PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

पहिरोले घर भत्किएपछि सुत्केरीको बास पौवामा, राहतमा पाएको खानाले चल्दैछ दैनिकी



रासस

पहिरोले घर भत्किएपछि सुत्केरीको बास पौवामा, राहतमा पाएको खानाले चल्दैछ दैनिकी
फोटो : रासस।

अर्घाखाँची : उन्नाइस दिनकी सुत्केरी २० वर्षीया विमला नेपालीले एक सातादेखि शितगङ्गा नगरपालिका­-१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरिरहेकी छिन्। यही असोज ९ गते दिउँसो घर पहिराले लगेपछि उनी बच्चालाई लिएर पौवामा बस्नु बाध्य भएकी हुन्।

‘बस्दै आएको घर पहिरोले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ। बच्चालाई जेनतेन स्याहार गरेकी छु’, उनले भनिन्, ‘आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरुले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो। पछि राहत आएपछि भात खान पाएको छु।’

उनी मात्र होइन, २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बसेकी छिन्। उनी पनि पहिरोले घर भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनुपरेको छ।

शितगङ्गा नगरपालिकामा जमीन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन्। उनीहरु पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। वडा नम्बर ११ र १२ मा पहिरो जाँदा झण्डै ३०० घर पहिरोको जोखिममा छन्। सो स्थानमा जमीन धुजाधुजा भएर फाटेको छ। नगरपालिका­ १२ कोठियामैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा त्यस क्षेत्रका ३०० घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए।

कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा चारैतिरबाट जमीन भासिएर पहिरो गएको वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरेले बताए। ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्णरुपमा भत्किएका र १३ घर पहिरोको उच्च जोखिममा छन् भने झण्डै २०० घर पहिरोको जोखिममा रहेका छन्। पहिरोको क्षतिको यकिन विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाइएको छ।

प्रजिअसहित सात जनालाई कोरोना संक्रमण पुष्टि

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख जिल्ला अधिकारीका सवारी चालक, सुरक्षा गार्ड, स्वास्थ कार्यालयका सूचना अधिकारी विजय बराललाई कोरोना देखिएको हो।

उनीहरुसहित एक सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए। यही असोज ६ गते परेको अबिरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद् व्यवस्थापन उद्वार राहत र पुनःस्थापनामा खटिएकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारीलगायत १० जनाको स्वाब गुल्मी प्रयोगशालामा पठाइएकामा सात जनामा कोरोना देखिएको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell