PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

इजरायली श्रम बजार नेपालीका लागि खुला, 'एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स'सँगै श्रम सम्झौतामा हस्ताक्षर



पहिलोपोस्ट

इजरायली श्रम बजार नेपालीका लागि खुला, 'एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स'सँगै श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं : नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बुधवार नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाली राजदूत शाक्यले इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको जानकारी दिइन्। मसाभ इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था हो।

नेपालको तर्फबाट हस्ताक्षर गर्न असोज ११ गते बसेको मन्त्रिपरिषद्ले राजदूत शाक्यलाई अनुमति दिइसकेको थियो।

गत मंसिरमा मसाभ प्रमुख गील हासकेलको टोली नेपाल भ्रमणमा आएको थियो। पाँच दिने भ्रमणका क्रममा टोलीले प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीलगायतसँग भेट गरेको थियो।

विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो। मसाभले नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट गरी सरकारसँग सम्झौताका लागि प्रक्रिया अघि बढाएको थियो। राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै यो विषयमा निरन्तर पहल गरेको र आज सफलता प्राप्त गरेको जानकारी दिइन्।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने शाक्यको भनाई छ। ‘कृषि प्रधान देश नेपालका लागि यो ठूलो उपलब्धि हो,’ राजदूत शाक्यले भनिन्, ‘यो सम्झौतासँगै अब स्वदेश र विदेश दुबैमा नेपाली युवाका लागि रोजगारीका अवसर प्राप्त हुनेछन् भने नेपाललाई कृषिमा आत्मनिर्भर हुन यो प्रविधि हस्तान्तरले ठूलो योगदान दिने अपेक्षा छ।’

उनले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरेको जानकारी दिइन्।

त्यसैगरी बुधबार नै नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ मा हस्ताक्षर सम्पन्न भएको छ। सो सम्झौतामा पनि राजदूत शाक्य र इजरायली परराष्ट्र मन्त्रीले नै हस्ताक्षर गरेका छन्। योसँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयर गिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने छ।

दूतावासले कार्यान्वयन चरणमा गएलगत्तै प्रत्येक क्षेत्रका लागि श्रमिक भर्नाको प्रक्रिया सुरु हुने पनि जानकारी दिएको छ। त्यसका लागि पनि छिट्टै सम्झौता हुने दूतावासले जानकारी दिएको छ।

राजदूत शाक्यले यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति भएको भन्दै पहिलो क्षेत्रका रुपमा ईजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी र त्यसका लागि छिट्टै सम्झौता हुने जानकारी दिएकी छन्।

राजदूत शाक्यका अनुसार नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो काठमाडौंमा छिट्टै हस्ताक्षर हुने र त्यसको केही महिनाभित्रै पहिलो चरणमा करीब बढी नेपालीहरु ईजरायल जान सक्नेछन्।

सम्झौतामा हस्ताक्षर हुनुअघि राजदूत शाक्य र इजरायलका परराष्ट्र मन्त्रीबीच द्विपक्षीय भेटघाट भएको थियो। भेटमा दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा चर्चा भएको थियो।

भेटका क्रममा मन्त्री अस्केनाजीले नेपालको संविधान दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै यो महामारी पछि छिटै नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको इजरायल भ्रमण हुने विश्वास व्यक्त गरेका थिए।

राजदूत शाक्यले नेपाल र इजरायलबीच उच्चस्तरीय भ्रमण तथा सीधा हवाई उडानको आवश्यकता औंल्याएकी थिइन्। उनले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकहरुका लागि इजरायलको कृषि, निर्माण लगायतका रोजगारीका क्षेत्रहरु पनि खुला गर्न आग्रह गरेकी थिइन्।

त्यसैगरी उनले विभिन्न विधामा विधार्थीहरुका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य, शिक्षा, उर्जा,पर्यटन, उद्यमशीलता विकास, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि जोड दिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell