काठमाडौं : मङ्गलवार बिहानै काठमाडौं उपत्यकाभित्रका सडकमा ट्राफिक प्रहरीको सक्रियता एकाएक अन्य दिनको तुलनामा बढी देखियो। उपत्यकाभित्रका तीन वटै जिल्लामा ट्राफिक प्रहरीले बाटोमा 'चेकिङ प्वाइन्ट' थापेर चेक गर्दा सडकमा जाम नै देखियो।
काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञामध्ये निजी तथा सार्वजनिक सवारी साधनमाथि लगाइएको प्रतिबन्ध भने फुकुवा भएको छैन। जोरबिजोरका आधारमा सार्वजनिक तथा निजी सवारी साधन चल्न भनिएको छ। तर, यस्तो नियमलाई अटेर गर्दै सवारी सञ्चालनमा आएपछि मङ्गलवार भने प्रहरी आक्रामक रुपमा सक्रिय बनेको हो।
'धेरै नै नियमको उल्लङ्घन गरेको पाइयो। ट्राफिकले केही गर्दैन भन्दैमा नियम नै नमान्ने भन्ने हुँदैन। तर, यहाँ नियम नै नमानेपछि कारबाही गर्न बाध्य भएका हौँ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।
त्यसो त निषेधाज्ञा र लकडाउनका सुरुका दिनमा ट्राफिक प्रहरीले कडाईका साथ सवारीको चेक गरेका थिए। तर, सडकमा खटिएका प्रहरीमा नै कोभिड १९ को संक्रमण हुनेक्रम व्यापक भएपछि क्रमश: चेकिङ निस्तेज बनेको थियो।
मङ्गलवार अक्रमकरुपमा सडकमा चेकिङमा उत्रिएको ट्राफिक प्रहरीको कारबाहीमा धेरै सवारी चालक परे। यो सूचीमा अधिकांश दुई पाङ्ग्रे रहे। मंगलवार दिउँसो १ बजे यो समाचार तयार पार्दासम्म १ हजार ५६ वटा सवारी साधन कारबाहीमा परिसकेका छन्। जसमा ८ सय ९५ वटा दुई पाङ्ग्रे र १ सय ६१ वटा चार पाङ्ग्रे रहेको एसएसपी ढकालले जानकारी दिए।
'धेरैले प्रहरीले केही गर्दै भनेर सवारी कुदाएको पाइयो। उहाँहरूको सवारी होल्ड गरिएको छ। जोरबिजोर हटिसकेको छैन,' एसएसपी ढकालले भने।
त्यस्तै, सरकारले सार्वजनिक सवारी साधनमा शर्तसहित सञ्चालन गर्न दिएको छ। ठूला सवारीसाधनमा सामाजिक दुरी कायम गरेर यात्रु हाल्न पाइन्छ। तर, काठमाडौं उपत्यकाभित्र सञ्चालनमा आएका केही सार्वजनिक सवारीले तोकेको भन्दा बढी यात्रु हालेर चलाएको भेटिएको छ। १५ वटा ट्याक्सी र २ वटा सार्वजनिक बसले शर्त पालना नगरेर कारबाही गरेको एसएसपी ढकालले बताए।
'ट्याक्सी र बसमा केही समस्या देखियो। हामी यसरी शर्त नै पालना नगरी यात्रु चढाउनेलाई पनि कारबाही गर्छौँ,' एसएसपी ढकालले भने।
काठमाडौँ उपत्यकाभित्र करिब १० लाख निजी तथा सार्वजनिक सवारी साधन चल्दै आएका छन्। सरकारले जोर बिजोर लागू गरेपछि झन्डै आधा सवारीसाधन मात्र चल्नुपर्थ्यो। तर, सरकारको नियम नमान्दा सावारीको भिड बढेपछि ट्राफिक प्रहरी यसरी चेकिङमा उत्रिएको हो। र, यसलाई निरन्तरता दिने प्रहरीको दावी छ।
'ट्राफिक प्रहरी सडकमा कम छन्, चेकिङ छैन भन्दैमा नियम नमानेर नचलाउनुहोला। प्रहरीले जतिखेरपनि कारबाही गर्न सक्छ,' एसएसपी ढकालले भने।
पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र कोभिड १९ सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ। सरकारले संङ्क्रमण नियन्त्रण गर्न भन्दै सार्वजनिक सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गरेको थियो।
