PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लुटमा दाजुभाइदेखि बाबुछोरासम्मै : लुटेरै काठमाडौंमा २ रोपनी जग्गा, फेसबुके 'लभ'ले लहरो तान्दा गर्जिएको पहरो



सविन ढकाल

लुटमा दाजुभाइदेखि बाबुछोरासम्मै : लुटेरै काठमाडौंमा २ रोपनी जग्गा, फेसबुके 'लभ'ले लहरो तान्दा गर्जिएको पहरो

काठमाडौं : गोर्खाका दिनेश (परिवर्तित नाम)को मन मान्दै मानेन। सविना (परिवर्तित नाम)को फोटो देखेपछि लठ्ठै परेका थिए उनी। लगातार भेटुम् भन्दै सविनाको आग्रह गरेपछि के रोकिन्थे? सरकारले घोषणा गरेको लकडाउनले पनि मनको इच्छालाई दवाउन सकेन।

सविनालाई भेट्नका लागि नै गोरखाबाट काठमाडौं हान्निए। काठमाडौंसम्म लकडकाउनमा आइपुग्न सहज थिएन। त्यस्तैले झुटमुटको सहारा लिए। प्रशासनबाट लकडाउनमा हिँड्न पाउने पास मिलाएर आए काठमामाडौं।

साउन ६ गते उनी काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा पुगे। विदेशबाट फर्किएका धेरै दिन भएको थिएन। औलामा ‌औंठी, घाँटीमा सुनकै सिक्री। दिनेश गेष्ट हाउस आएपछि सविना पनि त्यही पुगिन्। एकदिन होटेलमा बसे दुवै।

उनीहरुबीच मनका कुरा साटासाट भए। सविनाले आफूलाई पैसाको केही समस्या भएको दिनेशलाई सुनाइन्। आफ्नो अंकलसँग केही डलर भएको र त्यो साट्दा फाइदा हुने समेत उपाय दिइन्। विदेशमा राम्रै कमाएर फर्किएका दिनेशले सविनाको कुरा नकार्न सकेनन्।

साउन ८ गते ३ लाख रुपैयाँ लिएर सविना र दिनेश भक्तपुरको बोडेमा पुगे। एक युवक पनि त्यहीँ आए। कपडामा बेरिएको डलरको बिटो दिनेशको हातमा धमाए। दिनेशले आफूसँग भएको ३ लाख रुपैयाँ त्यही युवकको हातमा दिए। त्यतिकैमा काम पर्‍यो भन्दै सविना र युवक निस्किए। यता दिनेशले डलरको बिटो फुकाउन भ्याएका थिएनन्।

जब दिनेशले डलरको बिटो फुकाए, उनको हंसले ठाउँ छोड्यो। त्यहाँ डलर होइन कागजमात्र थियो। सविनासँग सम्पर्क गर्न खोजे तर उनी सम्पर्कमा आइनन्। सविना र दिनेशको चिनजान पुरानो थिएन। गेष्ट हाउसको भेट नै पहिलो थियो। यसअघि केही समयमात्र उनीहरुबीच फेसबुकमा चिनजान भएको थियो। दिनेशलाई ठगिएको महसुस भयो। त्यसपछि उनी महानगरीय प्रहरी परिसर भक्तपुर पुगेर उजुरी दिए।

लहरो तान्दा पहरो गर्जियो

अशोज ९ गते एक व्यापारी पनि त्यसै गरी प्रहरी कहाँ पुगे। उनको पनि गुनोसो उस्तै थियो। तर, यहाँ युवती थिइनन्। भूकम्पमा पुरिएको डलर भेटिएको र त्यसलाई सस्तोमा साट्ने भन्दै लुटिएका थिए उनी। उनलाई पनि डलर साट्ने भन्दै सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटस्थित रोज भिलेज नजिकबाट ५ लाख रुपैयाँ लुट्दै लुटेरा फरार भएका थिए।

त्यसयता पनि प्रहरीमा डलर ठगीको उजुरी आइरहेको थियो। प्रहरीले अनुसन्धान जारी राखेको थियो। त्यही क्रममा भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ बाट प्रहरीले ८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लियो। अनुसन्धान गर्दा ३ जना प्रहरीको अनुसन्धान घेराबाट बाहिर परे। पाँच जनाको कनेक्सन भने डलर ठगीमा देखियो।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका १ बस्ने वर्ष ३६ वर्षीय खेलबहादुर तामाङ, रेलबहादुर तामाङ, श्यामबहादुर तामाङ, रामकृष्ण तामाङ र कान्छी तामाङ पक्राउ परे। नाइके देखिए खेलबहादुर तामाङ। दिनेशलाई गोर्खाबाट बोलाएर 'हनी ट्र्यापिङ'मा पारेर लुट्ने योजना उनैको थियो। उनलाई झुक्काएर बोलाउने युवती भने फरार छिन्। फेसबुक आइडी पनि नक्कली रहेछ जसमा दिनेश फसेका थिए।

'फेसबुकमा सुन लगाएको मान्छे देखपछि उनीहरुले युवती प्रयोग गरेर लुट्ने योजना बनाएको देखिन्छ। उनीहरु आफ्नो योजना अनुसार सफल पनि भएका छन्,' महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले भने।

उनीहरु पक्राउ परेपछि डलर देखाएर ठगी गर्ने रोकिएला भन्ने थियो। तर, त्यसो भएन। असोज १३ गते फेरि एक पुरुष आफू लुटिएको भन्दै प्रहरीकहाँ पुगे।

मंगलवार बिहान ७ बजेर ४५ मिनेटमा भक्तपुर नगरपालिका १० कमल विनायक बसपार्कमा दोलखा घर भई हाल सूर्य विनायक बस्ने एक व्यक्तिलाई डलर देखाउँदै ५ लाख रुपैंया लुटेका थिए। तर, प्रहरीले केही समयमा नै चाँगुनारायण नगरपालिका ८ रातोपाटीबाट दुई जनालाई नियन्त्रणमा लियो।

सिन्धुपाल्चोक बाह्रबिसेकाका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी पक्राउ परे। अनुसन्धान गर्दैजाँदा पछिल्लो समय पक्राउ परेका र उनीहरु एउटै गुटका भएका खुल्यो।

'यतिमात्र होइन, उनीहरुको समूहमा अझैं मानिस भएको देखिएको छ। थप खोजी गर्दैछौं,' प्रहरी निरीक्षक बुढाथोकीले सुनाए।

लुटेर नै दुई रोपनी जग्गा

डलर देखाएर लुटेको अभियोगमा समातिएका खेलबहादुर तामाङ लामो समयदेखि ठगी धन्दामा लागेको खुलेको छ। खेलबहादुरलाई २०६४ चैतमा काठमाडौं परिसरले पक्राउ गरेको थियो। उनलाई अदालतले पूर्पक्षको लागि थुनामा पनि पठाएको थियो। यही घटनामा उनकी दिदी समेत समातिएकी थिइन्। तर, उनी धरौटीमा छुटिन्। खेलबहादुरको पनि जेल बसाई लामो भएन। एक वर्षछि १२ लाख रुपैयाँ धरौटी बुझाएर उनी पनि निस्किए।

तर, सुधारगृहको बसाइले उनको व्यवहार सुध्रिएन। फेरि उही पुरानै ठगी धन्दामा लागे। उनीमात्र होइन, उनका भाइ पनि यही धन्दामा। ९ गते समातिएका रेलबहादुर तामाङ उनका आफ्नै भाइ हुन्। खेलबहादुरले लेटेको पैसाले नै काठमाडौंमा जग्गा किनेको देखिएको छ। गोकर्णेश्वरमा उनले २ रोपनी ४ आना जग्गा किनेका छन्।

'तीन वर्षअघि जग्गा किनेको देखिएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेका छौं,' निरीक्षक बुढाथोकीले भने।

प्रहरीले नियन्त्रणमा लिएका ५६ वर्षीय श्यामबहादुर तामाङ र रामकृष्ण तामाङ पनि बाबुछोरा भएको खुलेको छ। उनीहरुले यसरी लुटेको पैसा भने मोजमस्तीमा नै उडाएको प्रहरीलाई बताएका छन्।

कहाँ कहाँ लुटियो?

उनीहरुले अहिलेसम्म ७५ लाख रुपैयाँ भन्दाबढी लुटेको उजुरी परिसकेको प्रहरीले जानकरी दिएको छ। त्यस्तै, देशका विभिन्न ठाउँबाट पीडितले प्रहरीलाई सम्पर्क गर्नेगरेको प्रहरीले बताएको छ। साउन ८ गते भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा ९ बोडेमा तीन लाख रुपैयाँ, साउन १९ गते भक्तपुर मध्यपुर थिमिमै चार लाख रुपैयाँ, भदौ ३१ गते भक्तपुर मध्यपुर थिमि नगरपालिको बोडेमै पाँच लाख रुपैयाँ, अशोज ६ गते बोडेमा ९ लाख ८० हजार रुपैयाँ, अशोज १३ गते भक्तपुर नगरपालिका १० कमलविनायक बसपार्कमा पाँच लाख रुपैयाँ, भदौ ३१ गते दोखामा १६ लाख रुपैयाँ लुटिएको देखिएको छ।

त्यस्तै, एक वर्षअघि २०७६ कार्तिक २ गते काभ्रेपलान्चोकको बनेपाबाट ११ लाख रुपैयाँ लुटिएको थियो। सोही समूहले २०७३ भदौ १३ गते धादिङ नौविसमा तीन लाख रुपैयाँ र २०७२ असोज १० गते काभ्रेपलान्चोकको पाँचखालबाट ८ लाख रुपैयाँ लुटिएको उजुरी परिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell