PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

निर्मला पहराईको मृत्युबारे थप अनुसन्धान गर्न क्रियाशील दलित पत्रकार संघको माग



पहिलोपोस्ट

निर्मला पहराईको मृत्युबारे थप अनुसन्धान गर्न क्रियाशील दलित पत्रकार संघको माग

काठमाडौं : कैलालीकी पत्रकार निर्मला पहराईको मृत्युबारे थप अनुसन्धान हुनुपर्ने सुझाव क्रियाशील दलित पत्रकार संघ नेपालले दिएको छ। घटनाबारे स्थलगत भ्रमण र अनुसन्धानपछि संघ उक्त निष्कर्षमा पुगेको संघकी अध्यक्ष पवित्रा सुनारले प्रेस विज्ञप्तिमार्फत जनाएकी छिन्।

‘क्रियाशील दलित पत्रकार संघ, नेपाल, कैलाली जिल्ला समितिकी सह-सचिवसमेत रहेकी पत्रकार निर्मला पहराईको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिनका लागि हामीले यसअघि नै आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘हामी फेरि पत्रकार पहराईको घटना आत्महत्याका कारण नभएको निष्कर्षसहित तदारुकताका साथ अनुसन्धानको दायरा फराकिलो बनाई सत्यतथ्य बाहिर ल्याउन सरोकारवालासँग जोड्दार माग गर्दछौँ।’

कैलालीको घोडाघोडी नगरपालिका-४ जनकपुर निवासी २४ वर्षीया निर्मला स्थानीय कैलाली एफएम ९३.७ मेगाहर्जमा कार्यरत थिइन्। भदौ ३१ गते बिहान कार्यालयको काम गरेर फर्किएपछि त्यही कोठाबाट बजार गएकोमा सोही दिनदेखि सम्पर्कविहिन भएकी उनी असोज २ गते घोडाघोडी नगरपालिका-५ मा रहेको फुलबारी सामुदायिक बनको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

घटनाबारे थप अनुसन्धानका लागि निर्मलाका प्रेमी भनिएका स्थानीय युवक ललित जाग्री र जाग्रीकी अर्की प्रेमिका अहिले अनुसन्धानका लागि प्रहरीको थुनामा छन्। घटनास्थल, शव, शव झुण्डिएको अवस्था, शवभन्दा टाढा घडी भेटिनु र मोबाइल घटनास्थलमा नहुनुले आत्महत्या गरिएको भन्न नसकिने निष्कर्षमा संघ पुगेको अध्यक्ष सुनारले उल्लेख गरेकी छिन्।

‘शव झुण्डिएको अवस्था, रुखको उचाई, घाँटीमा प्रयोग गरिएको पासो, हत्या गरिएको र त्यहाँ झुण्ड्याइएको भन्ने विषयमा निर्मलाको कपडामा कुनै छाप वा प्रमाण हुनसक्ने अवस्थाका बारेमा अध्ययन गर्न विषय विज्ञहरुलाई सहभागी गराई अनुसन्धानको दायरा थप फराकिलो बनाउनुपर्ने’, संघको सुझावमा भनिएको छ, ‘शवभन्दा टाढा घडी भेटिनु, मोबाइल हराउनु र हामीले गरेको अध्ययन अवधिभर नभेटिनुबीचको सम्बन्ध र मोबाइल खोज्न प्रहरी वा विशेषज्ञ प्राविधिक टोलीलाई परिचालन गरी तदारुकता देखाउनुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell