PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

श्रीमानको अस्पतालमा मृत्युको खबर आउँदा घरमा श्रीमती पनि मृत, दुवै कोभिड १९ संक्रमित



सविन ढकाल

श्रीमानको अस्पतालमा मृत्युको खबर आउँदा घरमा श्रीमती पनि मृत, दुवै कोभिड १९ संक्रमित
फाइल फोटो

काठमाडौं : मंगलवार दिउँसो प्रहरीलाई एक महिला कोठाभित्र मृत अवस्थामा भएको भन्ने खबर आयो। जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली घटनास्थलतर्फ लाग्यो। दिउँसोको करिब साढे ३ बजेको थियो। घटनास्थल थियो- वीरेन्द्रनगर नगरपालिका ११।

प्रहरीसँगै स्थानीय जनप्रतिनिधि तथा छरछिमेकी समेत जम्मा भइसकेका थिए। कोठामा पुग्दा भित्रबाट चुकुल लगाइएको थियो। झ्यालहरु बन्द थिए। प्रहरी ढोका फोडेर कोठाभित्र छिर्‍यो। भित्र पुगेर हेर्दा एक ३५ वर्षीय महिला भुँइमा लडिरहेकी थिइन्। उनको मृत्यु भइसकेको रहेछ।

'हामी पुग्दा उनको मृत्यु भइसकेको थियो। त्यसपछि हामीले पोष्टमार्टमका लागि अस्पताल पठाएका थियो,' जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले भने।

भित्र कोठामा बत्ति बलिरहेको थियो। पंखा चलिरहेको थियो। तर, उनी भुँइमा लडेकी थिइन। शवलाई प्रदेश अस्पतालमा लगियो। कोभिड संक्रमणको आशंकामा पहिले अस्पताले स्वाब परीक्षण गर्‍यो। बुधवार उनको कोभिड १९ परीक्षण रिपोर्ट आयो। रिपोर्ट पोजेटिभ देखियो। कोभिड-१९ को संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृष बहादुर शाहीले जानकारी दिए।

उनी श्रीमान सहित ३ वर्षदेखि त्यहाँ डेरामा बस्दै आएकी थिइन्। उनको मृत्युको कारण कोभिड १९ नै भएको ठहरियो।

'घटनाको प्रकृति र स्थल हेर्दा अस्वभाविक अवस्था देखिएन। कोभिड देखिएकाले उनको मृत्यु त्यही कारणले हुनसक्ने देखिएको छ। थप अनुसन्धान गर्दैछौं,' डीएसपी धर्तीले भने।

उनका श्रीमानको पनि कोभिड १९ संक्रमणको कारण नै सोही दिन नै मृत्यु भयो। तर उनको उपचारकै क्रममा प्रदेश अस्पतालमा ज्यान गयो। 'हामी उनको मुचुल्का गरिरहेको समयमा श्रीमानको पनि मृत्यु भएको खबर आएको थियो। उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए। श्रीमतीमा पनि खोकी ज्वरो आएपछि केही दिनदेखि कोठामा नै बस्दै आएको सुनिएको छ,' वीरेन्द्रनगर नगरपालिका ११ का वडाध्यक्ष नन्दलाल शर्माले भने।

कोभिड संक्रमण नभएको भए यस्ता घटनामा पहिले पोष्टमार्टम गरिन्थ्यो। तर अहिले शंका लागेमा वा कसैले दवाव दिएमा पोष्टमार्टम गरिने गरिन्छ। असोज ३ गते वीर अस्पतालमा उपचारको क्रममा ६३ वर्षीय रामलखन जयसवालको मृत्युपछि परिवारले शंका गरेपछि पोष्टमार्टमको कुरा उठेको थियो। परिवारले जयसवालको मृत्यु नभएर हत्या भएको आरोप लगाएका थिए। त्यसपछि हत्याको कारण खोज्न पोष्टमार्ट गरिएको थियो। टिचिङ अस्पतालमा उनको पोष्टमार्टमा भएको थियो।

यससँगै कर्णालीमा कोभिड-१९ संक्रमण पुष्टि भएका मध्ये सात जनाको मृत्यु भएको छ। जसमध्ये सुर्खेतका ३, दैलेखका ३ र डोल्पाका १ जना छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell