PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

लकडाउन अवधिको विद्युत महशुलमा जरिबाना असुलेको विरोधमा जसपाका नेताको धर्नामा



राधेश्याम पटेल

लकडाउन अवधिको विद्युत महशुलमा जरिबाना असुलेको विरोधमा जसपाका नेताको धर्नामा

वीरगंज : जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंज अगाडि मंगलवार बिहान धर्ना दिएका छन्। जसपा नगर कमिटिको आयोजनामा बिहान १० बजेदेखि ११ बजे सम्म धर्ना तथा प्रदर्शन भएको हो।

लकडाउनको अवधिमा जरिबाना लिएको तथा अनावश्यक लोडसेडिङको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्। संघीय सांसद प्रदिप यादव, प्रदेश सांसद जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमम्द अन्सारी, वीरगंज १३ का वडा अध्यक्ष तुफान अन्सारी, सुन्दर कुर्मी, तबरेज अहमद, सरोज यादवलगायत ५० जना भन्दा बढी नेता कार्यकर्ताहरुले प्राधिकरणको मुलगेट अगाडि धर्ना दिएका हुन्।

सो क्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले लकडाउनमा भोकमरीले मरिरहेका जनतासँग राज्यले हरेक महिनामा २५ प्रतिशत जरिबाना असुल्ने काम सर्वोच्च अदालतको आदेश विपरित भएको भन्दै लकडाउन अवधि भरीको लागि शून्य समय मानिएकोले असुलिएको जरिबाना फिर्ता गर्न माग गरे।

त्यसैगरी, उनले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अवकास भएपछि वीरगंज क्षेत्रमा विद्युत सेवा अवरोध तथा पटकपटक ट्रिपिङ भइरहेकोले त्यसमा सुधार नभए अगामी दिनमा वितरण केन्द्रको कार्यालयमा तालाबान्दी गरी जनताको पीडालाई सम्बोधन गराउन जसपा पार्टी अग्रसर हुने सांसद यादवले बताए।

कार्यक्रमको अन्त्यमा जसपा पर्साका नेता तबरेज अहमदले वीरगंजमा पछिल्लो पटक विद्युत सेवा झुर बन्दै गएको र बेलाबेला हाई भोल्टेज विद्युत सप्लाई भइरहेकाले विद्युतिय सामान पनि नष्ट भएको भन्दै त्यसको क्षतिपूर्ति पनि वितरण केन्द्रले दिनु पर्ने माग राखे।

जिपि फाउन्डेसनको पनि वितरण केन्द्र प्रमुखलाई ज्ञापन

यसैबीच, गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले नेपाल विद्युत प्राधिरकण वितरण केन्द्रका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। वितरण केन्द्रको अव्यवहारिक महसल असुल्ने गतिविधि तथा पटकपटक बत्ती जाने समस्यालाई तत्कालै समाधान नभए कडा आन्दोलन गर्ने चेतावनीसहित ज्ञापन पत्र बुझाइएको हो।

फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको नेतृत्वमा गएको टोलीले वितरण केन्द्र प्रमुख शम्भु कुशियत रायलाई ज्ञापन पत्र बुझाएको हो। फाउन्डेसनले कोरोना महामारीका कारण देश आक्रान्त बनेको अवस्थामा सेवा प्रभावकारी नदिने र दुई महिना समयमा मिटर रिडिङ गर्न नआएको र जरिबाना लिने परिपाटी अन्त्य गर्नको लागि चेतावनी दिइएको छ।

ज्ञापन पत्र बुझाउने टोलीमा फाउण्डेसनका सचिव धिरजप्रसाद गुप्ता, सह-सचिव मिँन्टु देवी सिंह, कोषाध्यक्ष मनोहर साह, सदस्य प्रिति सिंह, जितेन्द्र सिहं, विपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साका अध्यक्ष हरिन्द्र प्रसाद यादवलगायतको सहभागिता थियो।

शुल्क मिनाहा हुन्छ : वितरण केन्द्र

यस विषयमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुशियत रायले असोज १५ गते भित्र साउन र भदौको महसुल बुझाउँदा जरिबाना बिलमा देखाए तापनि असोजको महिनामा उक्त रकम मिनाहा गरिने बताएका छन्। वीरगंज, सिमरालगायत देशभरीको ३ वटा शाखाको बिलिङ काउन्टरमा यस्तो समस्या देखिएकोले त्यसलाई सुधार गर्ने प्रयास भइरहेको उनले बताए।

भदौ ३१ गतेदेखि वीरगंजमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि बिलिङ काउन्टर शुरु भएको र असोज ७ गतेसम्म महसुल तिर्ने ग्राहकले नियमाअनुसार छुट पनि पाएको उनले बताए।असोज ८ देखि १५ को बीचमा महसुल तिर्ने ग्राहकले जरिबाना नबेहोर्ने र अगामी महिनामा गत भदौमा साउनको र असोजमा भदौको जरिबाना तिरेको भए सो शुल्क मिनाहा हुने प्रष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell