असोजको तेस्रो हप्ता, उपत्यकाका धानका फाँटहरुमा धमाधम धान काट्न शुरु भएको छ। काठमाडौंको साँखु क्षेत्रमा पनि यस्तो माहोल देख्न सकिन्छ। यस क्षेत्रमा आलु प्रशस्त उत्पादन हुने गर्छ।
त्यसैले धान भित्र्याएसँगै खेतमा आलु रोप्न शुरु गरेका छन् किसानले। खेत खन्दै, ड्याङ बनाउँदै, माटो मिलाउँदै किसान आलु रोप्न व्यस्त देखिएको दृश्य अहिले फाँटहरुमा देख्न सकिन्छ।
आलु लगाउने जमिनलाई राम्रोसँग खुकुलो बनाई डल्ला फुटाएर बुरबुराउँदो बनाइन्छ। त्यसमा मल मिलाएर हालेपछि लाइनसँगै आलूको बीउ रोप्ने गरिन्छ। यसो गर्दा उत्पादन धेरै हुने किसानहरु बताउँछन्।