इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न भएको खेलमा राजस्थान रोयल्समाथि कोलकता नाइट राइडर्सले सानदार जित निकालेको छ। दुबइ इन्टरनेसनल स्टेडियममा भएको खेलमा कोलकताले ३७ रनको सानदार जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कोलकताका शुभमन गिल र इयोन मोर्गन चम्किँदा कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।
कोलकताका लागि शुभमन गिलले सर्वाधिक ४७ रन जोड्दा इयोन मोर्गनले अभिजित ३४ रन, आन्द्रे रसेलले २४ तथा नितिश रानाले २२ रन जोडे।
उता राजस्थानका लागि जोफ्रा आर्चरले किफायती बलिङ गर्दै २ विकेट लिए। त्यस्तै अङ्कित राजपुत, जयदेव उनदकट, टम करण राहुल तेवातियाले समान १/१ विकेट लिए।
१७५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राजस्थानको ब्याटिङ लाइन जम्न सकेन। निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै राजस्थान १३७ रनमा समेटियो।
राजस्थानका लागि टम करनले सर्वाधिक ५४ रन बनाउँदा जोस बट्लर २१ रनमा पभेलियन फर्किए। त्यस्तै राहुल तेवतियाले १४ रन जोड्दा अन्य ब्याट्सम्यानको प्रदर्शन संझनयोग्य रहेन।
राजस्थानलाई सस्तैमा समेट्न शिभम माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले समान २/२ विकेट लिए। त्यस्तै कुलदीप यादव, सुनिल नारेन र प्याट कमिङ्सले १/१ विकेट लिए।
जारी सिजन समान तीन/तीन खेल खेलेका यी दुई टोलीमध्ये राजस्थानको यो पहिलो हार हो भने कोलकताको दोस्रो जित हो। कोलकताको खेल हेर्न बलिउड अभिनेता समेत रहेका टिमका मालिक शाहरुख खान स्टेडियममा पुगेका थिए।
