काठमाडौं : नेपाल र युरोपियन युनियनको संयुक्त आयोगको बैठक शुक्रवार साँझ बसेको छ। भर्चुअल माध्यममा बसेको बैठकमा नेपालले नेपाली विमान कम्पनीमाथि युरोपेली आकाशमा भएको प्रतिबन्ध खुलाउन अनुरोध गरेको छ।
बैठकमा नेपालले हवाई सुरक्षा सुधारका लागि नेपालले गरेका कामहरुका साथै नयाँ प्राधिकरणसम्बन्धी कानुनको विषयमा ब्रिफिङ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सरकारले हवाई उडान सेवालाई सुरक्षित बनाउने उद्देश्यले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना गर्न थालेको छ र सोसम्बन्धी विधेयक संसदमा दर्ता गराइसकेको जानकारी गराएको थियो।
बैठकमा ईयूका प्रतिनिधिहरुले सरकारको कदम सकरात्मक भएको भन्दै कार्यान्वयनमा जोड दिएका थिए। त्यस्तै ईयूले नेपालको हवाई सुरक्षाका विषयमा नेपाललाई सहयोग गर्न तयार रहेकोसमेत बताइएको छ।
ईयूले नेपालमा हवाई उड्ययन प्राधिकरणको प्राविधिक सहयोग परियोजना निर्माण गरी हवाई सुरक्षाका क्षेत्रमा सहयोग गर्ने घोषणा गरेको मन्त्रालयले जनाएको छ।
लामो समयदेखि युरोपेली आकाशमा नेपाली विमान कम्पनीका जहाज उड्न प्रतिबन्ध लागेको छ। नेपालको हवाई सुरक्षाको विषयलाई लिएर पटक पटक प्रतिबन्ध लाग्दै आएको हो। अन्तर्राष्ट्रिय उड्ड्यन प्राधिकरण आइकाओले नेपाललाई लगाएको प्रतिबन्ध हटाए पनि युरोपेली आकाशमा भने प्रतिबन्ध कायमै छ। युरोपियन कमिसनले ईयू सदस्य २८ मुलुकमा २०१२ देखि नेपाली विमान कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउनुका साथै युरोपेली मुलुकका नागरिकलाई नेपाली विमान कम्पनी प्रयोग नगर्न भन्दै आएको छ।
यसैबीच बैठकमा कोभिड-१९ विरुद्ध संयुक्त रुपमा अगाडि बढ्ने सहमतिसमेत भएको छ। कोभिड-१९ पान्डेमिक र यसले पारेको सामाजिक तथा आर्थिक प्रभावको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
इयूले कोभिड-१९ विरुद्ध लड्नका लागि नेपाललाई ७५ मिलियन युरो (१० अर्ब ३१ करोड ७६ लाख रुपैयाँ) बराबरको सहयोग प्याकेज तयार गरेको छ। नेपालले ईयूको सहयोग प्रति धन्यवाद दिएको छ।
संयुक्त आयोगको आगामी बैठक २०२१ मा काठमाडौंमा बस्ने छ। बैंकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कार्यवहाक सचिव भरतराज पौड्याल तथा ईयूका तर्फबाट युरोपियन एक्ट्रनल अफेयर्सका एसिया प्यासिफिक उप प्रवन्ध निर्देशक पाओला पाम्पालोनीले नेतृत्व गरेका थिए।
