- राजु आचार्य
घटना १ : गएको आइतवार पोखरामा आकाशमा उड्दै गरेका चराहरू एक्कासी घरको आँगनमा खसेपछि मानिसहरू अचम्मित भए। पोखरा, पर्स्याङस्थित कन्चन थापा कोइरालाले ११ वटा मरेका चराहरूको फोटो सामाजिक सञ्जालमा राखेपछि सबैको चासो बढेको थियो। चित्रकुट नामको चरा आकाशबाट भुईँमा बजारिएको बताईएको छ। केही चराहरु भने प्राथमिक उपचार पछि उडेका थिए।
घटना २ : करिब १ महिना अघि मेक्सिको र अमेरिकामा यस्तै भयो। आकाशबाट खसेका चराहरू मरेको भेटियो। गौँथली, फिस्टे लगायतका चराहरू खसेर मरेका थिए। यही कारण न्यु मेक्सिको स्टेट विश्वविद्यालयका प्राध्यापक मार्था देस्मोंडले यसलाई राष्ट्रिय शोक भएको बताए।
माथिका दुवै घटनाहरू आकाशबाट खसेका चराहरू सम्बन्धमा थिए। पहिलो घटना सम्बन्धमा यकिन कारण भने थाहा थिएन। डिभिजन वन कार्यालय कास्कीले चराको परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएको छ। यस सम्बन्धमा डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक वन अधिकृत शालिकराम पराजुलीसँगले भने, ‘हामीले प्रयोगशालाबाट प्राप्त गरेको प्रतिवेदनमा उक्त चराहरू वर्ड फ्लुको कारणले नमरेका तर आन्द्रामा घाउ भएको उल्लेख छ।’
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक सपना लक्ष्मी घिमिरेका अनुसार डिभिजन वन कार्यालयबाट चराको परीक्षण गर्न भनिएको थियो। ‘सामान्य अवस्थामा हामीले पोस्टमोर्टम मात्र गर्छौँ तर यसपालि अलि धेरै चरा मरेकोले एभियन इन्फुल्न्जा र रानी खेत पनि हेरेका थियौँ। दुवै नेगेटिभ आयो। आन्द्रामा घाउ पनि देखिएको थियो,’ उनले भनिन्। त्यसबाहेक अन्य परीक्षण भने गरिएन।
दोस्रो घटना चराहरूको बसाइसराइको क्रममा घटेको थियो। बसाइसराइ गर्दा आगलागीका कारणले यिनले आफ्नो नियमित मार्ग परिवर्तन गरेका थिए। नयाँ बाटो उड्दा खाना कम पाइने क्षेत्र प्रयोग गरेकाले खानाको कमीले सो घटना भएको अनुमान गरिएको छ। नियमित रूपमा हुने आगलागीले यिनको फोक्सो कमजोर भएको समेत अनुमान गरिएको छ।
माथि उल्लेख गरिए बाहेक पनि थुप्रै कारणहरूले गर्दा यसो हुने गर्छ। एक पटकमा आकाशबाट भुईँमा खसेर मर्नेको सङ्ख्या दर्जनबाट हजारसम्म हुने गर्छ। उड्दै गरेका चराहरू आकाशबाट किन खस्छन् भन्नेमा वैज्ञानिकहरूले थुप्रै अनुमान र अनुसन्धानहरू गरेका छन्।
उड्नको लागि चराको प्वाँखहरू सुक्खा र मिलेको हुनुपर्छ। कुनै कारणले सो प्वाँख भिज्यो वा आर्द्रता बढी भयो वा हावा बहाब काट्न सकेन वा प्वाँखमा खराबी देखियो भने उडान भर्न नसकी खस्ने गर्छन्। एक्कासी परेको पानीले पनि यस्तो अवस्था आउन सक्छ।
चराहरू विभिन्न उचाइ र हावाको तापक्रमलाई छिचोलेर उड्नुपर्छ। कहिले काहीँ उडिरहँदा तातो हावाबाट चिसो हावामा प्रवेश गर्दा कठ्याँग्रिएर चिसोले पनि त्यस्तो हुन् सक्छ।
चराहरूको स्वास्थ्यमा एक्कासी आउने परिवर्तन वा अन्य रोगले पनि यिनीहरू खस्छन्।
चराहरूको मांसपेशीमा आउने थकानले पनि उड्दाउड्दै खस्छन्। सन् २००७ मा अस्ट्रेलियामा खसेका ६० वटा चराको ल्याब परीक्षण गर्दा अन्य केही कारण नदेखिए पछि सोही कारणले मरेको बताइएको थियो।
- वन जङ्गलमा रहेका फलहरूको रसले नसा लागेर पनि खस्ने गर्छन्।
- लामो समयदेखि खान नपाएर कमजोर बनेका चराहरू सहजै खस्न सक्छन्।
- चारामा परेको विष शरीरमा प्रवेश गरीसके पछि यो घट्ना हुने सम्भावना रहन्छ।
- जलवायु परिवर्तनको कारणले पनि अत्यधिक गर्मी वा चिसो हुँदा पनि चराहरू मर्ने गर्छन्।
- विद्युत लाइन, सिसाका झ्याल भएका घरहरूमा ठोकिएर पनि भुइँमा खस्ने गर्छन्। जुन मानिसहरुको लागि आकाशबाट खसे झैं हुन्छl
- चर्को आवाजले पनि चराहरू तर्सिएर खस्न सक्छन्l आकाश चम्कँदा, नयाँ वर्ष मनाउँदा अतिसबाजीको आवाजले पनि यस्तो हुन्छ।
- असिना पानीले पनि मृत्यु निम्त्याउँछ। हुरी बतास पनि उत्तिकै जिम्मेवार हुन्छन्।
पोखराको घटनालाई सामाजिक सञ्जालमा अनौठो भनेर प्रस्तुति गरियो। तर, यो घटना सामान्य नै मानिन्छ। अनुसन्धानमा अब्बल अमेरिका, क्यानडामा यसबारे धेरै अभिलेखीकरण गरिएको छ र अध्ययन पनि। तर, यसबारे नेपालमा कुनै अनुसन्धान र अभिलेखीकरण भएको छैन।अनुसन्धानको पाटो कमजोर रहेको नेपालमा कहिलेदेखि यस्ता विषयमा अध्ययन थाल्ने हुन् हेर्न भने बाँकी नै छ।
