PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सुदूरपश्चिम प्रदेशमा आज थपिए १२० कोरोना संक्रमित, कैलालीका मात्रै ९१ जना



एम बम

सुदूरपश्चिम प्रदेशमा आज थपिए १२० कोरोना संक्रमित, कैलालीका मात्रै ९१ जना

कैलाली : सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा सो सङ्ख्यामा संक्रमित थपिएका हुन्। जसमा कैलालीका मात्रै ९१ जना रहेका छन्।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ८२ जनाको कोरोना परीक्षण गर्दा थप ९७ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढी उप-महानगरपालिका ३६ जना, गोदावरी नगरपालिका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना, घोडाघोडी नगरपालिकाका चार जना र बर्दगोरिया गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनर्वास र झलारीका एक/एक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार दार्चुलाको ब्यासका थप एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

उता दार्चुला र बैतडीका थप १७ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४४ जनाको परीक्षण गरिएकोमा दुवै जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो।

दार्चुलाको महाकाली नगरपालिकाका ११ पुरुष र तीन महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै लेकम गाउँपालिका, बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ र सिगास गाउँपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठका अनुसार डोटीको सायल र आदर्श गाउँपालिकाका दुई/दुई जना र अछामको चौरपाटी र कमलबजारका एक/एक जनामा संक्रमण पुष्टि भएको हो।

डोटीमा पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण गरिएको थियो।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङ्ख्या सात हजार ६ सय ९० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell