PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल भारतबीचको हवाइ उडान दसैँअघि नै खोल्ने तयारी, मन्त्रिपरिषद्को निर्णय कुर्दै मन्त्रालय



वसन्तराज उप्रेती

नेपाल भारतबीचको हवाइ उडान दसैँअघि नै खोल्ने तयारी, मन्त्रिपरिषद्को निर्णय कुर्दै मन्त्रालय
फाइल फोटो

काठमाडौँः चैत १० गतेदेखि भारतमा लकडाउन लागेपछि टुटेको भारतसँगको नियमित हवाई सम्पर्क झन्डै सात महिनापछि पुनः सुरु हुने भएको छ।

नेपाल-भारत नियमित उडान थाल्नेगरी आवश्यक तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार दसैँअघिबाटै दुईतर्फी हवाई उडान पुनः खुलाउने तयारी भएको छ।

करिब एक महिनाअघि नै भारतले दुईतर्फी उडान थाल्न प्रस्ताव गरेको थियो। त्यसयता नै दुईतर्फी उडान खुला गर्ने विषयमा छलफल सुरु भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए।

'भारत सरकारले प्रस्ताव गरे अनुसार हामीले दसैँ अगाडि दुईतर्फी उडान पुनः सञ्चालन गर्ने योजना बनाएका छौँ। यसका लागि क्याबिनेटमा प्रस्ताव पेश भइसकेको छ,' उनले भने। 

लकडाउनसँगै भारतले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको एक दिनपछि नेपालमा पनि लकडाउन सुरु भएको थियो। त्यसयता दुई देश आवतजावत गर्ने हवाई र सडक सम्पर्क दुवै बिच्छेद भएको थियो।

प्रतिबन्धअघि नेपाल-भारत चार गन्तव्यमा दुई नेपाली वायुसेवा कम्पनी र तीन पाँच भारतीय वायुसेवाले उडान भर्दै आएका थिए। यी पाँचै वायुसेवाको गरी सातामा कुल ६४ उडान हुने गरेका थिए। ओहोरदोहोर दुवै गर्दा यो संख्या १२८ हुन आउँछ।

जसमा नेपाल एयरलाइन्सको काठमाडौँ-दिल्ली-काठमाडौँ दैनिक दुईवटा तथा काठमाडौँ-बैंङ्लोर-काठमाडौँ र काठमाडौँ-मुम्बई-काठमाडौँ सातामा तीन उडान हुने गरेका थिए।

यस्तै, नेपाली निजी क्षेत्रको वायुसेवा बुद्ध एयरले सातामा बनारसको दुई वटा उडान गर्दै आएको थियो। यी बाहेक भारतीय वायुसेवा कम्पनी एयर इन्डिया, भिस्तारा एयर र इन्डिगोको पनि दिल्लीको दैनिक दुई उडान तालिका रहेको थियो।

यी वायुसेवा कम्पनीहरुलाई दसैँअघि नै नियमित उडान सुरु गर्न दिने मन्त्रालयले तयारी गरेको हो।

सहसचिव लामिछानेका अनुसार, मन्त्रिपरिषद् यसमा मौखित रुपमा सहमत भइसकेको छ। 'अब औपचारिक निर्णय हुन मात्र बाँकी हो, तर लगभग पक्का भइसकेको छ दसैँअघि भारत उडान खोल्ने विषयमा,' उनले भने, 'मन्त्रिपरिषद्बाट निर्णय भएपछि बाँकी प्रक्रियाका लागि प्राधिकरणलाई अनुमति दिइनेछ।'

मन्त्रिपरिषद्बाट पास भएपछि मन्त्रालयले कुन एयरलाइन्सलाई दैनिक वा सातामा कति उडानको अनुमति दिने तथा यात्रु माग बमोजिमको आवश्यकता र स्वास्थ्य सुरक्षा प्रबन्धको तयारी हेरेर निर्णय गर्ने अधिकार नागरिक उड्डयन प्राधिकरणलाई दिनेछ। प्राधिकरणले सोही बमोजिम वायुसेवा कम्पनीहरुलाई भारतीय गन्तव्यमा उडान पुनः थाल्न दिनेछ।

कोभिड-१९ संकटले नियमित उडान बन्द हुनुअघि नेपाल-भारत हवाई मार्गबाट ओहोरदोहोर गर्ने यात्रु संख्या सातामा साढे १६ हजार रहेका थिए।

बुद्ध एयरले सातामा दुईपटक (आउजाउ गर्दा चार) उडानमा ७२ सिटे एटीआर प्रयोग गरेको छ भने बाँकी चारवटै वायुसेवाले १५८ सिटे न्यारोबडी जहाजबाट नेपाल भारत उडान गरिरहेका छन्।  सबैको औसत अकुपेन्सी कम्तिमा ९० प्रतिशत रहने गरेको आँकडा छ। यस आधारमा साताभरको १२८ उडानबाट उक्त संख्यामा यात्रु हिँड्ने गरेको देखिएको हो। अर्थात्, कोभिडबाट आय प्रभावित बनेका यी वायुसेवा कम्पनीहरुले नियमित उडान पुनः सुरु भएपछि महिनामा झन्डै ५ लाख 'प्यासेन्जर विजनेश' नेपाल-भारत उडानका पाँच गन्तव्यबाट पाउँनेछन्।

दुवै मुलुकमा कोभिड-१९ संक्रमणको दर घट्नुको साटो झन्-झन् बढिरहेकाले उडान खुलाउँदा अपनाउनुपर्ने थप सतर्कताका लागि कार्ययोजना बनाइएको छ। सरकारले अन्तर्राष्ट्रिय उडान खुला गरे पनि कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भारतसँगका उडान अहिलेसम्म सुरु नगरेको बताउँदै आएको छ ।

यद्यपि, अब भने स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर उडान खुलाइने लामिछानेले बताए।

'दुई मुलुकबीच कनेक्ट सिम्बोलको आधारमा उडान खुला गर्न लागिएको हो। पहिलाको जस्तो उडान संख्या भने कायम हुँदैन,' उनले भने।

क्याबिनेटबाट स्वीकृत भएको अवस्थामा करिब सात महिनापछि नेपाल-भारत दुइतर्फी उडान पुनः सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell