PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कोभिड-१९ अपडेट: ५७ जिल्लामा थपिए संक्रमित, बागमती प्रदेशमा मात्र ११०६ जना, रुपन्देही र सुनसरीमा ३/३ मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ अपडेट: ५७ जिल्लामा थपिए संक्रमित, बागमती प्रदेशमा मात्र ११०६ जना, रुपन्देही र सुनसरीमा ३/३ मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का थप संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालमा भएको १२ हजार ४४४ नमुना परीक्षणका क्रममा ६२८ महिला र एक हजार २८३ पुरुष गरी एक हजार ९११ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। २४ घण्टामा भएको कुल परीक्षणको १५.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा ७९ हजार ७२८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

हाल संक्रिय संक्रमित संख्या २१ हजार ८३० पुगेको छ।

काठमाडौं उपत्यकामा थप ९४३ जना संक्रमित

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जुन देशभर पुष्टि भएका संक्रमितको ४९.३४ प्रतिशत हो।  

जसमध्ये काठमाडौंका ८१७ जना छन्। काठमाडौंमा २७२ महिला र ८४५ पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुर जिल्लाका ३० महिला र ३८ पुरुष गरी ६८ जना र भक्तपुरका २६ महिला र ३२ पुरुष गरी ५८ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

बागमतीमै ११०६

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये बागमती प्रदेशमा मात्र एक हजार १०६ जना छन्। पछिल्लो १४ घण्टामा नेपालमा संक्रमण पुष्टि भएको संख्याको ५७.८७ प्रतिशत हो।

बागमती प्रदेशका १२ जिल्लामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। संक्रमण पुष्टि हुनेमा उपत्यकाका ९४३ सहित चितवनका ३७ महिला र ४९ पुरुष गरी ८६ जना छन्।

त्यस्तै सुदुरपश्चिम प्रदेशमा १९३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशका ६ जिल्लामा थप संक्रमित पहिचान हुँदा कैलाली जिल्लामा मात्र १६१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये ३७ महिला र १२४ पुरुष हुन्।

त्यस्तै प्रदेश १ मा १८५ जना थप संक्रमित पहिचान भएका छन्। संक्रमण पहिचान भएका ८ जिल्लामध्ये मोरङका ३९ महिला र ६६ पुरुष गरी १०५ जना र सुनसरीका १८ महिला र ४८ पुरुष गरी ६६ जना छन्।

प्रदेश ५ का ९ जिल्लामा थप १५८ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये सबैभन्दा धेरै रुपन्देहीका ३१ महिला र ६० पुरुष गरी ९१ जना छन्।

प्रदेश २ का ८ वटै जिल्लामा १४१ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै गण्डकीका ८ जिल्लामा ७४ र कर्णालीका ६ जिल्लामा ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कहाँ कति मृत्यु?

पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ११ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। जसमध्ये बागमती र प्रदेश ५ का ४/४ जना र प्रदेश १ का तीन जना छन्। मृत्यु हुनेमा २७ वर्षका युवादेखि ८० वर्षका वृद्ध सम्म छन्।

संक्रमण पुष्टि भई मृत्यु हुनेमा काठमाडौंका ७८ र ६८ वर्षका पुरुष तथा भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षका पुरुष छन्।

त्यस्तै रुपन्देहीका ४२, ५५ र ८० वर्षका पुरुषको पनि मृत्यु भएको छ। प्रदेश ५ कै बाँकेकी ३४ वर्षकी महिलाको पनि मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। त्यस्तै प्रदेश १ को सुनसरीका तीन जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये २७ वर्षका युवा तथा ५० र ५६ वर्षका पुरुष छन्। योसँगै नेपालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ५०९ पुगेको छ। जुन कुल संक्रमितको ०.६५ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell