PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पछिल्लो ३ वर्षको काठमाडौं उपत्यकाको ट्र्याक रेकर्ड : प्रत्येक महिना ४ जनाको हत्या



पहिलोपोस्ट

पछिल्लो ३ वर्षको काठमाडौं उपत्यकाको ट्र्याक रेकर्ड : प्रत्येक महिना ४ जनाको हत्या

काठमाडौं : भदौको अन्तिम साता ४२ वर्षीय शम्भु महतो मारिए। कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा डेरा गरी बस्दै आएका उनलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ७ भाजंगलका आफ्नै घरवेटी प्रेमकृष्ण महर्जनले आग्लो प्रहार गरेर हत्या गरेका थिए।

घरभाडा र पानीको विषयमा मनमुटाव हुँदा महतोलाई घरबेटीले आग्लोले हानेर हत्या गरेका हुन्। प्रहरीले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ। हत्या अभियोगमा घरबेटी प्रेमकृष्ण सहित उनका दुई छोरा हिरासतमा छन्।

त्यस्तै, भदौ २६ गते (शुक्रवार) मध्यपुर थिमि नगरपालिका-९ स्थित निकोसेरामा एउटै घरभित्र तीन जनाको शव भेटियो। यो घटना पनि प्रहरीको अनुसन्धानमा नै छ। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त मृत अवस्थामा फेला परेका थिए। अहिले प्रहरीको प्रारम्भिक अनुसनाधानले घटना आफ्नै श्रीमान सुदीपले घटाएको देखाएको छ।

श्रीमती र छोराको हत्या गरेपछि उनले आत्महत्या गरेको संकेत प्रहरीको अनुसन्धानले गरिरहेको छ। पोष्टमार्टम रिपोर्टले पनि श्रीमती र छोरालाई टाउकोमा धारिलो हतियार प्रयोग गरेर मारेको देखाएको छ। श्रीमानको भने शरिरमा कुनै चोटपटक समेत देखिएको छैन। पेटमा बिष भएको आशंका गरिएको छ। घटनास्थलबाट बिषको बट्टा समेत फेला परेको छ।

यसरी हेर्दा भदौ महिनामा नै काठमाडौं उपत्यकाभित्र आङनै जिरिङ्ग गर्ने यस्ता जघन्य प्रकृतिका अपराध भइरहेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाभित्र महिनामा ४ जनाको हत्या हुने गरेको देखिन्छ। तीन वर्षको अवधिमा काठमाडौंमा १ सय ४८ जनाको हत्या भएको छ।

'धेरै घटनाहरु झैझगडा र आर्थिक कारणले गर्दा हुने गरेको देखिन्छ। केही घटनालाई केलाउँदा सामाजिक अपराध धेरै बढेको देखिन्छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेरबहादुर कडायतले भने।

आर्थिक वर्ष २०७४/७५ मा खुन डाका तथा कर्तव्य ज्यानमा ५३ जनाको हत्या भएको छ। त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा यो सङख्यामा बढोत्तरी भएको छ। यो समयमा ६० जनाले ज्यान गुमाए। त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा यो सङख्या झन्डै आधाले घट्यो। ३५ जनाले मात्र ज्यान गुमाउनु पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell