PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कतै विद्यालय भवन बनाउँदै त कतै बाटो, नागरिकसँग जोडिनेगरी सेनाको सक्रियता

कतै विद्यालय भवन बनाउँदै त कतै बाटो, नागरिकसँग जोडिनेगरी सेनाको सक्रियता

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली सेनाले जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा कोसेढुङ्गा सावित हुने कार्यक्रम कार्यन्वयनलाई पछिल्लो समय तीव्रता दिएको छ।

स्थानीय आवश्यकता पहिचान गरी विकास, निर्माण र सामाजिक सेवाका कार्यक्रममार्फत सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले थोरै बजेटमा धेरै जनता लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राखिएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

सोही सन्दर्भमा सेनाले मोरङको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रस घरसहितको हाटबजार निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ। पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले उक्त गाउँपालिकाका अध्यक्षलाई हाटबजार हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भौतिक पूर्वाधार मन्त्रालय र सेनाबाट रु ५०/५० लाख तथा गाउँपालिकाबाट उक्त कार्यक्रमका लागि रु १४ लाख बजेट उपलब्ध गराइएको थियो।

रसुवामा तैनाथ कालीजङ्ग गणले गोसाईँकुण्ड गाउँपालिका–५ बुद्ध मन्दिरदेखि गोसाईँकुण्डसम्मको दुई दशमलव ५८ किलोमिटर पद मार्गमा रेलिङ निर्माण गरेको छ। गणले चोलाङपाटीमा प्रतीक्षालय र बुद्ध मन्दिरमा अस्थायी टहरा बनाएको सेनाले जनाएको छ। त्यहाँ तैनाथ कालीजङ्ग गणका गणपति प्रमुख सेनानी सविन्द्र नगरकोटीले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको रोहवरमा गोसाईँकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा रु ३५ लाख छ हजार खर्च भएको जानकारी दिइएको छ।

जुम्लामा तैनाथ नन्दाबक्स गणले चन्दननाथ नगरपालिका–२ स्थित कर्णाली माध्यमिक र बहिरा माध्यमिक विद्यालय भवन, बास्केटबल कोर्ट तथा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ। उक्त कार्यका लागि सेनाबाट रु २५ लाख उपलब्ध गराइएको थियो।

गोरखामा तैनाथ रणसिंह दलले रु २५ लाखको लागतमा त्यहाँस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक आवासीय विद्यालयमा चार कोठे भवन र विद्यालयको पर्खाल निर्माण गरी हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell