PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विद्यालयमा विद्यार्थी तान्न धमाधम भर्ना र पढाई : स्वास्थ्य सुरक्षाको मापदण्ड भने छैन पालना



पी बी खड्का

विद्यालयमा विद्यार्थी तान्न धमाधम भर्ना र पढाई : स्वास्थ्य सुरक्षाको मापदण्ड भने छैन पालना

सुर्खेत : कोरोना संक्रमणको महामारी कायमै भएकाले सरकारले वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन गराउन जोड दिइरहेको छ। विद्यालय सञ्चालन गरेर पठनपाठन गर्न भनिनसकेको अवस्था छ भने, कतिपय विद्यालयले गाउँगाउँमा समूह बनाएर पठनपाठनलाई निरन्तरता दिने प्रयासमा छन्। सरकारले जारी गरेको विद्यालय सहजीकरण निर्देशिकालाई आधार बनाएर विद्यालय खोल्ने र विद्यार्थीलाई विद्यालयमा केन्द्रित गर्नका लागि होडवाजी चलिरहेको छ।

अहिले सुर्खेतको वीरेन्द्रनगरमा नाम चलेका विद्यालय जन नमूना माध्यामिक विदालय, संस्कृत तथा साधारण माध्यामिक विदालय, अमर ज्योति नमूना माध्यामिक विद्यालय, शिव मावि, जनसेवाजस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान चलिरहेको छ।

कक्षा एकदेखि १२ कक्षासम्म भर्ना लिईरहेका विद्यालयले कोरोना संक्रमणको त्रास भुलिरहेका छन्। भर्ना गर्न आउने विद्यार्थी र अभिभावकको भिड थामिसक्नु छैन। यस्ता भिडमा न भौतिक दुरी कायम छ, न स्वास्थ्य सावधानी नै अपनाईएको छ।

त्यत्तिमात्रै होइन वीरेन्द्रनगरका आधा दर्जन विद्यालयले फेस टू फेस पठन पाठन गराईरहेका छन्। ती विद्यालयले आफ्ना क्षेत्रका विद्यार्थी फुत्किने डरले स्वास्थ्य मापदण्ड नै नपनाएर देखावटी रुपमा विद्यालय खोलेको हुन्।

विद्यालयमै विद्यार्थी उपस्थित गराएर पढाउने बहानामा एक घण्टाका लागि विद्यार्थीलाई सास्ती दिईरहेका छन्।

स्वास्थ्य मापदण्डका नाममा विद्यालयको प्रवेशद्वारमा देखाउन पानी ट्याङ्की राखिए पनि केही विद्यालयका प्रयोगमै छैनन्। यि विद्यालयका शिक्षक न्युनतम स्वास्थ्य सावधानी अपनाए पनि विद्यार्थीमा निकै कमजोर छ।

सुर्खेतमा यति बेला विद्यार्थी भर्ना लिएर विद्यालयमै उपस्थित गराएर पठनपाठन गराउने होड छ भने, स्वास्थ्य सावधानी भने निकै कमजोर हुदाँ संक्रमणको जोखिम उस्तै छ। अधिकांश विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएकै छैनन् भने, केही न्युनतम सावधानी भने अपनाएको देखिन्छ।

‘विद्यालयको तर्फबाट त हामीले सकेसम्म सुरक्षा मापदण्ड अपनाउने कोसिस गरिरहेका छौँ,’ जन नमूना माविका एक शिक्षकले भने,‘विद्यार्थी र अभिभावक स्वंयमले पनि अलि ख्याल गरेको भए राम्रो हुनेथियो।’

वीरेन्द्रनगर उपत्यकाभित्रको अब्बल विद्यालय भएकाले पनि सबैको रोजाईमा पर्दा भिड भएको उनी स्वीकारर्छन्।

सरकारले विद्यालय सञ्चालनका लागि कुनै निर्णय गर्न सकेको छैन। यद्यपि, स्थानीय तहसंगको सहकार्यमा कतिपय विद्यालयहरुले विद्यार्थीलाई बाहिर अन्य विद्यालयमा जानबाट रोक्नकै लागि भौतिक रुपमै उपस्थित गराएर पठनपाठन गराउन सुरु गरेका छन्।

‘अनलाइन कक्षामा ४० प्रतिशत विद्यार्थी मात्रै सहभागी पुगे।’ शिव माध्यामिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद पौडेलले भने,‘अहिले हामीले फेस टू फेस का लागि तिन वटा सिफ्ट बनाएर विद्यालयमा सुरु गरेका छौँ।’

विद्यालयले स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गरेर सुरुको एक हप्ता मानसिक रुपमा विद्यार्थीलाई तयार गर्न लागेको उनी बताउँछन्।

‘विद्यार्थीलाई अनिवार्य मास्क, गेटमा साबुन पानी राखेका छौँ, कक्षा कोठामा पनि एउटा बेन्चमा एक जना मात्रै राखेका छौँ,’ उनले भने, ‘सानो बच्चाको हकमा अलि जोखिम हुन्छ की भन्ने छ। त्यसमा शिक्षक सबै सचेत हुनुहुन्छ।’

त्यस्तै, विद्यार्थीलाई विद्यालयमै उपस्थित गराएर पठनपाठन गराइरहेको जनसेवा मावि विद्यालयले पनि जोखिमपूर्ण ढंगले अध्ययन अध्यापन नगराएको दावी गर्छ।

‘पूर्ण रुपमा विद्यालय नखोले पनि थोरै विद्यार्थीलाई सिफ्ट मिलाएर विद्यालयमा बोलाएर पढाउन सुरु गरेका छौँ,’ विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर थापाले भने,‘सबै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइरहेका छौँ। सावधानीपूर्वक कक्षागत त्यसमा पनि पालोपालो गरेर विद्यार्थीलाई आउन भनेका छौँ।’

कुनै पनि जिल्ला अछुतो नरहेको कर्णालीमा सुर्खेत त झन् रेड जोनभित्रै छ। अहिले कर्णालीमा संक्रमितको संख्या छ सय नाघिसकेको छ भने, साढे तीन सय सुर्खेतका मात्रै छन्। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार शिक्षक र विद्यार्थीमात्रै ८० जनाको हाराहारीमा संक्रमित हुन पुगेका छन्।

पछिल्लो समय सुर्खेतसहित कर्णालीमा संक्रमितको दर उकालो लागेको छ भने, हालसम्म संक्रमण पुष्टि भएका आठ जनाको मृत्यु भइसकेको छ। त्यसैले पनि अलि बढी चनाखो बन्नुपर्ने अवस्था आइसकेको छ।

यता, वीरेन्द्रनगर नगरपालिकाले भने, सरकारले जारी गरेको सिकाई सहजिकरण निर्देशिकाअनुसार बढीमा २०/२५ जना विद्यार्थी (कुनै पनि वैकल्पिक माध्यमको पहुँचमा नभएका) मात्रैलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठन गराउन सहजीकरण गरेको जनाएको छ।

‘निर्देशिकाअनुसार रेडियो, टिभी, अनलाइनजस्ता वैकल्पिक माध्यमको पहुँचमा नरहेका गरिब, विपन्न वर्गका बालबालिकालाई समूह बनाएर वा विद्यालयमै बोलाएर सिकाई सहजीकरण गर्न सकिने गरी हामीले पनि सहजीकरण गरेका छौँ,’ नगरशिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले भने,‘विद्यालयमा पनि कोरोनाको जोखिम हुने नहुने, निधो गरेरमात्रै विद्यालयमा बोलाउने हो, सकेसम्म विद्यार्थीलाई घरमै वैकल्पिक माध्यममा जोडिएर पठन पाठन गर्न लगाउने नै हो। त्यता सम्भव नभए त्यसपछि विद्यालयमा बोलाएर हो।’

विद्यालयहरुले न्युनतम स्वास्थ्य सावधानी नअपनाए तत्काल विद्यालय बन्द गरिनेसमेत उल्लेख गरे।

‘निर्देशिका र कोरोना महामारीको ख्याल नगरी जसले विद्यालय सञ्चालन गरेका छन्। सबै बन्द हुन्छन्,’ उनले भने।

चिकित्सकका अनुसार अहिले सुर्खेतमा समुदायस्तरमै कोरोना फैलिसकेकाले छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell