PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

मिडियाप्रति प्रधानमन्त्री ओलीको गुनासो : यसो छोयो कि बुरुक्क उफ्रिहाल्ने!



पहिलोपोस्ट

मिडियाप्रति प्रधानमन्त्री ओलीको गुनासो : यसो छोयो कि बुरुक्क उफ्रिहाल्ने!

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखेका छन्। भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधवार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताएका हुन्।

उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए। सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए। सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले भने, ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भनेपनि छुट पाइन्छ, सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन। एकदम सेन्सेटिभ नी। एसो छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने। करेन्ट लागेजस्तो। अलि अगाडि म सँग सञ्चारकर्मीहरु सम्पादकहरु भेटनुभयो। तर, उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो। मैले भने तपाईहरुलाई दिनरात गालि गर्दा हुन्छ, मैले अलिकति भने भनेँ तपाईहरु दिनरात गालि गर्ने मैले किन यसो गर्‍यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो?’

त्यस्तै, ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानुनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानुन अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गरे।

प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताए। बाकसमा रहने भ्यागुताको उदाहरण दिँदै उनले कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृति रहेको बताए। प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाए। बोर्ड गठन नहुँदा सम्म अन्य कुनै सरकारी संयन्त्रबाट बिज्ञापन बजारको नियमन गरिने गरिने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell