वीरगंज : वीरगंजका मेयर विजयकुमार सरावगीले नेपाल सरकारले भारतीय सीमा उच्च सतर्कता अपनाएर खोल्नुपर्ने प्रस्ताव गरेका छन्। वीरगंजको भिस्वाडाँडामा पर्यटन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा सीमा खोल्न प्रस्ताव गरेका हुन्।
भिजिट मधेस नेपालले तराईको २२ वटा जिल्लामा पर्यटन दिवस मनाएको थियो। वीरगंजको पर्यटकीय स्थलको रुपमा चिनिने भिस्वाडाँडामा पनि अन्तरक्रिया गर्दै पर्यटकविनाको पर्यटन दिवस मनाइयो। अन्तरक्रियामा मेयर सरावगीले वीरगंजको होटल व्यवसायी सुक्न लाग्काले प्राण भर्न आवश्यक मापदण्ड पालना गरी नेपाल–भारत सीमा खोल्न आग्रह गरे।
‘वीरगंजको पर्यटन व्यवसाय सुकी सकेको छ, बर्बाद भइसक्यो, करोडौको लागानी डुब्ने खतरा छ,’ उनले भने, ‘वीरगंज नेपालको गेटवे अफ नेपाल हो, वीरगंज–रक्सौल नाका खोलियो भने वीरगंज, पर्साको मात्र भलाई हुँदैन, प्रदेश २ कै ८ जिल्लाको पर्यटन व्यवसायसँगै नेपालकै पर्यटन व्यवसायमा चमक आउन सक्छ।’
अहिले भारतमा पनि कोरोनाको तनाबबीच कतिपय मानिस नेपाल आउन खोजिरहेका छन्, बिहारमा मदिरा बन्द छ, वीरगंजमा कोरोना संक्रमण नियन्त्रण हुन थालेको छ, वैवाहिक गेदरिङ तथा अन्य समारोहमा पनि भारतीय पर्यटकलाई वीरगंजमा स्वागत गरी पुनः पर्यटन व्यवसायलाई बुस्ट अप गर्नुपर्ने उनको जोड थियो।
वीरगंज पब्लिक कलेजका सञ्चालक डा. दीपक शाक्यले प्रदेश २ का सम्पूर्ण पर्यटकीय गन्तव्यलाई नयाँ पहिचान र प्रवर्द्धन गरी अगामी दिनमा अघि बढनु पर्ने जोड दिए।
पर्यटक पत्रकार संघका अध्यक्ष शंकर अर्चायले वीरगंजमा पर्यटन टिकाई राख्न र कम्तिमा ३ दिनको प्याकेज विकास गर्नको लागि आवश्यक गन्तव्यको छनौट र आवश्यक आधुनिक सुविधा समेत उपलब्ध नभएसम्म पर्यटन व्यवसायमा वीरगंजको विकास गर्न चुनौती रहेको बताए।
होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य माधव बस्नेतले भारतीय सीमाना नखोलेसम्म वीरगंजको होटल व्यवसाय धरासाय हुने बताए। वीरगंज आर्थिक नगरीसंगै औद्योगिक कोरिडोर भएको साथसाथै, नेपालकै छोटो नाका भएकोले पनि पर्यटन व्यवसायमा यो क्षेत्रको ठूलो योगदान रहेकोले सरोकारवाला निकायले मिलेर वीरगंजमा आउने पर्यटकलाई नयाँ चिज दिएपछि पर्यटन व्यवसाय फड्को मार्ने वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले धारणा राखे।
कार्यक्रममा भिजिट मधेस नेपालका केन्द्रीय अध्यक्ष ओमप्रकाश सर्राफले पछिल्लो ७ महिनामा कोरोना महामारीको कारण तराईका २२ जिल्लाको पर्यटन व्यवसायमा कस्तो असर परेको र के गर्दा अहिलेको परिस्थितिबाट उन्मुक्ति पाउन सकिन्छ भन्ने सन्देश सहितको कार्यपत्र प्रस्तुत गरेका थिए।