काठमाडौं : रुपन्देहीमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइनसेसमा उपचारका क्रममा कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको छ।
असोज ६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएका कपिलवस्तु बुद्धभूमि १ का ५० वर्षकी महिलाको उपचारको क्रममा बुधवार बिहान ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। संक्रमित महिलामा मधुमेह र उच्च रक्तचापको समस्या रहेको उल्लेख छ। योसँगै कपिलवस्तुमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या १२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसैबीच रुपन्देहीमै रुपन्देहीकै देवदहका एक पुरुषको पनि मृत्यु भएको छ। देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
असोज ११ गते अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा उपचारका लागि भर्ना भएका उनको बुधवार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।
अस्पतालमा भर्ना भएका उनको ११ गते नै कोभिड-१९ को परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएसँगै उनलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो।
उनमा मिर्गौला र रगतमा समस्या रहेको अस्पतालले जनाएको छ।
