PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

आइसोलेसनमा भर्ना हुन आएका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु



फूलमाया पुरी

आइसोलेसनमा भर्ना हुन आएका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु

विराटनगर : कोभिड आइसोलेसनमा भर्ना हुन आएका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै ज्यान गएको छ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको  आइसोलेसनमा भर्ना हुन आएका दुई संक्रमितको एम्बुलेन्समै मृत्यु भएको कोभिड आइसोलेसन इन्चार्ज सुनिल देवले बताए।

इन्चार्ज देवका अनुसार सिरहा र सुनसरीका संक्रमित पुरुषहरुको एम्बुलेन्समै मृत्यु भएको  हो।

सिरहाका ५४ वर्षीय पुरुषमा बिहिवार संक्रमण देखिएको थियो। ती पुरुषमा स्थानीय गाउँपालिकाले गरेको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको थियो। त्यसैले गाउँपालिकाकै समन्वयमा थप उपचारका लागि विराट मेडिकल तथा शिक्षण अस्पतलाको कोभिड आइसोलेसनमा आएका थिए। तर एम्बुलेन्समै मृत्यु भएको देवले बताए।

निमोनियाका कारण दुबै जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको उनले बताए।

‘निमोनिया बढी भएकाले श्वासप्रश्वासमा समस्या ती पुरुषमा कोरोना पोजेटी देखिएपछि यहाँ रेफर हुनुभएको थियो,’ देवले भने।

त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका खनारबाट आएका ९२ वर्षीय पुरुषको पनि एम्बुलेन्समै मृत्यु भएको हो। कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका ती वृद्धमा स्वास्थ्य समस्या बढेपछि कोभिड अस्पतालको आइसोलेसनमा बस्न आएका थिए।

मंगलवार नोबेल अस्पतालमा उपचार गर्न गएका ती वृद्धले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। बुधवार पीसीआर रिपोर्ट पोजेटीभ आएको र घरमै होम आइसोलेसनमा बस्ने वातावरण भएको भन्दै घर गएको पनि उनले जानकारी दिए। तर घरमा स्वास्थ्य अवस्था गम्भीर हुन थालेपछि शुक्रवार आइसोलेसन ल्याइएको आइसोलेसन इन्चार्ज देवको भनाई छ।

दम मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी ती वृद्धको पनि शुक्रवार दिउँसो एम्बुलेन्समै मृत्यु भएको उनले बताए।

सिरहा र सुनसरीका दुवै जना पुरुषको शुक्रावार करिब २० मिनेटको कोभिड आइसोलेसन अगाडि पुग्दा मृत अवस्थामा रहेको पाइएको थियो।

‘उहाँहरु दुवै संक्रमित भएपछि थप उपचारका लागि आइसोलेसनमा बस्न करिब १० देखि १५ मिनेटको फरकमा आउनुभएको थियो,’ उनले भने आइसोलेसन भर्ना हुनका लागि रिसिभ गर्न जाँदा मृत भइसकेको थियो।’

मृत्यु भएका संक्रमितको नियमअनुसार शव व्यवस्थापन हुने पनि उनले जानकारी दिए। त्यसैगरी आजै विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका १४ जतुवाकी एक महिलाको कोशी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरमा मृत्यु भएको उपचार केन्द्र संयोजक डा. दिपक सिग्देलले जानकारी दिए।

डा.सिग्देलकाअनुसार गत असोज ५ गते भर्ना भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भइ थप उपचारका लागि कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए।

उच्च रक्तचाप र मिर्गौलाका समस्या जस्ता दीर्घ रोगकी ती महिलाको शुक्रवार बिहान ११:५८ मा मृत्यु भएको डा.सिग्देलको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell