काठमाडौं : म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरी बिक्री गर्ने पसल संचालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कलंकी र बाफल क्षेत्रमा सञ्चालित दुई पसलमा म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ म्याद राखेर बिक्री गरेको पाइएपछि गोदाम सिल गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका १४ कलंकी लिङ्करोडमा रहेको आयन डिस्ट्रिब्युटर्स प्रालि र बाफलमा रहेको उक्त कम्पनीको गोदाम सिल गरिएको छ। सोही नजिक रहेको एमेजोन डिस्ट्रिब्युटर्स प्रालिमा समेत सिल गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा झापाको चन्द्रगढि नगरपालिका घर भई हाल पुतलीसडक न्यूप्लाजा बस्ने वर्ष ६३ की पुष्पादेवी अग्रवाल, भारतको राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नम्बर १३ घर भई हाल बाफल बस्ने आयन डिस्ट्रिब्युटर्सका सञ्चालक वर्ष ३५ का रौनक बोथ्रा, रौतहटको गौर नगरपालिका वडा नम्बर ३ मजकुटिया घर भई हाल बल्खु बस्ने वर्ष २७ का मुन्ना ठाकुर, उनका भाइ वर्ष २७ का पप्पु कुमार ठाकुर रहेका छन्।
त्यस्तै, महोत्तरीको भग्राम नगरपालिका वडा नम्बर ४ बनरा घर भई हाल काठमाडौंको कपुरधारा बस्ने वर्ष ४३ का श्याम प्रसाद सिंह, धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ कल्लेरी घर भई हाल कुलेश्वर बस्ने वर्ष २६ का राम बहादुर बयलकोटी, धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ जल्केनी घर भई हाल कंलकी बस्ने वर्ष १८ का सिताराम उपरकोटी, धादिङकै सिद्धलेख गाउँपालिका वडा नम्बर ४ भेडावारी घर भई हाल बाफल बस्ने वर्ष २४ का दिलीप थापामगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरुलाई कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको छ। प्रहरीले बा २० च १०९, बा १६ च ५७०४ र बा १९ च ४९०५ नम्बरका गाडीहरु पनि नियन्त्रणमा लिएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र महानगरीय अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले शंकास्पद कम्पनी तथा गोदामहरु अनुगमन गरेको थियो। स्टिकर मेसिनद्वारा नयाँ म्याद लेभलिङ गरी खाद्यवस्तु बजारमा बिक्री गरी आम उपभोक्ताको स्वास्थ्यमा असर पार्ने कार्य भइरहेको सूचनाका आधारमा टोली अनुगमनमा निस्किएको थियो।
