काठमाडौं: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने निर्णयबिरुद्ध परेको मुद्दा फेरि हेर्दा हेर्दैमा राखेको छ। अब अर्को सुनुवाइ असोज २१ गते हुनेछ।
अदालतको संवैधानिक इजलासमा भएको सुनुवाई आज पनि नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वरप्रसाद खतिवडा रहेका थिए।
गौतमको पक्षमा एकोहोरो बहस भएको र बहस नसकिएकाले अर्को सुनुवाई बुधवारका लागि सारिएको छ। गत बुधबार हेर्दा हेर्दैको अवस्था रहेको रिटमा आजका लागि सुनुवाई गर्ने मिति तोकिएको थियो।
गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भइ पराजित गौतमलाई उही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने रिट निवेदकहरुको जिकिर छ।
यसअघि एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो।
