काठमाडौं: भारत सरकारले नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामुलक संघ संस्थालाई ४१ वटा एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरेको छ।
महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा दुर्गममा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो।
विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्नका लागि भारतले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ।
सन् १९९४ देखि आजसम्म राजदूतावासमार्फत भारतले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ। राजदूतावासले यो वर्ष तीन प्रकारका एम्बुलेन्स प्रदान गरेको छ। यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएको दूतावासले जनाएको छ।
एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि सुविधा छन्।
आज ६ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बस गरी हालसम्म भारतले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ।
