PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

वीर अस्पताल प्रकरण : विवादमा तानिएकाले पहिलो पटक कोभिड १९ संक्रमितको पोष्टमार्टम, बाहिरी शरीरमा देखिएन चोट



पहिलोपोस्ट

वीर अस्पताल प्रकरण : विवादमा तानिएकाले पहिलो पटक कोभिड १९ संक्रमितको पोष्टमार्टम, बाहिरी शरीरमा देखिएन चोट

काठमाडौं : नेपालमा पहिलो पटक विवादमा आएको मृत्यु भएका कोभिड १९ संक्रमितको पोष्टमार्टम भएको छ। असोज ३ गते वीर अस्पतालमा उपचारका क्रममा ६३ वर्षीय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका रामलखन जयसवालको शवको पोष्टमार्टम भएको हो। त्रिवि शिक्षण अस्पताल टिचिङमा उनको पोष्टमार्टम भएको हो।

उनी ज्यान मार्ने मुद्दामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गर्दै थिए। असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा स्वास्थ्यमा समस्या देखिएपछि जयसवाललाई वीर अस्पताल लगिएको थियो। तर, अस्पताल नपुग्दै उनको मृत्यु भएको थियो। शवको स्वाब लिएर कोभिड १९ परीक्षण गर्दा परिणाम पोजेटिभ देखिएको थियो।

तर, उनका परिवारले जयसवालको मृत्युमा नै शंका लागेको भन्दै विरोध जनाएपछि उनको पोष्टमार्टम गर्नुपरेको थियो। विभिन्न सामाजिक सञ्जालमा शवबाट आँखा झिकिएको, घाँटी काटिएको जस्ता भ्रमपूर्ण कुरा आएपछि अस्पताल र कारागारले पत्रकार सम्मेलन गरेर घटना भ्रामक भएको जानकारी दिएका थिए।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले मृत्युपछि आवश्यक तापक्रम भएको कोठामा नराख्दा शरीर सडेको बताएका थिए।

केन्द्रीय कारागार सुन्धाराले घटना भएकोदेखि कारागारबाट निस्कदै गर्दाको कैद सीसी क्यामरा फुटेजसमेत सार्वजनिक गरेको थियो। त्यसपछि पनि परिवारले घटनामा सन्देह जनाएपछि पोष्टमार्टम गरिएको हो।

'पोष्टमार्टम रिपोर्ट आइसकेको छ। केही शंकास्पद देखिएन। परिवारले शव समेत बुझेर अन्त्येष्टि गरिसकेका छन्,' केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले भने।

पोष्टमार्टम रिपोर्ट आइसकेपछि मृतका आफन्तले शव बुझेका छन्। उनीहरुले बुधवार नै नेपाली सेनाको टोलीले अन्त्येष्टि गरेको छ। 'फरेन्सिक रिपोर्ट आइसकेको छैन। एक्स्टर्नल रिपोर्ट आएको छ भन्नुभयो। त्यहाँ हेर्दा शरिरको बाहिर चोट पटक छैन भनिएको छ। अब फरेन्सिक रिपोर्ट कुर्दै छौं,' मृतककी छोरी रागिनी जैसवालले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell