९का कारणले ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ।
