PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कस्तो छ राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था? ७४ वर्षको उमेर र ककटेल खोपको असर के होला?



पहिलोपोस्ट

कस्तो छ राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था? ७४ वर्षको उमेर र ककटेल खोपको असर के होला?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अवस्था ठीक रहेको र केही दिनमा वास्तविक परीक्षण हुने बताएका छन्।  ट्विटरमा भिडियो पोस्ट  गर्दै उनले उनीमाथि उठेका आशंकाहरुको जवाफ दिएका हुन्। उनको स्वास्थ्य अवस्थालाई लिएर धेरैखाले अड्कलबाजी सार्वजनिक भएका थिए। 

ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था ठीक रहेको जनाएका छन् जबकि ह्वाइट हाउसका चिफ अफ स्टाफले उनको स्वास्थ्यमाथि गहिरो चिन्ता प्रकट गरेका थिए।

आज ट्रम्प अस्पतालमा दोस्रो रात बिताउँदैछन्। 

चार मिनेट लामो भिडियोमा राष्ट्रपति ट्रम्पले वाल्टर रीड नेसनल मिलिट्री मेडिकल कलेजका डक्टर तथा नर्सलाई धन्यवाद दिए। वासिङ्टन डीसीको नजिकैको यही अस्पतालमा उनको उपचार भइरहेको छ।

'असहज महसुस भएपछि म यहाँ आएँ। अहिले सबै ठीक छ,' ट्रम्पले भने, 'मलाई लाग्छ अबका केही दिनहरुमा वास्तविक परीक्षण हुनेछ। आगामी दिनहरुमा के हुन्छ म त्यसको प्रतीक्षामा छु।'

pic.twitter.com/gvIPuYtTZG

— Donald J. Trump (@realDonaldTrump) October 3, 2020

उनले आफू चुनावी अभियानमा सरिक हुन चाहेको समेत प्रस्ट्याएका छन्। नोभेम्बर ३ मा हुँदै गरेको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन्।

ट्रम्पले हिजोमात्र आफूमा कोभिड १९ को संक्रमण भएको ट्विटबाटै जानकारी गराएका थिए। यसअघि उनी चुनावी अभियानमा सक्रिय थिए भने हालै त्यहाँको सर्वोच्च अदालतमा न्यायाधीश पनि नियुक्त गर्न उनले भ्याए। उनको दुई चुनावी बहस बाँकी नै छ। कोभिड १९ संग संघर्षरत उनले अब बाँकी बहसमा सहभागिता जनाउन सक्छन् या सक्दैनन् अहिले नै भन्न सकिने स्थिति छैन।

ट्रम्पको अवस्था कस्तो?
हिजो साँझमात्रै डाक्टर सेन कोनलेले ट्रम्पलाई अक्सिजन दिनुपर्ने अवस्था नरहेको र पछिल्लो २४ घन्टामा ज्वरोसमेत नदेखिएको जनाएका थिए। 
ह्वाइट हाउसका अनुसार केही दिन ट्रम्प वाल्टर रीडमा नै रहने अपेक्षा गरिएको छ। डाक्टर कोनेलले ट्रम्पको अवस्थाप्रति आफू पूरै आशावादी रहेको बताएका छन्। यद्यपि, उनलाई डिस्चार्जका लागि समय भने तोकेनन्। 

ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोसले ट्रम्पको स्वास्थ्य अवस्थाबारे चासो प्रकट गर्दै उनी अझै प्रस्ट रुपमा निरोगी भइनसकेको जनाएका छन्। उनले अबका ४८ घन्टा ट्रम्पका लागि संवेदनशील रहने बताएका थिए। 

राष्ट्रपति ट्रम्प ७४ वर्षका छन्। यसकारण पनि उनी जोखिम उमेर समूहमा पर्छन्। त्यतिमात्र होइन उनीमाथि परीक्षणमा नै रहेको ककटेल खोप दिइएको थियो। यसैलाई लिएर धेरैले प्रश्न गरेका छन्।

ट्रम्पलाई हिजो हेलिकप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell