PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

क्यानले क्रिकेट खेलाडी वर्गीकरणबारे आवश्यक छलफल गरी प्रतिवेदन बोर्डमा लैजाने



पहिलोपोस्ट

क्यानले क्रिकेट खेलाडी वर्गीकरणबारे आवश्यक छलफल गरी प्रतिवेदन बोर्डमा लैजाने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को असोज ६ मा चितवनमा बसेको बैठकले खेलाडी करारसम्बन्धी महत्वपूर्ण निर्णय गर्‍यो। जसमा पुरुष र महिला दुवैतर्फ करार गराउने निर्णय गरेको थियो। तर यो निर्णय चाँडै आलोचित हुन पुग्यो।

'सेन्ट्रल कन्ट्र्याक्ट'मा रहने पुरुष खेलाडीको ए ग्रेडको ५० हजार, बी ग्रेडको ४० हजार, सी ग्रेडको तीस हजार प्राप्त गर्ने र महिलातर्फ ए, बी र सी ग्रेडमा रहने खेलाडीहरुले क्रमश १५, १२ र १० हजार प्राप्त गर्ने निर्णय बैठकले गरेको थियो। महिला क्रिकेटहरुले करार विभेदपूर्ण भएको गुनासो गरेका थिए भने पुरुषतर्फ पनि खेलिरहेका खेलाडी ग्रेडिङमा नपरेको या तलमाथि भएको भनेर आलोचनाहरु सुनिएका थिए।

यसअघि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले वर्गीकरणबारे पुनर्विचार गर्न आग्रह गरेको थियो।

सिप्यानले तीनवटा विषयमा ध्यानकर्षण गराइएको थियो। जसमा पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर वर्गीकरण गर्नुपर्ने, विभेदको अनुभुति हुने वातावरणलाई निरुत्साहित गर्दै जानुपर्ने र खेलाडीको दुर्घटना बिमा लगायतको सन्दर्भमा संघको कदम सरहानीय भएको यद्यपि यसको दायरा फराकिलो बनाउनु पर्ने आवश्यकता औल्याइएको थियो।

यसै अन्तर्गत क्यानले टिमका कप्तान, उपकप्तान र प्रशिक्षक प्रशिक्षकसँग छलफल गरेर आएको सुझावको आधारमा प्रतिवेदन बनाएर बोर्डमा पेश गर्ने क्यानले जनाएको छ।

'क्यानद्वारा रोशनकुमार सिंहको संयोजकत्वमा संघका केन्द्रीय सदस्यहरु अमितबिर पाण्डे र दुर्गाराज पाठक सदस्य रहने गरी बनाएको खेलाडी वर्गीकरण निर्धारण समितिले असोज ६ गते चितवनमा सम्पन्न बोर्ड बैठकमा १८ जना पुरुष र १९ जना महिला खेलाडीलाई वर्गीकरण गर्दै बोर्ड बैठकमा पेश गरेको र उक्त वर्गीकरणलाई बोर्ड बैठकले नै पारित गरेको थियो, ' क्यानको विज्ञप्तिमा भनिएको छ, 'तर उक्त वर्गीकरणमा केही महत्वपूर्ण खेलाडीहरुको नाम छुट्न गएको र वर्गीकरण न्यायोचित नभएको भनि खेलाडीहरुले गुनासो गर्दै संघमा निवेदन आएकोमा यसप्रति संघको गम्भीर ध्यानकर्षण भएको छ।'

क्यानले वर्गीकरणमा औल्याइएको कमजोरीबारे ध्यानकर्षण भएको भन्दै सम्बन्धितहरुसँगको समन्वयमा प्रतिवेदन बनाएर बैठकमा पेश गर्ने जनाएको छ।

क्यानको विज्ञप्तिमा अगाडि लेखिएको छ : संघले पुन खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गरी सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेश गर्न अनुरोध गरिएको जानकारी गर्न चाहन्छौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell