PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कक्षा ११ को परीक्षा संचालन गर्ने निणर्यबाट किन पछि हट्यो विराटनगर महानगर ?



फूलमाया पुरी

कक्षा ११ को परीक्षा संचालन गर्ने निणर्यबाट किन पछि हट्यो विराटनगर महानगर ?

विराटनगर : प्रदेश १ को राजधानी विराटनगर। समुदायस्तरमा कोरोना संक्रमण फैलिसक्दा यहाँ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

 कोरोना महामारीबीच नै असोज ११ गते विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गर्‍यो। तालिका अनुसार परीक्षा असोज २५ गतेबाट संचालन भइ कात्तिक ३ मा सम्पन्न हुने तय थियो।

एकातिर कोरोना संक्रमण बढ्दो छ, अर्कोतिर परीक्षाको तालिका सार्वजनिक भयो। अन्यौलमा परे विद्यार्थीहरु। त्यसैले केही विद्यार्थीहरुले महानगरको निर्णय सच्याउनुपर्ने माग राखे। परीक्षा दिन असहज परिस्थिति भएको भन्दै ती विद्यार्थीले सोमवार महानगर प्रमुख भीम पराजुलीलाई ज्ञापन पत्र बुझाए।

परीक्षाको अन्यौलबीच महानगरपालिकाभित्रै केही विद्यालयका शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि मंगलवार महानगर आफ्नो अघिल्लो निर्णयबाट पछि हट्यो। महागनगरका शैक्षिक प्रशासन महाशाखाका दुर्गा प्रसाद खतिवडाले कक्षा ११ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए।

खतिवडाका अनुसार परीक्षा संचालन गर्ने भनिएका चार विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। जसकारण तालिका अनुसार महानगरभित्रका सबै विद्यालयमा परीक्षा संचालन गर्न असम्भव छ।

‘परीक्षा लिने भनिएका विद्यालयमा पनि कोरोना संक्रमणको पोजेटिभ देखियो र पुन: सम्बन्धित सरोकारवाला सबै बसेर परीक्षा स्थगित गर्ने निर्णय भएको छ’ खतिवडाले भने।

महानगरभित्रका ३७ वटा विद्यालयले परीक्षा संचालन गर्न महानगरले समन्वय गर्न आग्रह गरेपछि परीक्षा तालिका सार्वजनिक गरिएको महानगरको दावी छ।

परीक्षा स्थगित गरिएपनि निर्देशिकाको व्यवस्थाको आधारमा भने विद्यालय स्वतन्त्र भएर परीक्षा लिन सक्ने खतिवडाले बताए।

के भन्छन् मेयर ?

महानगरका मेयर भीम पराजुली सम्बन्धित सरोकारवाला सम्पूर्णलाई बोलाएर छलफल गरी परीक्षा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेपछि तालिका सार्वजनिक गरिएको बताउँछन्।  

‘निर्देशिका नै जारी गरी संघिय सरकारले स्थानीय सरकारलाई अधिकार दिएकोले मात्रै होइन विद्यार्थीको भविष्यका निम्ति पनि परीक्षा गरिनुपर्छ भन्ने छलफलको निष्कर्ष भएकाले हामीले सूचना निकालेको हो’ मेयर पराजुलीले भने ‘तर सोही विषयमा केही विद्यार्थीहरुले असहज परिस्थिति भएका कारण परीक्षा दिन नसकिने भन्दै ज्ञापनपत्र बुझाएका छन्’।

विद्यार्थीको मनोविज्ञान विपरित गएर परीक्षा गर्ने पक्षमा महानगर नभएको भन्दै उनले भने ‘परीक्षा दिने र परीक्षा लिने अवस्था तयार भएको जानकारी आएको र केन्द्रिय सरकारले निर्देशिका जारी गरेको हुँदा महानगरपनि तयार भएको मात्र हो।’

मेयर पराजुली अब कोभिड १९ लाई  अपनाउँदै ‘न्यू नमर्ल’ लाई स्वीकार्दै सतर्क भएर हिंड्नुको विकल्प नभएको बताउँछन्।

 ‘संक्रमणको जोखिम त छ तर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य छ’ उनले भने।

प्रशासनले भन्यो ‘परीक्षा हुन्न’

महानगरले परीक्षा तालिका सार्वजनिक गरेता पनि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थिएन। महानगरमा संक्रमण बढीरहेकाले तत्काल परीक्षा गर्न सम्भव नभएको मोरङका प्रमुख जिल्ला अधिकारी कोश हरी निरौलाले बताए।

‘यो संक्रमणको जोखिमका बेला महानगरभित्र विद्यालय संचालन र परीक्षा गर्न सम्भव छैन’ प्रजिअ निरौलाले भने।

सम्बन्धित सरोकारवाला छलफल भइरहेको र सीसीएमसीको बैठक बसेर परीक्षा हुन्छ वा हुन्न भन्ने निष्कर्ष निकाल्ने उनले बताए।

‘हाम्रो छलफल भइरहेको छ र अहिलेसम्मको निष्कर्ष परीक्षा नगर्ने भन्ने नै हो’निरौलाले भने।

मोरङमा सबैभन्दा बढी संक्रमित विराटनगरमा नै देखिएको छ। र, समुदाय स्तरमा नै संक्रमण फैलिएकोले डर त्रासको अवस्थामा परीक्षा गर्न नहुने उनको मत छ।

केही निजी तथा आवासीय विद्यालयहरु परीक्षाका लागि तयार देखिएका थिए। तर महानगरले परीक्षा तालिका नै सार्वजनिक गर्दा प्रशासनले रोकेको बताउँछन् निजी तथा आवासीय विद्यालय संघ प्याब्सनका अध्यक्ष तथा एभरेष्ट सेकेण्डरी स्कूलका प्रिन्सिपल टीकारामा पुरी। 

‘प्रशासनले अनुमति नदिइ जवर्जस्ती परीक्षा गर्न सकिंदैन। त्यसैले परीक्षा तालिका सार्वजनिक भएदेखि नै परीक्षा हुन्छ भन्ने यकिन थिएन’उनले भने।

हालको परिस्थिति नै संक्रमणकालिन भएकाले परीक्षा संचालनका विद्यार्थी त्रसित हुनुपर्ने वातावरण नभएको उनी बताउँछन्।

यता, विराटनगरस्थित पोखरीया माविका प्रधानाध्यापक खेमराज भट्टराई महानगरले हतारमा तालिका निकालेको बताउँछन्। कोरोना त्रासबीच लामो समय विद्यार्थी घरमै थुनिएका र पर्याप्त तयारी नभएकाले विद्यार्थीहरुले परीक्षाका लागि तयारी गर्न पर्याप्त समय नपाएको गुनासो आएको उनले बताए।

परीक्षा तालिका सार्वजनिक त गरियो। तर महानगरले विराटनगर बाहिर रहेका विद्यार्थीहरुका बारेमा परीक्षा कसरी व्यवस्थापन गर्ने भन्ने नै नसोचेको उनको बुझाइ छ।

भट्टराईका अनुसार सामुदायिक विद्यालयका विद्यार्थी बढी मात्रामा स्थानीय नै हुनाले परीक्षा गराउन कठिन थिएन। तर निजी विद्यालयका विद्यार्थीहरु बाहिरका बढी भएकाले सबैको उपस्थिति हुन नसक्ने देख्दादेख्दै परीक्षा तालिका सार्वजनिक भएको थियो।

‘सामुदायिक विद्यालयका विद्यार्थीहरु महानगरभित्रकै छन्’ उनले भने ‘तर, निजीका भने करिब चार हजार विद्यार्थी बाहिरका देखियो। त्यसकारण परीक्षा गराउन सहज थिएन।’

बाहिर जिल्लाबाट आउने विद्यार्थीहरु विराटनगर छिर्दा यहाँका मान्छेले कस्तो व्यवहार गर्छन् भन्ने पनि चिन्ता पनि रहेको भट्टराईले बताए।

भने ‘६ महिनादेखि यो महामारीले गर्दा कतिपय विद्यार्थीले कोठा छोडेका हुन सक्छन्, यता बढ्दो संक्रमणका बेला १५ दिनको समयावधि मात्रै राखिएर परीक्षा तालिका सार्वजनिक गरेकाले अन्यौलको स्थितिमा परीक्षा गराउन असम्भव नै थियो।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell