वीरगंज : परवानीपुर–गण्डक सडक खण्डको छेउछाउका नाला अवरुद्ध भएपछि पर्सा–बारा क्षेत्रका किसानको खेत कटान गर्नुको साथै धानबालीमा ठूलो क्षति गरेको छ।
पछिल्लो जेठदेखि असोजसम्म परिरहेको पानीले दुवै जिल्लाका सयौं किसानको खेतमा पानी जमेर करोडौंको क्षति भएको देखिएको छ। पर्सा–बाराका थुप्रै ठाउँमा धानबाली डुबानमा परेर क्षति पुगेको छ भने अप्राकृतिक पानी बहाव क्षेत्रमा पनि पानीले पैनी बनाएर पानीको बहाव भइरहेको छ।
वीरगंज–२१ लिपनीविर्ताको हिमालयन डिस्टलरीको दक्षिण क्षेत्रबाट परवानीपुर र पटेलनगरको सरेहको पानी खेत हुँदै श्रीसिया खोलामा खसिरहेको छ। यसरी पानीको बहाव बदलिँदा पटेलनगरका छोटेलाल साह कलवार, हरेराम राउत कुर्मी, जमुना राउत, सिकेन्द्र पटेल, भैरौ राउतलगायतको खेत कटान करी पैनीको रुपमा लिँदा धानबाली लगाइएको खेत कटान गरेको छ भने धानबालीमा पनि क्षति पुगेको छ।
त्यसैगरी, परवानीपुर सुखचैना सरेहको पानी पनि राजमार्गको नाला थुनिँदा दुबै गाउँको सरेहका किसानको धानबालीमा क्षति पुगेको सुखैचनाका महन्थ राउत कुर्मीले बताए। अहिले परवानीपुर–गण्डक क्षेत्रमा त्रिभुवन राजमार्ग पथमा चार लेन सडक विस्तारको योजना भइरहेकोले सडकको दुबै छेउको नाला अवरोध भएको छ। नयाँ बन्ने नालाले सडकको मात्र पानीको निकास भइरहेकोले पुरना पानी निकासको नाला बन्द हुँदा दुबै जिल्लाका किसानलाई क्षति भइरहेको छ। त्यसैगरी, बाराको ताजपुर, लिपनी, रामपुर मुसहरी, चैनपुर, बहुअरीका किसानको धानबालीमा पनि क्षति भइरहेको छ।
बहावबाट भएको क्षतिले प्रदेश २ भौतिक पूर्वाधार मन्त्रालयले विभिन्न जिल्लाको अनुगमन गरी क्षतिको यकीन गरी तटबन्ध निर्माण तथा संरक्षणको योजना अघि बढाउने तयारी गरेको छ। सिँचाई डिभिजन कार्यालय पर्सा पावर हाउसका प्राविधिकले पटेलनगरको क्षतिको अगुमन गरी ह्यूमपाइपसहितको तटबन्ध निर्माण गर्ने इस्टिमेट बनाउन लागेको जनाएका छन्।
पर्सा बाराका किसानले परवानीपुर गण्डक सडकखण्डको योजना तत्कालै सम्पन्न गरी पानीको निकासको लागि माग गरेका छन्।