PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओली प्रचण्डको भेटमा लाग्यो ब्रेक! किन रोकियो वार्ता? एकले अर्कोलाई दोष लगाउँदै बालुवाटार-खुमलटार



प्रकाश भण्डारी

ओली प्रचण्डको भेटमा लाग्यो ब्रेक! किन रोकियो वार्ता? एकले अर्कोलाई दोष लगाउँदै बालुवाटार-खुमलटार

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र पुष्पकमल दाहल प्रचण्डको बुधवारका लागि तय भएको भेट स्थगित भएको छ। पार्टी विवाद समाधान भएयता दैनिक जसो भेटवार्तामा रहेका ओली-प्रचण्डको भेटवार्ता एकाएक स्थगित भएको हो। 

धेरैको चासो नेकपाले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्नेमा रहेको छ। यसैका लागि निरन्तर संवादमा रहेका दुई अध्यक्षबीच तय भएको भेट किन स्थगित भयो त? 

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीतिर संकेत गर्दै बालुवाटारका कारण भेट स्थगित भएको बताए। आजको भेट एकाएक स्थगित हुनुमा प्रचण्डको कुनै भूमिका नभएको उनको दाबी रह्यो। 'यताबाट केही पनि कारण छैन्, बालुवाटारले नै नभेट्ने भनेको हो। बाँकी कारण बालुवाटारमै सोध्नुहोला,' सापकोटाले भने।

यता प्रधानमन्त्री निकट मानिने नेकपा संसदीय दलका उप-नेता सुवास नेम्वाङले भने प्रचण्डले नै ओलीलाई आजको भेट स्थगित गर्न प्रस्ताव गरेको दाबी गरे। नेम्वाङले भोलि छलफल गर्ने गरी आजको भेट स्थगित भएको बताए। भने, 'खुमलटारको अध्यक्षले बालुवाटारको अध्यक्षलाई प्रस्ताव पठाउनुभयो भोलि भेटौं भनेर। त्यसपछि आजको भेट स्थगित भएको हो,' उनले भने। 

भेट स्थगित हुनुको कारण भने आफूलाई पनि जानकारी नभएको नेम्वाङको भनाई थियो।

मन्त्रिपरिषद पुनर्गठनमा सहमति जुटाउन भन्दै ओली प्रचण्ड निरन्तर छलफलमा रहे पनि सहमति जुट्न सकेको छैन। के कति मन्त्री फेर्ने भन्ने विषयमा टुंगो नलागेपछि मन्त्रिपरिषद पुनर्गठन पनि अनिश्चित बनेको हो। 

नेकपाको विवाद समाधानका लागि ओली-प्रचण्डले तयार पारेको प्रस्तावमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने उल्लेख छ। पार्टीको लामो समयको विवाद समाधान भए पनि मन्त्रिपरिषद पुनर्गठनमा अन्यौलता देखिएपछि फेरि नेकपा वृतमा संशय उत्पन्न भएको छ।

यद्यपि भर्खरै राष्ट्रिय सभा सदस्यमा मनोनित पार्टीका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटको आजबाट सर्वोच्चमा सुनुवाई हुँदैछ। यसै विषयको निर्णय कुर्न दुई अध्यक्षको भेटले केही समय 'ब्रेक' लिएको बताइन्छ।

ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रीहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड प्रायजसो मन्त्रीहरुलाई विदाइ गर्नुपर्ने पक्षमा छन्। पुनर्गठनको विषयमा स्थायी  कमिटी बैठकको स्पिरिटअनुसार ओली अघि बढ्न सहमत नभएपछि कुरा अड्किएको प्रचण्ड पक्षको बुझाई छ ।

भदौ २६ गते सम्पन्न स्थायी बैठकको म्यान्डेटअनुसार असोज ४ गते सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो।बैठकले अध्यक्षद्वयको सहमतिका आधारमा मापदण्ड तय गर्ने र सोही आधारमा नयाँ मन्त्री छनोट गर्ने टुंगो लगाएको थियो।

तर त्यसपछि मापदण्डबारे छलफल गर्न जुटेका ओली र प्रचण्ड आ-आफ्नो अडानमा कायम छन्। यसले गर्दा मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell