स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भ्यालेन्सियाले रियल सोसिडाडमाथि जित निकालेको छ। एनोएटा स्टेडियममा भएको खेलमा भालेन्सियाले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा भ्यालेन्सियाका लागि म्याक्सिमिलिआनो गोमेज गोञ्जालेजले निर्णायक गोल गरे। उनले खेलको ७५ औं मिनेटमा गोल गरेका थिए।
त्यस्तै गएराति नै भएको अर्को खेलमा गेटाफेले रियल बेटिसमाथि ३-० को जित निकाल्यो। गेटाफेको जितमा एन्जेल रोड्रिगेजले २ गोल गर्दा मार्ककुकुरेल्लाले १ गोल गरे। गेटाफेले तीन वटै गोल पहिलो हाफमा गरेको थियो। उता बेटिसका एइसा मण्डीले ८३ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएको थियो।
ला लिगाको अंक तालिकामा गएराति खेलेका गेटाफे, भ्यालेन्सिया र रियल बेटिस शीर्ष तीनमा छन् भने रियल सोसिडाड पाँचौं स्थानमा छ।
