‘मलाई लाग्छ आउने सातदिनमा हामीले सबैभन्दा राम्रो ब्रेक पाउन सक्छौं। हामी साथीहरुलाई को कसरी खेलिरहेको छ र उत्कृष्ट संयोजन के हुन सक्छ भनेर खेलको बारेमा बुझाउनेछौं र एउटा स्पष्ट तस्बिरसँग फर्कने छौं।’ आईपीएलको जारी सिजनमा दोस्रो पराजय भोगेपछि कप्तान महेन्द्रसिंह धोनीले भनेका थिए।
पछिल्ला दुई खेलमा चेन्नइमा हार मात्रै भोगेको छैन आफ्नो क्षमताको भरपुर प्रयोग गर्न समेत सकिरहेको छैन। यद्यपि अंबाती रायडूको पुनरागमनले चेन्नइलाई धेरै हदमा सन्तुलित गर्ने छ। त्यस्तै स्पीनरहरुबाट अझै सन्तुलित बलिङको आवश्यकता चेन्नइलाई देखिन्छ।
अर्कोतर्फ सनराइजर्स हैदराबादले ब्याक टू ब्याक पराजयबाट सिजन सुरु गरेको थियो। पछिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई हराएर खेलमा फर्किएको हैदराबाद आज चेन्नइलाई हराउँदै आफ्नो लयमा आउन चाहन्छ। ब्याटिङमा केन विलियम्सन र बलिङमा राशिद खानको पछिल्लो खेलको प्रदर्शनलाई उत्साहजनक रुपमा हेर्न सकिन्छ।
इतिहासबाट केलाएर ल्याउने हो भने चेन्नइ हैदराबादमाथि हावि भएको देखिन्छ। यी टिमबीचको पछिल्ला ६ खेलमा चेन्नइले ५ खेलमा जित निकालेको छ। त्यस्तै कुल १२ खेलमा चेन्नइले ९ र हैदराबादले ३ खेल जितेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार चेन्नइबाट आज रायडू र ड्वेन ब्राभो चोटबाट मुक्त हुँदै आज खेलमा फर्कने छन्। रायडू फर्कनु भनेको या त मुरली विजयको स्थानमा हो या रुतुराज गाइक्वाडको स्थानमा। यसमा पनि पछिल्ला तीन खेलमा ३२ रन जोडेर संघर्ष गरिरहेका विजयको स्थानमा आउने सम्भावना अझ ठूलो देखिन्छ। त्यसो भए रुतुराजले ओपनिङमा आउने सम्भावना पनि रहन्छ। अथवा सेन वाट्सनसँग रायडूले नै पनि ओपनिङ गर्न सक्छन्। साम करनको प्रदर्शन राम्रो रहेकाले ब्राभो खेलबाहिरै रहने सम्भावना पनि छ।
अंकतालिकामा हैदराबाद र चेन्नइ क्रमश सातौं र आठौ स्थानमा छन्। दुवै टोली आजको खेल जितेर अंक तालिकामा माथि आउने प्रयासमा हुनेछ। खेल आज साँझ पौने ८ मा सुरु हुनेछ।
