PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

साढे दुई वर्षपछि बल्ल नाम र राजधानी पाउँदै प्रदेश ५ : लुम्बिनी प्रदेश, देउखुरी राजधानी



कुञ्जरमणि भट्टराई

साढे दुई वर्षपछि बल्ल नाम र राजधानी पाउँदै प्रदेश ५ : लुम्बिनी प्रदेश, देउखुरी राजधानी

काठमाडौं : प्रदेश ५ ले साढे दुई वर्षपछि नाम र राजधानी पाउने भएको छ। आज आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा प्रदेशको नाम र प्रदेशको राजधानी प्रस्ताव पेश गरेका छन्।  

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव संसदमा पेश भएको छ। नाम भने लुम्बिनी प्रदेश प्रस्ताव भएको छ। कार्यसूचीमै नभए पनि आज उक्त प्रस्ताव पेश गरिएको हो। प्रस्ताव पेश गरेसँगै काँग्रेसका सांसदहरुले विरोध गरेका छन्। राजधानीका रुपमा प्रस्ताव गरिएको देउखुरी दाङको राप्ती गाउँपालिका, गडवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदीको किनारको समथर भाग हो।

प्रस्तावमाथि सोमवार बस्ने प्रदेश सभाको बैठक छलफल हुनेछ। छलफलमा सहभागी हुन चाहने सांसदले बैठक शुरु हुनु एक घण्टा नै नाम टिपाउन भनिएको छ। अघि यसअघि बसेको प्रदेश सरकारको बैठकले संसदमा पेश गर्ने निर्णय गरेको थियो। 

भोलिको नेकपा प्रदेश संसदीय दलको बैठकमा पनि यसबारे छलफल हुने नेकपाका प्रदेशसभा सदस्य दधीराम न्यौपानले बताए। 'प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरीको रुपमा प्रस्ताव आएको छ। प्रदेश सभामा छलफल हुन्छ। संशोधन प्रस्ताव पनि आउलान्। यस विषयमा नेकपा प्रदेश संसदीय दलले भोलि बैठक बसी निर्णय गर्छ,' प्रदेश सभाका सदस्य न्यौपानेले भने।

प्रदेश नम्बर पाँचको राजधानी  दाङ तोक्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति गरी तल परिपत्र गरेका थिए। स्थायी राजधानी  दाङ बनाउन ओली र प्रचण्ड सहमत भएका हुन्।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन। रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभामा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell