PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

५२ जिल्लामा २२५३ संक्रमित पहिचान : ७० प्रतिशत उपत्यकाका मात्रै, ५ दिने नवजात शिशुसहित ७ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

५२ जिल्लामा २२५३ संक्रमित पहिचान : ७० प्रतिशत उपत्यकाका मात्रै, ५ दिने नवजात शिशुसहित ७ जना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५२ जिल्लामा कोभिड-१९ का थप संक्रमितहरु पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा भएको १२ हजार ७८४ नमुना परीक्षणका क्रममा ८३० महिला १ हजार ४२३ पुरुष गरी थप २ हजार २५३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा कुल परीक्षणको १७.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। यो तथ्यांकले ५.६७ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको देखाउँछ।

उपत्यकामा १५९९

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५९९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जुन कुल संक्रमितको ७०.९७ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा नेपालमा थप भएका संक्रमितको ६०.९४ प्रतिशत संक्रमित काठमाडौं जिल्लाका मात्र हुन्। काठमाडौं जिल्लामा ५०५ महिला र ८६८ पुरुष गरी १३७३ जना संक्रमित पहिचान भएका छन्।

त्यस्तै भक्तपुर जिल्लामा २० महिला र १९ पुरुष गरी ३९ र ललितपुर जिल्लामा ७९ महिला १०८ पुरुष गरी १८७ जना कोभिड-१९ का नयाँ संक्रमित पहिचान भएका छन्।

बागमतीमा १७१९

यता नेपालभर थप भएका कुल संक्रमितको ७६.२९ प्रतिशत बागमती प्रदेशका मात्र छन्। बागमती प्रदेशमा एक हजार ७१९ जना संक्रमित पहिचान भएका छन्। बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा संक्रमित पहिचान भएका छन्।

त्यस्तै प्रदेश ५ मा १५३ जना संक्रमित पहिचान भएका छन्। प्रदेशका ९ जिल्लामा संक्रमित पहिचान हुँदा रुपन्देहीमा ५२ र बाँकेमा ५० नयाँ संक्रमित पहिचान भएका छन्।

त्यस्तै प्रदेश १ का ७ जिल्लामा ११२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी मोरङका ८१ जना छन्। त्यस्तै सुदुरपश्चिममा ७९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये कैलालीका मात्र ५५ जना छन्।

त्यस्तै गण्डकी प्रदेशका ६ जिल्लामा ७७ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये नवलपरासी पूर्वका ४० हुन्‍। कर्णाली प्रदेशका ५ जिल्लामा ६७ जना संक्रमित पहिचान हुँदा सुर्खेत जिल्लामा मात्र ५४ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा कम प्रदेश २ मा संक्रमण पुष्टि भएको छ। प्रदेश २ का सबै ८ जिल्लामा ४६ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पाँच दिने शिशुसहित ७ जनाको मृत्यु

यसैबीच पछिल्लो २४ घण्टामा सात जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र ३ पुरुष छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५ दिनकी शिशुसहित ७७ वर्षका वृद्धसम्मको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुरकी ५ दिनकी बालिका छन्। त्यस्तै बाँकेकी २५ वर्षकी र कञ्चनपुरकी २९ वर्षकी युवतीको पनि मृत्यु भएको छ। त्यस्तै चितवनकी ५५ वर्षकी महिलाको पनि मृत्यु भएको छ।

त्यस्तै काठमाडौंका ५५ वर्षका पुरुष, बाँकेका ६० वर्षका पुरुष र ललितपुरका ७७ वर्षका पुरुषको पनि मृत्यु भएको छ। योसँगै मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ५३५ जना पुगेको छ। जुन कुल संक्रमितको ०.६२ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell