PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

विद्यार्थीलाई पढाउन पर्साका टोलटोलमा पुग्दै शिक्षक, प्रशासनको चेतावनी, ‘भीड गरेर पढाए कारबाही’



राधेश्याम पटेल

विद्यार्थीलाई पढाउन पर्साका टोलटोलमा पुग्दै शिक्षक, प्रशासनको चेतावनी, ‘भीड गरेर पढाए कारबाही’

वीरगंज: पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही सरकारी र निजी विद्यालय सञ्चालनमा आएको खबरप्रति प्रशासनको ध्यानाकर्षण भएको बताएका छन्।  

शिक्षा मन्त्रालयले हालको अवस्थामा कुनै पनि विद्यालय खोलेर पठनपाठन सुरु गर्न रोक लगाएको भन्दै तामाङले पर्सा जिल्लामा पनि विद्यालय सञ्चालन गर्न नपाउने बताए।

उनले महामारीबीच विद्यालय खोल्ने गल्ती नगर्न विद्यालय सञ्चालकलाई आग्रह समेत गरेका छन्।  

‘निजी र सरकारी विद्यालय केही ठाउँमा खुलेको र  केहीले पठनपाठन सुरु गर्ने तयारी गरिरहेको रहेको खबर प्राप्त भएको छ,’ उनले भने,‘ सरकारले रोकेको अवस्थामा विद्यालय सञ्चालन गर्न पाइँदैन। यदि कुनै विद्यालयले विद्यार्थीलाई कक्षा कोठामा राखेर पठनपाठन गराएको पाइए कानुन बमोजिम कारबाही हुन्छ।’

वीरगंज महानगरका केही विद्यालयहरुले कक्षाकोठामा नै र केहीले टोल-टोलमा नै शिक्षक पठाएर पठनपाठन गराइरहेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रशासन एक्सनमा आएको हो।  

पर्साको जिराभवानी गाउँपालिकाको सेढवा बजार आसपासमा पनि टोलमा गएर शिक्षक शिक्षिका पढाइरहेका छन् भने ठोरीमा चाँडै कक्षाकोठामा पनि विद्यार्थी राखेर पठनपाठन गर्ने गाउँपालिकाको तयारी छ ।

यता प्रजिअ तामाङ भने टोलमा गएर भीडभाड हुनेगरि विद्यार्थीलाई नपढाउन आग्रह गर्छन्।

एउटै स्थानमा १०-१५ जना विद्यार्थी राखेर पठनपाठन गराइयो भने कोरोना संक्रमण फैलिने जोखिम रहने र विद्यार्थी, शिक्षक, अभिभावक सबै यसको चपेटामा पर्नसक्ने उनले बताए।

शिक्षा विकास समवन्य इकाई कार्यालय पर्साले विद्यालय बन्द रहेको अवस्थामा असोज १ गतेदेखि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यार्थीलाई पढाउन टोलमा गएर सहजीकरण गर्ने वा विद्युतीय माध्यमबाट पठनपाठनमा गर्ने भनेको छ। यही निर्देशिकाको आधारमा कतिपय शैक्षिक संस्थाहरुले अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट पठनपाठन सुरु गरेका छन्। तर सबै विद्यार्थी इन्टरनेट र अन्य विद्युतीय माध्यमको पहुँचमा छैनन्। जसकारण कयौं विद्यार्थीको पढाइ छुट्ने स्थिति बनेको छ।

शिक्षा विकास समन्वय इकाई कार्यालय पर्साका एक अधिकारीले भने, ‘विद्यार्थीको पुस्तकसँग र पढाईसँग सम्बन्ध बनाउन टाढैबाट सहजीकरण गर्न मात्र भनिएको छ।’

नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव सरकारले विद्यालय खोल्न र टोलमा पढाउनमा रोक लगाएको बताउँछन्। यस विषयमा स्थानीय सरकार, विद्यालय र अभिभावकबीच समन्वय गरी प्रशासनबाट आएको निर्देशनलाई पालना गराउन समस्या पनि भइरहेको उनले बताए।

‘एउटा प्राथमिक विद्यालयमा ५०० विद्यार्थी छन्। १० जना शिक्षकले सबै विद्यार्थीलाई टोलमा गएर अलग-अलग राखेर कसरी पढाउँछ?’ उनले प्रश्न गर्दै भने,‘यो विधिबाट पनि सबै विद्यार्थीलाई समेटन सकिँदैन,कुनै-कुनै टोलमा ठाउँको अभाव पनि छ। शिक्षकलाई टोलमा गएर पढाउन जोखिम छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell