सन् २०१५ मा राजस्थान रोयल्सले पहिलो पटक आईपीएलमा लगातार तीन खेलमा जित निकालेको थियो। अहिले १३ औं संस्करणमा आइपुग्दा त्यसैलाई दोहोर्याउने दाउमा पुगेको छ यो टिम। यसअघिका दुई खेलमा राम्रो प्रदर्शन गर्दै हातबाट गइसकेको खेललाई समेत आफ्नो पक्षमा ल्याएको राजस्थानले आज कोलकता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ।
शारजहामा यसअघिका दुई खेलमा क्रमश २१६ र २२६ रन जोडेको राजस्थानले आज दुबइको ठूलो मैदानमा खेल्नेछ। अर्थात् राजस्थानलाई यसपटक रन जोड्न त्यति सजिलो हुनेछैन, जति यसअघि भयो। आज हुने खेलमा उनीहरुको स्पिनरको खेल जम्ने र ब्याट्सम्यानहरुलाई धौधौ पर्ने देख्न सकिन्छ। राजस्थानको मुख्य भारतीय बलर जयदेव उनड्कट यसअघिका दुवै खेलमा महँगा सावित भएका थिए। रणजी ट्रफीका सर्वाधिक विकेट लिने खेलाडी उनले पछिल्ला दुई खेलमा विकेट निकाल्न चाहिँ सकेनन्। अझ पञ्जाब विरुद्धको खेलमा त पुरा बलिङ नै गर्न पाएनन्। उनको स्थानमा वरुण आरोन हुन सक्छन्। तर, वरुणको विगत हेर्ने हो भने उनी पनि महँगा देखिन्छन्। या त बेन्चमा रहेका कार्तिक त्यागी र आकाश सिंह, के यी दुई मध्येबाट एकजना पर्लान त?
अर्कोतर्फ पहिलो खेलमै मुम्बइ इण्डियन्ससँग पराजय भोगेको कोलकताले हैदराबादमाथि ७ विकेटको सानदार जित निकालेको थियो। जसमा शुभमन गिलको त राम्रो पारी थियो नै इयोन मोर्गनले पनि राम्रो फिनिसिङ गराएका थिए। तर पछिल्ला खेलहरुमा सुनिल नारिनको प्रदर्शनलाई लिएर भने चित्त बुझाउन सक्ने अवस्था छैन।
त्यस्तै कुलदीप यादवको प्रदर्शन पनि कोलकताका लागि टाउको दुखाइ बन्नसक्छ। पहिलो खेलमा ३९ रन दिएर विकेट लिएका उनले हैदराबादविरुद्ध पनि विकेटविहीन रहन पर्यो। उनले २ ओभर बलिङ गर्दा विकेटविहीन रहे। यद्यपि, युवा खेलाडी वरुण चक्रवर्तीले अघिल्लो खेलमा विकेट लिँदै किफायत बलिङ गरेका थिए।
'हेड टु हेड' हेर्ने हो भने राजस्थानभन्दा केकेआर समान देखिन्छ। यी दुई टोलीबीचका २१ खेलमा दुवै टिमले समान १०/१० जित निकालेका छन् भने एक खेल नतिजाबिहीन भएको थियो। यद्यपि, पछिल्ला खेलहरुमा भने कोलकता हाबी भएको देखिन्छ। यी दुई टोलीबीच भएका पछिल्ला ५ खेलमा ४ खेल कोलकताले र १ खेल राजस्थानले जितेको छ।
आजको खेलमा राजस्थानका लागि कप्तान स्टिभ स्मिथबाहेक सञ्जु सेमसन र जोस बटलर महत्वपूर्ण बन्न सक्छन्। त्यस्तै, अलराउण्डरमा टम करण र श्रेयस गोपाल साथै बलिङमा जोफ्रा आर्चरको भूमिका महत्वपूर्ण हुनसक्छ। उता कोलकताका लागि जम्न नसकेका सुनिल नारेनसँगै आन्द्रे रसेल र सुभमन गिल महत्वपूर्ण बन्न सक्छन्।
आजको खेल दुबई इन्टरनेशनल स्टेडियममा पौने ८ बजे सुरु हुँदैछ। यहाँको मैदानमा जारी सिजन हालसम्म कुनै पनि टोलीले लक्ष्य पछ्याउन सकेको छैन्। बरु खेल सुपरओभरमा पुगेको थियो।
