PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बेथाले च्यापिसक्यो, पीसीआर परीक्षणका लागि अस्पताल र ल्याब चहार्दै गर्भवती



प्रकाश भण्डारी

बेथाले च्यापिसक्यो, पीसीआर परीक्षणका लागि अस्पताल र ल्याब चहार्दै गर्भवती

'अहिले पीसीआर गर्नु पर्दैन। पछि एकै पटक गरौंला, चिन्ता नगर्नुस्,' २६ वर्षकी महिला स्वास्थ परीक्षण गराउन पाटन अस्पताल पुग्दा त्यहाँका चिकित्सकले सल्लाह दिन्थे।

परिवारलाई चिन्ता हुन्थ्यो - एक त उनी गर्भवती, त्यसमाथि कोरोना संक्रमण भए के गर्ने?

संक्रमण भए पनि लक्षण नदेखिएसम्म ठुलो असर नहुने डाक्टरको सल्लाहले चिन्ता केही समय दुर हुन्थ्यो।

शिशु र महिलाको स्वास्थ्य ठीकठाक। त्यसैले परिवार ढुक्क र गर्भवती महिला खुसी थिइन्। संक्रमणबाट बच्न सम्भव भएसम्मका सबै उपाय अपनाएकै थियो परिवारले।

नियमित फलो-अपमा थिइन् गर्भवती।

अस्पतालकै सल्लाहअनुसार उनी सोमवार पाटन गइन्-डेलिभरीको दिन।

डेलिभरीअघि संक्रमणबारे जानकारी लिनु अनिवार्य नै थियो, डाक्टरका लागि। आकस्मिक अप्रेसन गरिहाल्नुपर्ने अवस्था थिएन।

संक्रमणबारे पत्ता लगाउन 'सार्स सोओभि टु एन्टिजिन टेस्ट' गर्‍यो अस्पतालले। लक्षण नदेखिएको र घरबाहिर हिडडुल नगरेकाले संक्रमण छैन होला भन्ने आशा थियो परिवारलाई।

तर, नतिजा भने उनीहरुको आशा विपरित नै आयो, सार्स सिओभि टु- पोजेटिभ।

त्यसपछि अस्पतालले तत्काल डेलिभरी गर्न मानेन। कारण, सम्भावित संक्रमितको सूचीमा थिइन् उनी। तर, संक्रमण भएकै हो भन्नेमा भने अस्पताल ढुक्क भएन। पीसीआरको रिपोर्टले मात्रै संक्रमण भए नभएको निर्क्यौलमा पुग्ने अडानमा रह्यो अस्पताल।

स्वाब संकलन भयो पीसीआरका लागि। केही दिनमा रिपोर्ट आउने र त्यतिन्जेल पर्खुनपर्ने डाक्टरको सल्लाहपछि गर्भवती महिलालाई लिएर आफन्त फर्किए। कोठा जान उपयुक्त देखेनन् परिवारले। बरु नागार्जुनमा रहेको एउटा खाली घरलाई होम क्वारेन्टाइन बनाए गर्भवतीलाई राख्न। कोठामा गए गर्भवती महिलाबाट परिवारमा संक्रमण हुने डर थियो उनीहरुलाई। संक्रमणको शंका परिवारलाई भइसकेकै थियो एन्टिजिनको रिपोर्टले।

अस्पतालबाट घर फर्काउँदा चिन्ता भो- केही गरी आकस्मिक डेलिभरी गर्नुपरे के गर्ने? आशा पनि थियो अस्पताले डेलिभरी केस भएकाले पीसीआरको नतिजा  तत्काल निकाल्छ। तर उनीहरुले आशा गरेअनुसार तत्काल नतिजा निकाल्ने सुरसार गरेन अस्पतालले। बरु उनीहरुलाई तीन दिनअघि केही गरे पनि नतिजा नआउने जनायो अस्पतालले।

पाटनको रिपोर्ट पर्खिनुभन्दा डेलिभरीको दिन पनि बितिसकेकाले निजी अस्पतालमा पीसीआर गराउने निर्णयमा पुग्यो उनको परिवार। सरकारी अस्पतालमा पीसीआरको नतिजा आउन ढिला हुने। त्यसैले निजी अस्पताल पर्‍यो रोजाइमा।

बिध ल्याबमा सोमवार दिएको स्वाबको नतिजा मंगलवार आयो। संक्रमण भएकै होला भन्नेमा पुगेका परिवारका हातमा एन्टिजिन टेष्ट नतिजाको विपरित रिपोर्ट हात पर्‍यो। 'उता एन्टिजिनमा पोजेटिभ आउँदा पीसीआर गरेपछि त नेगेटिभ आयो,' ती महिलाका देवरले भने।

कोभिड-१९ को नेगेटिभ रिपोर्ट हात परेपछि उनीहरु ढुक्क देखिए अब अस्पतालले सुत्केरी गराउनेमा।  

परिवारलाई लागेको थियो- सरकारले मान्यता दिएका जुनसुकै ल्याबको रिपोर्ट मान्य हुन्छ र यहीँ रिपोर्टका आधारमा अस्पतालले डेलिभरी हुन्छ।

तर, त्यसो भएन। बुधवार बिहान फेरि पेट दुखेपछि आफन्तले हतारहतार अस्पताल पुर्‍याए, डेलिभरी गराउन भन्दै।

अस्पतालले पनि तत्कालै डेलिभरी वार्डमा भर्ना गर्‍यो। त्यसअघि गर्नुपर्ने तयारीमा लाग्यो अस्पताल। रगत जाँच इत्यादिका काम सकिसकेको थियो। तर, एक्कासी अस्पतालले डेलिभरी रोक्यो।

तत्काल उनको डेलिभरी गर्न नसकिने जवाफ दियो परिवारलाई। डेलिभरी वार्डबाट जेनरल वार्डमा सारिदियो, गर्भवतीलाई।

किनकी उनको पाटनमा गरिएको पीसीआरको रिपोर्ट आएकै थिएन। बिधमा गरिएको परीक्षणको रिपोर्टलाई मान्यता दिएन पाटनले। उसले आफ्नो अस्पताल बाहेको रिपोर्टमा शंका गर्‍यो।  र, ढुक्क हुन सकेन नेगेटिभ नै हो भन्नेमा।

'सबै तयारी भइसकेको थियो। डेलिभरीका लागि औषधि दिने बेलामात्रै अस्पतालले जेनरल वार्डमा पठायो,' ती महिलाका देवरले भने।

अस्पतालले निजी अस्पतालको परीक्षणमात्रै अस्वीकार गरेन उनको सोमवार नै लिएको स्वाबको नमुनासमेत क्यान्सिल गरिदियो।

'पहिलाको स्वाब त डाक्टरले होल्डिङमा राखिदिएका रहेछन्। बुधवार रिपोर्ट आउनुपर्ने आएन। अस्पतालले फेरी शुक्रवार नमुना दिनुपर्छ भनेको छ। त्यसको पनि रिपोर्ट आउन ३ दिन लाग्छ रे,' गर्भवती महिलाका देवरले भने।

नर्मलबाहेकको डेलिभरी अबको कम्तीमा एक हप्ता नगर्ने जानकारी गरायो अस्पतालले। अस्पतालको ढिलासुस्तीले चिन्ता चुलिँदै थियो। तत्कालै स्वास्थमा जटिलता आए के गर्ने? अस्पतालले त्यतिबेला पीसीआरको रिपोर्ट कुर्‍यो भने झनै जटिलता हुनेमा त्रसित थिए, आफन्त। बरु महिलालाई पीसीआरको रिपोर्ट नआउन्जेल भन्दै आइसोलेसनमा राख्यो। परिवार रणभुल।

निजी र सरकारी जुनसुकै ल्याबमा पीसीआर गरे पनि हुने भन्ने जानकारी पाएका उनीहरु आफ्नो अनुरोध अस्पतालले नसुनेको गुनासो गर्छन्। 'एक त गर्भवती महिला। अर्कोतिर सबै तयारी भइसकेपछि तपाइको अहिले गर्न मिल्दैन भन्दा कस्तो पीडा हुन्छ होला,' गर्भवती महिलाका देवरले भने। परिवार सरकारले सबै ल्याबलाई मान्यता दिएकोमा निजीको रिपोर्ट सरकारीले नमानेकोमा आक्रोशित छन्। 'कि त निजीलाई मान्यता नै दिनु भएन। दिएको हो भने कहाँ भनिएको छ सरकारीले निजीको नमान्ने र निजीले सरकारीको नमान्ने? ,' परिवारको प्रश्न छ।

गर्भवती महिलाका देवर अस्पतालले जानाजान आफूहरुलाई दु:ख दिएको आरोप लगाउँछन्। 'कि त अस्पतालले सुरुमै भन्नुपर्थ्यो बाहिरको रिपोर्ट मान्य हुदैन। हामीले परीक्षण गरेपछि  मात्रै हुदैन भन्ने? यो त अस्पतालले दु:ख दिने काम गर्‍यो,' उनले भने। डेलिभरीका लागि  डेट पुगिसकेको भएकाले दिनभर नै परिवारले सुत्केरी गराइदिन अस्पताल प्रशासनलाई आग्रह गरे। तर सुनेन अस्पतालले। दिनभरको आइसोलेसन बसाइपछि अबेर साँझ परिवारले निजी अस्पताल गुहारे। सुमेरु अस्पालले उनलाई डेलिभरीका लागि भर्ना लियो। हाल उनी सुमेरुको डेलिभरी युनिटमा छिन्।

पाटनले किन देखाएन त डेलिभरी डेट चुकेकी महिलालाई सुत्केरी गराउन चासो?

अस्पतालको धारणा यस्तो

अस्पतालले बिध ल्याबको रिपोर्टमा शंका लागेकाले पुन: परीक्षण गर्न भनेको बताएको छ। बिध ल्याबको पीसीआरको गुणस्तरबारे प्रश्न उठेकाले ढुक्क हुन नसकेको पाटन अस्पतालका कार्यकारी निर्देशक डा. रवि शाक्यले बताए। उनले पीसीआरमा ढिलाई गर्नु अस्पतालको नियत नरहेको बताए।

'नियतबस हामीले पीसीआरमा ढिलाई गरेका होइनौं। कहिलेकाही टेक्निकल प्रोब्लम भइदिन्छ। अर्कोतिर हामीकहाँ १ सय ८० को मात्रै क्षमता छ र नमुना धेरै आइदिन्छ। त्यसले पनि ढिला हुन्छ, ' उनले भने। उनले दैनिक १५ देखि २० जनाको डेलिभरी गराइरहेको र डेलिभरी गर्दा अस्पतालमा लापरवाही नगरेको दाबी गरे।

एन्टिजिन टेष्ट गरेपछि पीसीआर गर्नु नपर्ने भए पनि नेपालमा एन्टिजिन स्वीकृत भइनसकेकाले पीसीआर अनिवार्य गरिएको शाक्यको भनाई छ। एन्टिजिनमा पोजेटिभ आएमा पीसीआर गर्ने र नेगेटिभ आएमा गर्नु नपर्ने ब्यवस्था गरेको उनको भनाई छ। 'नेपालमा हाल प्रक्रियामै छ। त्यसैले यसैको परीक्षणबाट निर्णय गर्न मिल्दैन। नेगेटिभ आए पीसीआर गर्दैनौं पोजेटिभ आएमा भने अनिवार्य पीसीआर गरिरहेका छौं,' उनले भने।

के भन्छ सरकार?

पाटन अस्पतालले निजिकालाई मान्यता नदिरहँदा सरकारले भने निजी तथा सरकारी अस्पतालको पीसीआर रिपोर्टको मान्यता एउटै हुने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजीको रिपोर्ट मान्दिन भनेर सरकारी अस्पतालले भन्न नपाउने बताए।

तर, कुनै ल्याबको रिपोर्टमा शंका गर्न भने अस्पताललाई छुट भएको उनको भनाई छ। तत्काल उपचार गरिहाल्नुपर्ने बिरामीको निजी अस्पतालको रिपोर्ट मान्दिन भन्नु सरासर गलत भएको उनको भनाई छ। 'अस्पतालले शंका गर्न पाउँछ तर त्यही आधारमा उपचार नै रोक्न भने पाउँदैन, ' उनले भने।

पाटनले गरेको एन्टिजिन टेस्टबारे पनि गौतमले अनिविज्ञता प्रकट गरे। नेपालमा एन्टिजिन टेस्टको मान्यताका लागि प्रक्रियामा रहेको गौतमले बताए। 'हुन त डेलिभरी यस्तो केसमा नै हो एन्टिजिन टेस्ट गर्नुपर्ने। तर हालसम्म त प्रक्रियामा नै छ,' उनले भने। उनले सरकारले तत्काल उपचार गर्नुपर्ने बिरामीको अस्पतालले विभिन्न प्रक्रिया देखाएर दु:ख दिन नुहुने बताए। 'मैले बारम्बार लाइभमा पनि भनेको छु, तत्काल उपचार गर्नुपरे पीसीआर भनेर नै पर्खनु हुँदैन उपचार गरी हाल्नुपर्छ। मान्छेको ज्यान बचाउनु ठुलो कुरा हो,' उनले भने।

एन्टिजिन गरे पीसीआर गर्नु पर्छ कि पर्दैन?

गर्भवती महिलाको पाटन अस्पतालले एन्टिजिनमा कोभिड-१९ पोजेटिभ देखिए पनि आफू ढुक्क नभएको भन्दै पीसीआरलाई मात्रै अन्तिम मान्ने निर्णय गर्‍यो। तर चिकित्सक भने एन्टिजिन परीक्षणपछि पीसीआरको जरुरी नहुने धारणा राख्छन्। सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन एन्टिजिनबाट पनि पीसीआरको जस्तै भाइरसकै परीक्षण गर्ने भएकाले पीसीआरको जरुरत नहुने तर्क गर्छन्।

एन्टिजिन परीक्षण सजिलो र छिटो गर्न सकिने भएकाले हाल यसबारे चर्चा भएको र विभिन्न देशमा यसको प्रयोग भइरहेको उनको भनाई छ। 'एन्टिजिनबाट पनि भाइरसकै परीक्षण हुने हो। पीसीआरको जरुरत पर्दैन। पीसीआर गर्न समय पनि धेरै लाग्ने र अलि अप्ठेरो पनि हुने भएकाले एन्टिजिन परीक्षण गर्ने भनिएको हो,' उनले भने। पीसीआरको जस्तै एन्टिजिन पनि सय प्रतिशत नै विश्वसनीय भने नभएको उनको भनाई छ।

तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम चिकित्सकलाई शंका लागेमा जस्तो सुकै परीक्षण गरिएपनि अर्को परीक्षण गर्न सक्ने तर्क गर्छन्। 'डाक्टरलाई शंका लाग्यो भने एन्टिजिन पछि जुनसुकै परीक्षण पनि गर्न सक्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell