काठमाडौं : पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानका लागि यसपटक छानिएका नामले चर्चित बन्दै गइरहेको पुरस्कार नराम्ररी विवादमा पर्यो। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले पुरस्कार स्थगित गरिसकेको छ। तर, सामाजिक सञ्जालमा यसबारे बहस भने चलिरहेकै छ।
सञ्जिव उप्रेतीले पुरस्कार अस्वीकार गर्नुको कारण थियो, उनीसँगै मोदनाथ प्रश्रित पनि सम्मानित हुने सन्दर्भ। नेकपाको राजनीतिमा लामो समय सक्रिय रहेका साहित्यकार प्रश्रित शिक्षामन्त्रीसमेत रहिसकेका व्यक्ति हुन्। शारदा भुषालले किताव नै निकालेर प्रश्रितले गरेको यौन दुर्व्यवहार सार्वजनिक गरेकी थिइन्।
उप्रेतीले पुरस्कार अस्वीकार गर्नुको मुल कारण शारदाको पुस्तक नै थियो जसले प्रश्रितलाई 'व्यभिचारी' स्थापित गर्यो। साहित्य श्रृजनामा अब्बल मोदनाथ प्रश्रित यसै प्रकरणले 'वद्नाम' भए। उनले शारदा भुषालले नियोजित रुपमा आफूमाथि आक्रमण गरेको दावी भने गरिरहे। त्यही प्रकरण अहिले फेरि चर्चामा आएको छ। उप्रेतीले पुरस्कार अस्वीकार गरेपछि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान पनि सकसपूर्ण अवस्थामा पुग्यो। सँगै यस विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भयो। प्रश्रितले यसैबीच पुरस्कार हालको अवस्थामा नलिने बताए। त्यसपछि प्रतिष्ठान पनि पुरस्कार स्थगित गर्ने अवस्थामा पुग्यो।
आरोप - प्रत्यारोपको यो श्रृङ्खलामा नेकपाका एकाथरी नेता/कार्यकर्ता प्रश्रितको प्रतिरक्षामा उत्रिन सुरु गरे। त्यो प्रतिकार दस्तामा एकाएक प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेल पनि आइपुगे। प्रश्रितलाई बचाउन फेसबुक 'वार'मात्र उत्रिएका पोखरेलले शारदा विरुद्धमात्र होइन, सञ्जिव उप्रेती विरुद्ध समेत अभिव्यक्ति दिए। समाज रुपान्तरणमा उप्रेतीले प्रश्रितले जस्तो योगदान दिन नसकेको भन्दै व्यङ्ग्यसमेत प्रहार गरे, पोखरेलले।
सन्जिव उप्रेतीजीले समाजको रुपान्तरणमा प्रश्रितको जस्तो योगदान गर्न नसकेका कारणले एकसाथ पुरुस्कार नलिने भनेको होला भनेको...
Posted by Shankar Pokhrel on Monday, September 28, 2020
भुषालले यौन अपराधमै प्रश्रितलाई मुछेकी छिन्। तर, मुख्यमन्त्री पोखरेल प्रश्रितको बचाउनमा कडा रुपमा उत्रिए। आफ्नो क्षेत्रका नेताको रक्षा गर्न शंकर पोखरेलले यस्तो प्रतिक्रिया दिएपछि उनीविरुद्ध नै सामाजिक सञ्जालमा मानिसहरु खनिन थाले। उनका पक्षमा पनि कार्यकर्ता सोसल मिडियामा सक्रिय देखिएका छन्।
मुख्यमन्त्री पोखरेलमाथि प्रतिक्रिया जनाउने सूचीमा शरदा भुषाल पनि जोडिइन्। भुषालले शंकर पोखरेल पनि उनलाई दुर्व्यवहार हुँदा साक्षी भएको बताएकी छिन्।
'बुटवल लगायतका ठाउँहरूमा विजय सभा हुँदा कतिपय ठाउँमा हजुरसँग पनि भेट भएको थियो। त्यतिबेला मलाइ प्रश्रितले हात समातेर लगेका हुन्थे। कहिले सोध्ने प्रयास गर्नु भो? यी नानी को हुन? किन हजुरसँग छिन् भनेर?,' पोखरेलको स्टाटसमा शारदाले प्रश्न गरेकी छिन्।
पोखरेलले उनको प्रश्नको यो समाग्री तयार गर्दासम्म जवाफ दिएका छैनन्।
