PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लिपि रञ्जना, लय संस्कृत: हिरण्यवर्ण महाविहारमा सुनको जलपले जीर्णोद्वार हुँदै प्रज्ञापारमिताका अक्षरहरु  

लिपि रञ्जना, लय संस्कृत: हिरण्यवर्ण महाविहारमा सुनको जलपले जीर्णोद्वार हुँदै प्रज्ञापारमिताका अक्षरहरु  

सहयोग रञ्जित/पहिलोपोस्ट


हिरण्यवर्ण महाविहारका वापाचा (मूल पूजारी) आफ्नो नित्य कर्ममा व्यस्त छन्। विहारको दायाँपट्टीको सत्तलमा भने अहिले बिहानको समयमा मानिसहरुको घुँइचो लाग्छ। करिब १० जना गुठियार स्वर्णलिखित ग्रन्थका अक्षर सुनको जलपले सिंगार्दैछन्। ‘प्रज्ञापारपिता’ को जीर्णोद्वार गरेको हेर्न र बुझ्न दैनिक मानिसहरु पुगिरहेका हुन्छन्। 


अरु बेला विहारको मूल मन्दिरभित्र रहने प्रज्ञापारमिता ग्रन्थ विभिन्न समयमा पाठ गरिन्छ। ३०० पन्नाको उक्त ग्रन्थमा ८०० श्लोकहरु छन्। यो ग्रन्थ पढाउन मानिसहरुले महिनौंअघि नाम लेखाउँछन्। 

कालो रंगको कागजमा स्वर्णलिखित अक्षरले कुँदिएका प्रज्ञापारमिता करिब २८ महिनामा जीर्णोद्वार गरिन्छ। पछिल्लो समयमा भने मलमासको समयमा प्रज्ञापारमिता जीर्णोद्वार गर्ने गरिएको हो। मलमासको समयमा ग्रन्थको पाठ नहुने, विषेश पूजाहरु नहुने र गुर्जुहरु समेत फूर्सद्मा हुने भएकाले यस समयमा ग्रन्थको सम्भार गर्ने गरिएको स्थानीय धर्मरत्न शाक्यले बताए।

प्रज्ञापारमिताका धेरै स्वरुप छन्। हिरण्यवर्ण महाविहारमा रहेको प्रज्ञापारमिता भने ७९५ वर्ष अघि लेखिएको इतिहास छ। रञ्जना लिपिमा लेखिएको यो ग्रन्थ पढ्ने बेला भने संस्कृत भाषामा पढ्ने गरिएको सुदनरत्न शाक्यले बताए।

सुदनरत्न अहिले मलमास सुरु भएयता गुठीका साथीहरुसँग दैनिक महाविहार पुग्ने गरेका छन् बिहानै। अरु समयमा जहिलै ग्रन्थ पढिने गरिएको र केही बिग्रिने भएकाले ग्रन्थको जीर्णोद्वार गरिएको उनले बताए। 

‘एकपटक पाठ गर्दा करिब ३ दिन लाग्छ। यो ग्रन्थ पढ्न महिनौंअघि नाम लेखाउँछन्। दैनिक प्रयोग हुने भएपछि किताब केही च्यातिने, अक्षर नचिनिने हुन्छ। मलमासमा प्रज्ञापारमिता पाठ नगरिने भएकाले ग्रन्थको मर्मत गर्ने गरेका हौं,’ उनले भने। 

हाल महाविहारमा ग्रन्थ जीर्णोद्वार गर्न केही किताबको सहायता लिने गरिएको छ। २०१६ सालमा भारतबाट प्रकाशित भएको ‘अष्ट साहस्त्रिका प्रज्ञामारमिता’ नाम गरेको किताबलाई ‘रिफरेन्स’का रुपमा लिने गरिएको छ। 

‘कुनै अक्षरहरु चिनिन्दैन। त्यसैले किताब हेरेर लेख्ने गरेका छौं। तर यो किताबमा पनि सबै छैन। किताबमा भएका श्लोक ग्रन्थमा छैन र ग्रन्थमा भएका किताबमा समेत छैन। तर पनि यसले हामीलाई अक्षर चिन्न सहयोग गरेको छ,’ शाक्यले भने।

एउटा पानामा कुँदिएका सुनौता अक्षरहरुलाई जस्ताको त्यस्तै बुझेर पढ्न र त्यसमा सुनको जलपले दुरुस्तै लेख्न समय लाग्ने गरेको छ। त्यसैले १ दिनमा केही पानामात्रै जीर्णोद्वार गर्न सकिन्छ। मलमास भरी किताबको जीर्णोद्वार गरिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell