PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

दोलखाका शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्देशन



रासस

दोलखाका शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्देशन
फाइल फोटो।

दोलखा : जिल्लामा कोरोनाको लक्षणसहितका संक्रमित फेला परेपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीवारदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ। जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र  सेमिनार पनि गर्न पाइने छैन।

कोरोना संक्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि केन्द्रले गरेको छ। प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका अध्यक्ष रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा  सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्ने बताए।

बैठकले कोरोनाको संक्रमण देखिएका स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ। खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न गराउन निषेध गरिएको छ।

मठमन्दिर, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा दैनिक नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन। बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापारव्यवसायअन्तर्गतका स्थानमा स्वास्थ्य मापदण्डविपरीत हुने क्रियाकलाप गर्न रोक लगाइएको छ।

त्यस्तै, चाडपर्वलगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट पनि गर्न पाइने छैन। उद्योग, व्यापार, व्यवसाय, निर्माणलगायत कार्य पनि स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत गर्न पाइने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell