PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

शौंचकै चिन्ताले टुटाएको मास्टरी (ब्लग)



पहिलोपोस्ट

शौंचकै चिन्ताले टुटाएको मास्टरी (ब्लग)

  • डिल्लीराम लम्साल (सुबास) -

पहिला देखि नै एकैठाउँ नअडिने मान्छे म। तर, यो पटक भने केही असहज लागेको थियो। भोलि जागिर नपाइएलावा भविष्य अन्धकार बन्ला भनेर पटक्कै होइन। समाजको डर थियो। छँदाखाँदाको जागिर छाडेर सत्तरी पुगेको बुढो बाउलाई दु:ख दिएको आरोप सहनु पर्ला भनेर। कुलंगार सन्तानको पगरी भिर्नु पर्ला भनेर।

‘बुद्धि बिग्रियो कि खुस्किन आँटिस केटा! बैंकको जागिर छाडेर जिन्दगी बर्बादै गर्ने भइस्। अब के गर्छस्? कि फेरि त्यतै दक्षिणतिरै केटाकेटी पढाएर बस्छस्?’

यस्ता प्रश्न सुनिरहँदा मैले भने मुस्काएरै टार्न खोजेँ। किनकि मलाई जागिर छाड्नुको कुनै पश्चाताप थिएन। बरू स्कुलको प्रसङ्ग उप्कदा भनेमन कताकता धमिलिएझै लाग्यो।

+++

काठमाडौंमा मार्केटिङको काम गर्थें। चकलेटको बट्टा र रजनीगन्धाका प्याकेट झोलामा राखेर बालुवाटारदेखि चाबहिल, चाबहिलबाट जोरपाटीसम्म। त्यहाँदेखि गोकर्णसम्म पैदल गरेर पैसा कमाउँदै थिएँ। जुन आफ्नो खाजा खर्चका लागि समेत पर्याप्त थिएन। जिन्दगी निराश लाग्दै थियो। आजित भएर राजधानी छाड्ने निर्णय गरेँ।

लक्ष्मण सिंहसँग मित्रता जमेको थियो। उनको पान पसलमा रजनीगन्धा पुर्‍याउन जान्थेँ। उनीसँगै आफ्नो दु:ख पोखेँ –‘लक्ष्मणजी काठमाडौँ नफाप्ने भो यार। दिदीकोमा बस्नु अनि चकलेट र गुट्खा बेचेर आफैँलाई नास्ता खान पैसा नहुनु। साह्रो अप्ठेरो लाग्न थालो।‘

‘मेरो गाउँ जानुस् न त उतै पढाउनुस्,’ लक्षमणले ठट्यौली पारामा भनेका थिए।

उनको ठट्टामा मैले भने वास्तविकता कल्पिएँ।गम्भीर भएर जवाफ फर्काएँ, ‘ल हुन्छ जाने भएँ। ठेगाना दिनुस्।‘

लक्ष्मणले खुकुरी चुरोटको स्टील पेपर पछाडि आफ्नो गाउँको नाम र कुनै राजिव यादव नाम गरेको व्यक्तिको फोन नम्बर लेखेर मलाई दिए।

सोही दिन बेलुकी कोठामा आएर सोच्न थालेँ।

‘अँ त्यता त जाउँला तर मास्टर्स पढ्न पाउँछु कि पाउन्न? कलेज छ छैन?’

अर्को मनले भन्यो, 'आ... जेसुकै होस् एकचोटि पुग्छु!’

+++

राजदेवी यातायातको पछिल्लो सिटले मलाई नै आमन्त्रण गरेझैँ लाग्यो। असारको महिना भए पनि दशैँमा घर जान हिँडेको भिडजस्तै देखिने गरी खाँदिएका थिए यात्रुहरू।

एउटा सिटको कुनामा गएर बसेँ। छेवैमा बस्ने नौजवान घरीघरी खैनी झिक्थे। दुई हातले प्याट्ट-प्याट्ट पारेर उडाएका खैनीको धुलोले हाच्छ्यु आएर हैरान पार्‍यो। सिंगान बग्यो। कसैले नदेख्ने गरी बसका पर्दाहरूले पुछेर सपक्क बनाएँ।

ठ्याक्कै चार बजेपछि राजिव सरसँग भेट भयो। उनीसँगको भेट पछि मैले स्कुलमा काम गर्ने टुंगो लाग्यो। केही दिनमै काम थालेँ। तर, त्यहाँको रहनसहन मेरा लागि निकै नौलो थियो।

हरेक बिहान जुरूक्क उठेर खेतबारीतिर लाग्नु, शौंचका लागि। निकै अस्वभाविक थियो त्यो। मानिसहरूको पछिपछि लाग्दा मलाई साह्रै अप्ठ्यारो हुन्थ्यो। आफैँले खुला ठाँउ दिसा पिसाब गर्नुहुँदैन भनेर दिएको शिक्षालाई बिहानपख गलहत्याएर खेतका डिलबाट खसक्क खसाल्नुपर्दा मलाई नै कुरीकुरी लाग्थ्यो।

एकदिनको रोचक अनुभव। दिउँसै पेट काट्यो। खेतमा पुग्दासम्म पाइन्टबाट छिर्ला कि भन्ने डर भयो। स्कुलपछाडिको पोखरीको डिलमा बसेँ। आरामको सास के लिएको थिएँ, अघिल्लतिरबाट आफैँले पढाएका विद्यार्थीको फौज आयो,फसाद पर्‍यो। भाटेका पातले पुछपाछ पारी आधा दिसा च्यापेर जुरूक्क उठेँ।

हुन त सदरमुकामतिरको हालत पनि त्यही नै त थियो। 'खुला दिशामुक्त क्षेत्र’ लेखिएको टिनका पाता ढालेर त्यसैमाथि झाडी गाडेर शौचालय बनाइएछ। बाटो हिँड्दा कुनै द्वन्द्वग्रस्त देशमा हिँड्नुभन्दा कम थिएन बम-बारूदको डरले सम्हालिनु नपरे पनि मानव थाप्रोहरूबाट जोगिएर हिँड्नु नै पर्‍यो।

एक साता नबित्दै मलाई आफैले लिएको जिम्मेवारीबाट कसरी पन्छिने भन्ने चिन्ताले सताउन थाल्यो। आएको एकै हप्तामा कसरी राजिनामा दिने?

लक्ष्मणको विश्वास तोड्ने आँट गर्न सकिँन। फेरि एकहोरो बनेर कुरा गर्ने सोच बनाए र भनिदिएँ, ’सर म यता बस्न सक्दिँन झापा जान्छु भोलि।'

राजिव सरले बस्न नसक्नुको कारण सोधेँ। सँगै मलाई सत्य कुरा बताउन कुनै अप्ठ्यारो भएन ।

‘सर इक्जाम गराएर गइदिनुस् न। त्यतिबेलासम्म केटाकेटीलाई हेरिदिनुस्। हुन्छ?’ मीठो मधेशी लवजका साथ गरेको आग्रहलाई मैले नकार्न सकिँन तर परीक्षा सकिनासाथ म सर्त बमोजिम त्यहाँबाट हिडेँ।

आज पनि राजिव सरले मलाई फोन गर्नुहुन्छ। भन्नुहुन्छ : सर अहिले गाउँमा सबैले शौचालय बनाएका छन्। अब यता फिर्ने कि?

यत्ति मात्रै सुन्न पाउँदा नि खुशी लाग्छ मलाई। अब कसैले पाइन्टमा दिसा च्यापेर भाग्नुपर्दैन होला। महिलाहरूका लागि पनि अवस्था केही सहज बन्यो होला। उनीहरू नि अब निर्धक्क शौच गर्न जान्छन् होला। डराउनु पर्दैन होला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell