किङ्स ११ पञ्जाबले अझै मनन गरिरहेको होला कि राजस्थान रोयल्ससँगको खेलमा पञ्जाब कहाँ हार्यो? २२४ रनको लक्ष्य उच्च दिएको थियो पञ्जाबले। तर पनि खेलमा पराजित हुन पुग्यो।
त्यस्तै अवस्था रह्यो मुम्बइ इण्डियन्सको पनि। आफ्नो पक्षमा परिसकेको जस्तो देखिएको खेलमा पनि बराबरी खेल्दै सुपर ओभरमा पुगेर बेङ्लोरसँग हार ब्यहोर्नु पर्यो। यी दुवै खेलमा पराजय भोगेका मुम्बइ इण्डियन्स र किङ्स ११ पञ्जाब आज प्रतिस्पर्धा गर्दैछन् शेख जायद स्टेडियम अबुधावीमा।
यी दुई टोली आईपीएलको बेस्ट ब्याटिङ लाइन भएका टिममध्येका हुन्। र दुबैको कमजोरी भने बलिङमा देखिन्छ। इएसपिएन क्रिकइन्फको विश्लेषणलाई आधार मान्ने हो भने डेथ ओभर एट्याकमा पञ्जाबको सबैभन्दा फितलो प्रदर्शन देखिन्छ।
आज साँझ पौने ८ मा सुरु हुने खेलमा दुबै टिम जित निकाल्दै अघिल्लो खेलमा ब्यहोरेको हारको नोक्सानलाई कटौति गर्ने लक्ष्यका साथ उत्रने छन्।
साबिक विजेता मुम्बइले पहिलो खेलमा चेन्नइसँग पराजय भोगेको थियो भने दोस्रो खेलमा कोलकतालाई हराउँदै खेलमा पहिलो जित निकालेको थियो। यद्यपि तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरसँग सुपरओभरमा पराजित भयो।
अर्कोतर्फ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपरओभरमा पराजय भोगेको पञ्जाबले दोस्रो खेलमा बेङ्लोरलाई हराउँदै पहिलो जित निकालेको थियो। तेस्रो खेलमा भने राजस्थान रोयल्ससँग पराजित भएको थियो।
पञ्जाबमा आज क्रिस गेलले मौका पाउने सम्भावना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनले अवसर पाए ग्लेन म्याक्सवेल या निकोलस पुरनमध्ये कसैको सट्टा स्थान बनाउने छन्। पञ्जाबका कप्तान लोकेश राहुल जारी सिजनमा राम्रो लयमा देखिएका छन् भने मयंक अग्रवालले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। उता बलिङमा सेल्डन कट्रेल, मोहम्मद समीलगायत रवि विस्नोइ र मुरुगन अश्विनमा पञ्जाव निर्भर रहने देखिन्छ।
हालसम्म यी दुई टिमबीच २४ प्रतिस्पर्धा भएका छन् जसमा मुम्बइले ११ खेल र १३ खेल पञ्जाबले जितेका छ्न्। यी टिमबीचको पछिल्ला पाँच खेलहरुमा मुम्बइले तीन खेल जितेको छ भने पञ्जाबले २ खेल जितेको छ।
