PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री ओलीसामु किन निर्विकल्प हुन् युवराज खतिवडा? वाध्यता र परिबन्धको यस्तो छ साङ्लो



नेत्र तामाङ

प्रधानमन्त्री ओलीसामु किन निर्विकल्प हुन् युवराज खतिवडा? वाध्यता र परिबन्धको यस्तो छ साङ्लो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको निगाहमा दोस्रो पटक अर्थमन्त्री बनेका डाक्टर युवराज खतिवडा यस्ता चामत्कारिक व्यक्तित्व भएका प्रतिभा हुन् जसले १५ दिनको अन्तरमा दुईवटा पद पाए। सिंगो नेपाल कम्युनिस्ट पार्टीभित्र अर्थशास्त्री र प्राज्ञहरुको चरम अभाव छ भन्ने यसले पुष्टि पनि गरेको छ। किनकि प्रधानमन्त्रीको नजरमा दलमा खतिवडा जति विलक्षण प्रतिभाका धनी कोही छैन।

मन्त्रिपरिषदको बैठकमा सूचीकृत नै नभएको विषय थियो - प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार। सरकारका प्रवक्ताले मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउँदा ओली क्याबिनेटका मन्त्रीहरुले पनि थाहा पाए - मन्त्रिपरिषदले डाक्टर खतिवडालाई प्रधानमन्त्रीका सल्लाहकार बनाइसकेछ। प्रधानमन्त्रीको चाहना हो, मन्त्रीहरु बोल्नसक्ने अवस्था रहेन।

भदौ ३० गते सरकारका प्रवक्ताले मन्त्री सरह हैसियतमा खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएको सुनाए। सल्लाहकार बनाएको १५ दिनपछि मन्त्रिपरिषदले फेरि आज अर्को सिफारिस गर्‍यो - डाक्टर खतिवडा अमेरिकाका राजदूत। पद लोलुपताको कुनै सीमा हुँदैन। सधैं आफ्नो स्टाटसलाई 'क्लिन' राख्न चाहने खतिवडा पनि नेपालभित्रको यो रोगबाट अछुतो रहेनन्। नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थमन्त्री अनि अब राजदूत। एक पद सकिँदा अर्को पदको पत्र बुझ्न पाउने उनीजति क्षमतावान यो मुलुकले पाउन सकेको छैन।

पार्टीमा अक्षमहरुको भिड

एक पद एक व्यक्तिको सबैभन्दा चर्को नारा कतै लाग्छ भने नेपालभित्र चाहिँ त्यो नेकपाभित्रै हो। व्यवहारमा लागू कति छ नखोतलौं। डाक्टर युवराज खतिवडाको पटक पटकको नियुक्तिले उजागर गरेको पक्ष चाहिँ विद्वत वर्गको नेकपामा खडेरी नै छ भन्ने हो। होइन भने, पार्टी नेतृत्वले भनेपछि ताली ठोक्ने हैसियतभन्दा माथि नेता र कार्यकर्ता उक्लिन पाउँदैनन् भन्ने हो।

त्यसो त नेकपा सरकारले जे निर्णय गर्छ त्यसलाई प्रवर्द्धन हुने गरी पृष्ठभूमि तयार पार्न कार्यकर्ता र पार्टी पत्रकारहरु जुटिहाल्छन् नेपालमा। नेतृत्व सत्य हो, बाँकी सब गौण। नेकपामा अहिले यो स्थापित तथ्य हो। पार्टीले उर्दी नै गरेको छ - सरकारका आलोचना गर्न नेता कार्यकर्तालाई निषेध छ। कदम् कसैले यसको वर्खिलाप गरेमा कारवाहीको भागी हुन तयार हुनुपर्छ। यसको अर्थ हो - भोलिका दिनमा सम्भावित पदका लागि अयोग्य ठहर्नु।

यही मनोदशाबाट गुज्रिएकाले हुनुपर्छ विवेकशील लाग्ने नेकपाका कार्यकर्ताको मुखमा ठेली कोचिएको छ, आँखामा पट्टी बाधिँएको छ, श्रवणशक्ति पनि गुमेको छ। मौनता उनीहरुका लागि वाध्यकारी बन्धन बनिसकेको छ। शीर्ष तहको आलोचना गर्ने अधिकारबाट बञ्चित छन् उनीहरु। यसर्थ विद्यालयदेखि विश्वविद्यलयसम्म संगठन बनाएर हिँड्नेहरु, पार्टीमा आस्था राख्ने क्षमतावान विज्ञहरु पनि अक्षम घोषित हुन पुगेका छन्।

प्रचण्ड र माधव नेपालको बन्धनमा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउने हैसियत नेकपाभित्र कसैमा छैन। डाक्टर खतिवडा सधैं सर्वेसर्वा रहिरहे। प्रधानमन्त्री ओलीको नजरमा मुलुकको बेडा पार लगाउनेअरु कोही नभएपछि खतिवडाको विकल्प खोज्नु आफैमा दुत्साहसपूर्ण निर्णय हुनसक्थ्यो। राष्ट्रिय सभामा सांसद बनाएर ल्याएपछि २ वर्षे लामो चिठ्ठे कार्यकाल अर्थमन्त्री रहे उनी। त्यसपछि मन्त्रीबाट ओलीकै रणनीति अनुसार राजीनामा दिए। त्यसपछि ६ महिना उनी अर्थमन्त्री रहिरहे, संचार मन्त्रालय पनि सम्हाले।

ओलीलाई खुशी बनाए पनि मुलुकको आर्थिक स्वास्थ्य सुधार्न खतिवडाका पेब्स्क्रिप्सन फितलो रह्यो। अग्लो कद र खाइलाग्दो ज्यानले मुलुकको आर्थिक हैसियत सुधारिन्थ्यो भने, खतिवडाको विकल्प कहिल्यै सोच्न पर्दैन थियो। निजी क्षेत्रप्रति अनुदार र ओलीका आशयहरुमा निर्धक्क आँखा चिम्लिने कार्यशैली खतिवडाको पीएचडीभन्दा बलियो हतियार बन्यो। सम्भवत अब राजनीतिमा पद चाहनेले कुनै राम्रा विश्वविद्यालयमा अनुसन्धान होइन, चाप्लुसी, चाकडी र मालिकको सेवा गर्ने क्षमता हासिल गरे पुग्छ।

प्रधानमन्त्रीको खतिवडाको मोहबाट आजित भएका पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालका लागि यसपालाको निर्णय भने केही राहत दिलाउनेखालको हुनुपर्छ। खतिवडालाई आउट गराउने यी दुई नेताको खेलले एक किसिमको निर्णायक मोड लिएको छ यतिखेर। मन्त्रीको हैसियतमा रहेका खतिवडा अब परराष्ट्र मन्त्रालयका सह सचिवलाई रिपोर्ट गर्नुपर्ने तहमा झरेका छन्। सत्तामा हुने उलटपुलटले कुनै पनि दिन खतिवडालाई 'किक आउट' गर्न सक्ने आशा उनीहरुमा हुनुपर्छ। त्यसैले ओलीमाथिको आशिंक विजयका रुपमा माधवकुमार नेपाल र प्रचण्ड दुवैले लिनसक्ने देखिन्छ।

सचिवालय सन्तुलनमा सजिलो विकल्प

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल केही समय यता मौन देखिएका थिए। खतिवडालाई सचिवालयमा स्वागत गर्ने औपचारिकता निभाए पनि विशेष आर्थिक सल्लाहकार नियुक्ति उनकालागि प्रितकर विषय थिएन। मन्त्रीको हैसियतमा रहेका प्रधानमन्त्रीको दाहिने हात भएर भूमिका निर्वाह गर्नुको अर्थ उनले बुझेका छन्। खतिवडालाई सल्लाहकारको हैसियतमा ल्याउने तयारी हुँदा राजनीतिक वृत्तमा अमेरिकाको राजदूतमा रिमालको नाम चर्चामा रह्यो। यसमा रिमालको रुची थियो या थिएन, भन्न सकिन्न तर उनलाई व्यवस्थापन गर्न ओलीसामु यो एउटा महत्वपूर्ण विकल्प चाहिँ थियो।

आजको मन्त्रिपरिषद बैठकले खतिवडालाई अमेरिकी राजदूत बनाउन सिफारिस गरिसकेपछि राजनीतिक सल्लाहककार विष्णु रिमालसँग जोडिएर हुने परिचर्चाले तत्कालका लागि पूर्णविराम पाएको छ। साथै, सल्लाहकार नियुक्त गरिसकेको व्यक्तिलाई हटाउनुभन्दा अझ महत्व दिए झै राजदूत बनाउनुले ओलीप्रति खतिवडाको निष्ठा कायमै रहने स्थिति पनि बनेको छ।

कर्मकाण्डी संसदीय सुनुवाई लगायतका प्रकृया पूरा भएपछि नेकपाका निर्विकल्प रहेका डाक्टर युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत हुनेछन्। त्यहाँ रहेर उनले एमसीसी लगायत नेपालमा सुल्झन बाँकी नै रहेका केसहरु सुल्ट्याउनुपर्ने छ। र, फेरि नेकपामा विज्ञ र प्राज्ञिक क्षमता भएका छैनन् भन्ने स्थापित गरिरहनुपर्ने छ। किनकि उनको सिफारिससँगै सामाजिक सञ्जालमा मानिसहरुले प्रश्न गर्न थालेका छन् - राजदूतको कार्यकाल पूरा भएपछि उनले कुन पद पाउने होलान्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell